१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसको उत्परिवर्तन खतरनाक छैन

इडवार्ड होल्म्स, सिडनी (अस्ट्रेलिया)

पछिल्ला समाचार शीर्षकमा हामीले कोभिड–१९ संक्रमण भएर निको भएकाहरूमा भाइरसको फरक ‘स्ट्रेन’ले पुनः संक्रमण भएको पढेका छौं। कोरोना भाइरसबाट पहिलोपटक गत मार्चमा संक्रमित भएका हङकङका एक व्यक्तिलाई अगस्टको अन्त्यमा पश्चिमी युरोपको गर्मीयाम फैलिएको नयाँ भाइरसले पुनः संक्रमण गरेको थियो। त्यसको अर्को दिन युरोपका दुईजनामा भाइरस पुनः संक्रमण भएको समाचार प्रकाशित भएको थियो। त्यसपछि अमेरिकाको नेभाडाका एक बिरामीले पहिलोपटकभन्दा दोस्रोपटकको संक्रमणमा कडा लक्षण देखिएको बताएका थिए। यी समाचारले नयाँ भाइरस झन् संक्रामक हुन सक्ने भनेर अनावश्यक रूपमा डर र भ्रम सिर्जना भएको छ। यसका लागि हामीले उपलब्ध प्रमाण र विज्ञानलाई आधार मान्नुपर्छ।

एउटा पक्ष के हो भने भाइरसका अन्य प्रजातिमा पनि पुनः संक्रमण भएका उदाहरण छन्। यो तथ्य आफंैमा डरलाग्दो होइन। पुनः संक्रमणले मानिसको प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ भन्ने सम्बन्धमा केही कुरा देखाउँछ। भाइरस उत्परिवर्तन हुने क्रममा झन् खतरनाक बन्छ भन्ने कुरा सही होइन।

अर्काे पक्ष के हो भने भाइरस नियमित रूपमा उत्परिवर्तन भइरहन्छ। यस्ता अधिकांश परिवर्तन भाइरस स्वयंका लागि खराब हुन्छन् र कहिलेकाहीँ घातक हुन्छन्। थोरै मात्रा यस्ता परिवर्तन तटस्थ हुन्छन् भने अत्यन्त थोरै फाइदाजनक हुन्छन्। उत्परिवर्तन अर्थात् र ‘म्युटेसन’ भन्ने शब्द आफैंमा अशुभजस्तो सुनिन्छ तर यस्ता परिवर्तन मानिसलाई घातक हँुदैनन्। उत्परिर्वन भाइरसको जीवनचक्रको दैनिकीजस्तै हुन्छ।

सार्स–कोभ–२ सामान्य हिसाबले बिस्तारै परिवर्तन भइरहेको छ र यो परिवर्तन खतरनाक बनेको छैन।

हो, सार्स–कोभ–२ अर्थात् कोभिड–१९ पनि उत्परिर्वन भइरहेको छ। त्यसो भए के त ? मूल प्रश्न यो परिवर्तन डिसेम्बरमा चीनमा देखिएका भाइरसभन्दा झन् बढी संक्रामक भएको छ÷छैन भन्ने हो। प्रमाणहरूले यो भाइरस झन् संक्रामक नभएको देखाएका छन्। दादुरा तथा रुघाखोकीका लागि जिम्मेवार भाइरसजस्तै सार्स–कोभ–२ को पनि आरएनएले बनेका अनुवांशिक कोड हुन्छन र ! आरएनए अत्यन्त धेरै मात्रामा उत्परिवर्तित भइरहन्छ। सार्स–कोभ–२ ले हाम्रा शरीरका कोषिकाको प्रयोग गरेर आफ्नो संख्यालाई पटकपटक विस्तार गर्छ र हरेकपटक यसको अनुवांशिक कोडको कपी हुँदा केही त्रुटि हुन सक्छन्। अधिकांश उत्परिवर्तन शीघ्र हराउँछन्। यो प्रक्रिया संयोगले हुन्छ अथवा यस्तो परिवर्तनले केही अंशमा भाइरसको मुख्य काममा क्षति पु-याउँछन्। उत्परिवर्तन भएका केही अंशको मात्र व्यापक प्रसार हुन्छ र ती दीर्घकालीन हुन्छन्। जीवहरूको क्रमागत विकासका लागि उत्परिवर्तनले इन्धनको काम गरेको हुन्छ। तर आरएनए भाइरसका लागि यो निरन्तरको प्रक्रिया हो। मानिसको वंशाणुभन्दा १० लाख गुणा छिटो आरएनए भाइरसको विकास हुन्छ। तर सार्स–कोभ–२ को सन्दर्भमा यो गति अन्यको तुलनामा ढिलो छ। उदाहरणका लागि रुघाखोकीका लागि कारक मानिने ‘इन्फ्लुएन्जा भाइरस’ भन्दा यो पाँचगुणा कम गतिमा विकसित हुन्छ।

संक्रामक कीटाणुको विकासको अद्यावधिक तथ्यांक संकलन गर्ने परियोजना ‘नेक्स्ट स्ट्रेन’ र अन्य सन्दर्भ सामग्रीले के देखाएका छन् भने प्रतिमहिना सरदर दुईपटकको हिसाबले सार्स–कोभ–२ को उत्परिवर्तन भएको छ। यो हिसाबले चीनको वुहानमा देखिएको भाइरसको तुलनामा हालसम्म १५ वटा मात्र उत्परिपर्तन भएका छन्। सार्स–कोभ–२ को अनुवांशिक शृंखला अर्थात् ‘जेनोम’ ३० हजार न्युक्लियोटाइड लामो हुने भएकाले यो संख्या अत्यन्त थोरै हो। यसको के अर्थ हुन्छ भने सार्स–कोभ–२ को अहिलेको स्वरूप वुहानमा सुरुमा देखिएकोसँग ९९ दशमलव ९५ प्रतिशतले समान छ। आरएनए भाइरसका लागि सार्स–कोभ–२ अत्यन्त ढिलो गतिको उद्विकास हो। कोरोना भाइरसको उत्परिवर्तनको सुस्त गति हाम्रा लागि सुखद समाचार हो। यो द्रुत गतिमा भएको भए यसलाई नियन्त्रण गर्न निर्माण गरिने खोप र औषधि निर्माणमा कठिनाइ हुने थियो।

यति भन्दाभन्दै थोरै मात्रामा भएको यो परिवर्तन कति महŒवपूर्ण छ, त्यसको चर्चा गर्न आवश्यक छ। के यो घातक बन्दैछ ? अहिलेसम्मका प्रमाणले यो घातक र संक्रामक भएको देखिएको छैन। बरु यो कम घातक बनेको छ। उदाहरणका लागि लन्डनको इम्पेरियल कलेजअन्तर्गतको फ्याकल्टी अफ मेडिसिनका इरिक भोल्ज र टिमले सार्स–कोभ–२ को २५ हजार जेनोम सिक्वेन्सको अध्ययन गरेको गरेको थियो र सो अध्ययनले भाइरसको ‘डी ६१४ जी’ नामक एक मात्र उत्परिर्वन भएको देखाएको थियो र यो उत्परिवर्तनले बिरामीको मृत्युदरलाई बढाएको थिएन।

कोरोना भाइरसको ‘डी ६१४ जी’ स्वरूप विश्वमा हाल देखिएको प्रमुख संस्करण मानिएको छ। यसले कोरोना भाइरसको संक्रामकतामा अभिवृद्धि नगरेको सेल नाम गरेको जर्नलमा प्रकाशित अर्काे शोधले देखाएको छ। त्यसैले सार्स–कोभ–२ भाइरसको विकासले यसको फैलावट भएको होइन, महŒवपूर्ण पक्ष के हो भने कोरोना भाइरस आफैं फैलिन सक्ने क्षमता राख्छ र हामी यसको संक्रमणको जोखिममा छौं, हामी प्रतिरक्षात्मक छैनौं र यसले नयाँ सिकार सजिलै भेट्टाउन सक्छ।

जर्नल सेलको त्यही संस्करणमा छापिएको अर्काे शोधपत्रले भाइरसको स्वरूपभन्दा पनि धरातलीय स्थितिले भाइरसको संक्रमणको सम्भावनालाई बढाएका हुन्छन्। उदाहरणका लागि जुन महिनादेखि अस्ट्रेलियामा फैलिएका महामारीलाई हेरौं। भिक्टोरियामा प्रतिदिन सात सयजनालाई संक्रमण गर्ने र न्यु साउथ वेल्समा प्रतिदिन १० जनालाई संक्रमण गर्ने भाइरसको स्वरूप एउटै थियो, त्यो त्यही ‘डी ६१४ जी’ थियो। यसरी फरक हिसाबले संक्रमण हुनुको यकिन कारण पत्ता लगाउन अझै अध्ययन हुँदैछ। योे महामारी भिक्टोरियामा पहिला सुरु भएको थियो र न्यु साउथ वेल्सले महामारी रोक्न यथेष्ट समय पाएको थियो। यसैगरी मृत्युदरका हिसाबले पनि यो भाइरसले कतिपय स्थानमा धेरैको ज्यान लिएको छ भने अन्यत्र कम संख्यामा मृत्युु भएको छ। यसमा पनि भाइरसको स्वरूपभन्दा पनि रोगलाई कसरी उपचार गरिएको थियो र भाइरस कहाँ फैलिएको थियो भन्ने कुरा महत्वपूर्ण हुन्छ।

त्यसैले भाइरसको निरन्तर उत्परिवर्तन भइरहन्छ र सार्स–कोभ–२ यसको अपवाद होइन। तर, हामीले यो कहिले, कसरी र कस्ता प्रभावसहित विकसित भएको छ भन्ने कुराको निरन्तर निगरानी हुनु जरुरी छ। सार्स–कोभ–२ अझ बढी संक्रामक तथा घातक भएको छ र छैन भन्ने महत्वपूर्ण प्रश्न हो, त्यो किन भने यो छिटै उन्मूलन हुनेवाला छैन। सम्भावना के छ भने रुघाखोकीजस्तै यो मानिसका लागि स्थानीय कीटाणु हुन सक्छ। अहिले के प्रस्टसँग भन्न सकिन्छ भने, सार्स–कोभ–२ डिसेम्बरमा चीनमा देखिएको उही भाइरस हो। यसको उत्परिवर्तन भएको त छ तर आमनागरिक तथा वैज्ञानिक समुदायले चिन्ता गर्नुपर्ने हिसाबले यसको उत्परिवर्तन भएको छैन।
(इडवार्ड होल्म्स सिड्नी विश्वविद्यालयका इभोलुसनरी भाइरोलोजिस्ट हुन्, उनको यो लेख न्युयोर्क टाइम्सको सोमबार प्रकाशित प्रिन्ट संस्करणबाट लिइएको हो।)

प्रकाशित: ३ आश्विन २०७७ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App