१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाँच वर्षसम्म पनि बनेनन् स्वास्थ्य भवन

रसुवाको स्याफ्रुमा रहेको स्वास्थ्य चौकीको अस्थायी भवन। तस्बिर: नागरिक

भूकम्प गएको पाँच वर्ष बितिसकेको छ। जिल्लामा निजी आवास पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। अधिकांश विद्यालय भवन पनि बनिसकेका छन्। सरकारी भवनले पनि पूर्णता पाइसकेको छ। तर जिल्लामा भूकम्पले क्षति भएका स्वास्थ्य संस्था अझै पनि अस्थायी भवनमै सञ्चालन भइरहेका छन्। स्वास्थ्य संस्थाहरूको स्थायी भवन नबन्दा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसीमा रहेको स्याफ्रु स्वास्थ्य चौकीको अझै स्थायी भवनको निर्माण सुरु भएको छैन। यो वर्ष भवन निर्माणका लागि बजेट आएको छ। तर जग्गा व्यवस्थापनमा ढिलाइ भएका कारण कहिलेबाट भवन निर्माण हुन्छ, थाहा छैन।

स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार भवन निर्माणका लागि जग्गा व्यवस्थापन कार्य अघि बढाइएको छ। वडा कार्यालयले जग्गा पनि उपलब्ध गराइसकेको छ। तर स्वास्थ्य चौकीका नाममा ल्याउन नीतिगत समस्या भएको उनले बताए। ‘जग्गा व्यवस्थापनका लागि मालपोत कार्यालयमा चिठी पठाएका छौं,’ उनले भने, ‘तर यसको जवाफ आइसकेको छैन।’

स्वास्थ्य शाखाका अनुसार यो गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी रहेको छ। गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमध्ये थुमन स्वास्थ्य चौकी निर्माणका लागि अझै बजेट आएको छैन। धुन्चे र बृद्धिममा रहेको स्वास्थ्य चौकीको पुनर्निर्माणको काम सुरु भएको भए पनि सम्पन्न भएको छैन। लाङटाङमा नयाँ भवन निर्माण भएको छ। टिमुरेको भवन रेट्रोफिट गरेर सञ्चालनमा ल्याइएको छ।

यो गाउँपालिकामा मात्र होइन, जिल्लाको अन्य चारवटा गाउँपालिकाको पनि उस्तै अवस्था छ। जिल्लाको नौकुण्ड गाउँपालिका–३ पारच्याङमा रहेको पारच्याङ स्वास्थ्य चौकीले पनि अझै स्थायी भवन पाएको छैन। यो स्वास्थ्य चौकीलाई कोरोना अस्पतालका रूपमा विकास गर्न लागिएको भए पनि जग्गाको अभावले समस्या आएको छ।

स्वास्थ्य चौकीले दिएको जानकारीअनुसार स्वास्थ्य चौकीमा ल्याब सञ्चालनमा छ। ठाउँ साँघुरो हुँदा औषधि राम्रोसँग राख्न सकिएको छैन। स्वास्थ्य चौकीका प्रमुख हर्कबहादुर तामाङका अनुसार भवन निर्माणका लागि जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्य चौकीले बिरामी जाँच गर्ने र औषधि दिने काम एकै ठाउँबाट गरिरहेको छ। यो स्वास्थ्य चौकीमा दैनिक ३० जनासम्म बिरामी जाने गरेका छन्। यो गाउँपालिकामा यार्सा स्वास्थ्य चौकी निर्माणाधीन छ। भोर्ले स्वास्थ्य चौकी टेन्डर हुने क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख अण पौडेलले बताए। उत्तरगया गाउँपालिकामा रहेको डाँडागाउँ स्वास्थ्य चौकी निर्माण भइसक्दा पनि ठूलोगाउँ स्वास्थ्य चौकीको स्थायी भवन निर्माणका लागि भर्खरै प्रक्रिया अघि बढाइएको छ।

बिरामीको चाप बढी हुने यो स्वास्थ्य चौकीले पनि जसोतसो सेवा दिने काम गरिरहेको छ। स्थायी भवन नहुँदा गुणस्तरीय सेवामा चुनौती, सुत्केरी स्याहार कोठाको अभाव, बर्थिङ सेन्टर साँघुरो, ड्रेसिङ सेवा डेन्टल सेवा, परिवार नियोजन, पोषण परामर्श तथा तालिम गोष्ठी एवं व्यवस्थापन समिति बैठकका लागि ठाउँ अभाव छ।

प्रिफ्याब भवन हुँदा बिग्रेका धारा र बत्ती सिस्टम मर्मत गर्न अप्ठ्यारो छ। पानी ओसिने र मुसाको आक्रमणले औषधि नष्ट हुने क्रम बढेको स्वास्थ्य चौकीका प्रमुख कृष्ण भण्डारीले बताए। जिल्लामा अहिले दुईवटा अस्पताल, १७ वटा स्वास्थ्य चौकी र सातवटा सामुदायिक स्वास्थ्य एकाइ रहेका छन्। जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) रसुवाले जिल्लाका स्वास्थ्य चौकीको पुनर्निर्माणको काम गरिरहेको छ। गत वर्ष जिल्लामा स्वास्थ्य संस्था निर्माणका लागि ८ करोड रुपैयाँ बजेट आएको थियो। जसअन्तर्गत रसुवा, गत्लाङ, बृद्धिम, डाँडागाउँ र यार्सा स्वास्थ्य चौकीको पुनर्निर्माण सुरु भएको थियो।

यो आर्थिक वर्ष २०७७/७८ का लागि जिल्ला अस्पतालसहित सातवटा स्वास्थ्य चौकी निर्माणका लागि बजेट आएका छ। यो वर्ष सरमथली, हाकुबेंसी, स्याफ्रुबेंसी, भोर्ले, ठूलोगाउँ र राम्चेको स्वास्थ्य चौकी निर्माण सुरु हुनेछ।

प्रकाशित: ९ आश्विन २०७७ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App