१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पारासिटामोल कैरन

मेरो नाम पारासिटामोल हो । यो मेरो जेनेरिक नाम हो । विभिन्न कम्पनीले मलाई आफ्नो उत्पादन चिनाउन सिटामोल, निको, सिटाफिन, मेटामोल आदि विभिन्न ब्रन्ड नाम दिन्छन् । तर मेरो मौलिक पहिचान पारासिटामोल नै हो । ‘रोमियो र जुलियट’ नाटकमा सेक्सपियरले गुलाबलाई अर्कै नाम दिएको भए पनि त्यसको मिठास र सुगन्धमा कुनै फरक नपर्ने उल्लेख गरेका छन् । पारासिटामोलको सन्दर्भमा पनि कुरो त्यही हो ।  

विश्वका अन्य देशमा जस्तैै नेपालका अत्यावश्यक औषधिको सूचीमा म छु । मेरो काम दुखाइ र ज्वरो कम गर्ने हो । वर्षौंदेखि म यही काम गरिरहेको छु । नौ महिनायता मेरो काम झन् बढेको छ । मलाई भ्याइनभ्याइ भएको छ । ज्वरो, रुघा, टाउकोसहित शरीरका विभिन्न भागको दुखाइ रोक्ने काम गर्दै आएकोमा कोरोना भाइरस (कोभिड–१९) का लक्षणलाई पनि सम्बोधन गर्ने जिम्मा पाएपछि मलाई भ्याइनभ्याइ भएको हो । मैले आफ्नो जिम्मेवारीलाई कुनै कन्जुस्याइँ नगरी निर्वाह गरिरहेको छु । सामान्य लक्षण भएका तथा घरमै बसेर निको हुने कोरोना भाइरसका बिरामीले मेरो सहयोग लिएका छन् । त्यसमा म कृतज्ञ छु ।  

तर मेरो एउटा दुखेसो छ । त्यही अनुभूति सार्वजनिक गर्ने जमर्को मैले गरेको छु । मलाई लागेको कुरा के हो भने पछिल्ला दिनहरूमा मेरो कामको उचित सम्मान र मूल्यांकन भएको छैन । अहिले जताततै डेक्सामेथासोन, एन्टिभाइरल औषधि रेमडिसिभिर, फेविपिराभिर अनि कन्भालेसेन्ट प्लाज्माको नाम सुनिन्छ । अनि चर्चा छ, मलेरियाको उपचारमा प्रयोग हुँदै आएको औषधि हाइड्रोक्लोरोक्विनको । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना बिरामीको उपचारका लागि अनुमोदन गरेर चर्चाको शिखरमा पु-याएका हुन् । ठीकै हो, उनीहरूको भूमिका पनि रोगको खास चरणमा उत्तिकै महत्वपूर्ण छ, त्यसको उचित सम्मान गर्नुपर्छ । औषधिको अर्को र उपयुक्त समूहले बिरामीलाई निको पार्न गर्ने सहयोगी अभियानमा मेरो पनि साथ हुन्छ र हुनुपर्छ ।

तर मेरो एउटा दुखेसो छ । त्यही अनुभूति सार्वजनिक गर्ने जमर्को मैले गरेको छु । मलाई लागेको कुरा के हो भने पछिल्ला दिनमा मेरो कामको उचित सम्मान र मूल्यांकन भएको छैन ।  

अहिले कोरोनाको पृष्ठभूमिमा मेरो भूमिका समग्र रोगको उपचारमा नभई रोगको खास लक्षणको उपचारमा सीमित भएको तर्क कतिपयको छ । एक हिसाबले त्यो सही पनि हो । तर यसो भनिरहँदा म के स्मरण गराउन चाहन्छु भने यो रहस्यमय भाइरसको अझैसम्म निश्चित औषधि र खोपको निक्र्योल भएको छैन । हालसम्म उपयोगी मानिएका एन्टिभाइरल औषधिबारे पनि विश्व एकमत छैन । भाइरसका कारण जेजे लक्षण देखिन्छन्, तिनलाई लक्षित गरेर विभिन्न औषधि प्रयोग भएका छन् । विभिन्न भूगोल र संस्कृतिमा बाँडिएको विश्वमा कोरोना भाइरसको उपचारमा पनि आआफ्नै पारम्परिक विधि पनि अपनाइएका छन् । तीमध्ये कतिपयले काम पनि गरेका छन् ।  

ज्वरोसँगको मेरो नाता
ज्वरो आफैंमा रोग होइन । यो त केवल कुनै खास रोगको लक्षण मात्र हो । ज्वरो भनेको मानिसका शरीरमा हुने सामान्य तापक्रमभन्दा बढी हुनु हो । यो कोभिड–१९ को एक प्रमुख लक्षण पनि हो । आफ्नो प्रतिरक्षा प्रणालीअन्तर्गत मानिसको शरीरले ज्वरोको विकास गर्छ । जसअन्तर्गत प्रतिरक्षा प्रणालीले एउटा ‘चेन अफ मोलुकुल्स’ निर्माण गर्छ । यी रसायनले मानिसको दिमागलाई संक्रमणलाई निस्तेज पार्न शरीरमा बढी तापक्रम सिर्जना गर्न भन्छन्। ज्वरो आउँदा मानिसको जिउ काम्ने, टाउको दुख्ने, बान्ता होला जस्तो हुने, असहज र अप्ठेरो हुने/भएको मैले देखेको छु । दुखाइ कम गर्ने औषधि समूहमा पर्ने म र मेरो नजिकैको साथी ‘आइब्रुफेन’ ले ज्वरो कम गर्न सहयोग पु-याउँछौं ।  

नेपालको औषधि ऐनले मलाई समूह ‘ग’ मा राखेको छ । जसलाई चिकित्सकको सिफारिसबिनै औषधि पसलबाट खरिद गर्न सकिन्छ । त्यसैले मेरो खरिद सजिलो छ । तर सजिलो खरिद भन्दैमा जभाभाबी प्रयोग गर्ने भने होइन । कलेजो र मिर्गौलाका बिरामीले भने मलाई सेवन गर्दा डाक्टरको सल्लाह लिनुपर्छ । अन्यले पनि सही मात्रामा सेवन गर्ने हो । ज्वरो घटेन भनेर धेरै चक्की खाँदा थप गम्भीर समस्या आइलाग्छ । सामान्यतया प्रोैढ मानिसले ५०० मिलिग्रामको एक अथवा दुई ट्याबलेट एकपटकमा लिने हो, २४ घन्टामा यो चारपटक खाने हो । एकपटक खाएपछि कम्तीमा पनि चार घन्टाको फरकमा अर्को डोज लिन सकिन्छ । बालबालिकालाई झोलमा पारासिटामोल दिइन्छ । उनीहरूको उमेर र तौलका आधारमा मात्रा तय हुन्छ । प्रौढलाई झैं उनीहरूलाई पनि २४ घन्टामा चारपटक र कम्तीमा चार घन्टाको फरकमा सेवन गराउनुपर्छ ।  

नेपालमा पाइने ट्वाबलेटमा म ५०० मिलिग्राम, इन्जेक्सनमा १५० मिलिग्राम प्रतिमिलिलिटर अथवा १०० मिलिलिटरको बोतलमा १० मिलिग्राम प्रतिमिलिटिर र सस्पेन्सनमा ५ मिलिलिटरमा १ सय २५ मिलिग्राममा म उपलब्ध छु । ट्वाबलेटमा भारतमा ६५० मिलिग्राममा पनि म उपलब्ध छु तर नेपालमा छैन ।  

नेपाली उत्पादकका गुनासा
नेपाल सरकारले २०६४ सालदेखि मेरो मूल्य प्रतिट्याबलेट एक रूपैयाँभन्दा बढी लिन नमिल्नेगरी तोकेको छ । आधारभूत औषधि सर्वसुलभ होस् भनेर यसो गरिएको होला । बाहिरबाट आयात गर्दा पनि यही दरमा उपलबध हुुनपर्छ । औषधि व्यवस्था विभागको तथ्यांकले ४७ नेपालीसहित १ सय ७ औषधि कम्पनी पारासिटामोल उत्पादन तथा वितरणका लागि दर्ता भएको देखाउँछ । तर उपलब्धताको कुरा गर्ने हो भने नेपाली कम्पनीको ८–१० वटा ब्रान्ड मात्र बजारमा देखिन्छन् ।

नेपालका औषधि उत्पादक कम्पनीले प्रतिट्याबलेट १ रूपैयाँमा उत्पादन गर्न नसकिने बताउँदै आएका छन् । उनीहरूले यति कम मूल्यमा उत्पादन गर्दा औषधि र उपचारको गुणस्तरमा समेत प्रभाव पर्ने दाबी गर्दै आएका छन् । विश्वमा सबैभन्दा सस्तोमा औषधि उत्पादन गर्ने मुलुकका रूपमा चिनिएको छिमेकी भारतमा समेत पारासिटामोलको मूल्य प्रतिट्याबलेट मूल्य १ रूपैयाँ ६० पैसा पर्ने नेपाली औषधि व्यवसायीको भनाइ छ । नेपाली व्यवसायीको मेरो मूल्य परिमार्जन गर्नुपर्छ भन्ने मागप्रति औषधि व्यवस्था विभाग पनि सहमत देखिन्छ ।  

नेपालमा पाइने अन्य पारासिटामोलमा अधिकांश भारतीय उत्पादन छन् । तर मूल्यको सीमाका कारण भारतका ठूला कम्पनीले निर्माण गरेका पारासिटामोल नेपाली बजारमा छैनन् । कोरोना महामारीको सुरुमा औषधि अभाव हुन नदिन भनेर भारतले हाइड्रोक्लोरोक्विन र पारासिटामोलको निर्यातमा बन्देज लगाएको थियो । तर त्यसलाई केही समयमै खुकुलो पारिएको थियो । नेपाली कम्पनीले पारासिटामोल उत्पादनमा नेपाल आत्मनिर्भर हुन सक्ने बताएका छन् । औषधि आयातमा अर्बौ रूपैयाँ बिदेसिएको परिप्रेक्ष्यमा यो सुखद संकेत हो ।  

युद्धमोर्चाको एक सिपाही
कोरोना संक्रमणबाट शुक्रबारसम्म विश्वका ३ करोड २४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यस्तै ९ लाख ८७ हजारजनाको मृत्यु भएको छ । यो मानवीय पीडा र क्षतिप्रति म दुःखी छु । मेरो प्रारम्भिक र शान्त हिसाबको भूमिकाका कारण चर्को होहल्ला र समाचारका शीर्षकमा विश्वास गर्न मानव समुदायले मेरो कम आँकलन गरेको हुन सक्छ । तर त्यसो भन्दैमा यो महामारी नियन्त्रणमा आफ्नो तहबाट यथाशक्य योगदान गरिरहेको मलाई उचित श्रेय नदिनु न्यायसंगत हुँदैन । श्रेय नपाउँदा मलाई काम गर्ने उत्प्रेरणा पनि मिल्दैन । कोरोनाविरुद्धको युद्धमोर्चामा खटिएको सिपाही म पनि हुँ । यो समग्र र कठिन लडाइँमा सबैको भूमिकाको कदर हुनुपर्छ ।

यो लडाइँ सकिन अझै केही समय लाग्ने देखिन्छ । नेपालमै पनि स्थिति सुधारोन्मुख हुनुको साटो झन् बिग्रन सक्ने आँकलन कतिपय विज्ञको छ । विशेषगरी नजिकिँदै गरेका चाडपर्वले स्थिति बिग्रन्छ कि भन्ने चिन्ता उनीहरूको हो । कोरोनाविरुद्धको लडाइँको एक अंग भएको हिसाबले आममानिसलाई ‘प्रिभेन्सन इज वेटर द्यान केयर’ उत्तम हो भन्ने भनाइ आत्मसात् गर्न अनुरोध गर्छु । सामाजिक दूरी कायम गर्दा, फेसमास्क लगाउँदा, पटकपटक हात धुँदा, स्यानिटाइजरको प्रयोगले रोग प्रवेश गर्ने ढोका बन्द हुन्छ । मैले केवल स्मरण मात्र गराएको हो । चेतनशील, चातुर्य र वैज्ञानिक उपलब्धिले समग्र विश्वलाई आफ्नो वर्चस्वमा लिएको मानव जातिलाई यहाँभन्दा धेरै भन्नुनपर्ला ।

प्रकाशित: १० आश्विन २०७७ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App