१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना खोप कहिले आउला, मूल्य कति पर्ला ? यस्तो छ सम्भावना

फाइल तस्बिर

नेपालसहित विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म २ करोड ६६ लाखभन्दा बढी व्यक्तिलाई संक्रमण गरिसकेको छ भने तीमध्ये ८ लाख ७५ हजारभन्दा बढीको  ज्यान लिइसकेको छ। तर पनि अहिलेसम्म यसको अन्त्य गर्ने प्रमाणित खोप तयार भइसकेको छैन ।  

गत अगस्ट ११ मा रुसले आफ्ना वैज्ञानिकले बनाएका कोरोनाविरुद्ध खोप दर्ता गरायो र स्पुत्निक-५ नामको यस खोपलाई उसले विश्वकै पहिलो सफल कोरोना खोप घोषणा पनि गर्यो । तर कतिपय आलोचकले सबै चरणका परीक्षण नै पूरा नगरी छोटो प्रक्रियाबाट खोप बनाएको भन्दै त्यसको प्रभावकारिता र विश्वसनीयतामा शंका गरेका छन् । तर रुसले आफ्नो खोप अन्त्यन्त प्रभावकारी देखिएको भन्दै आलोचनाको आधारहीन भनेर खण्डन गरिसकेको छ ।  

विश्व स्वास्थ्य संगठनका  अनुसार अहिले विश्वमा ३४ कम्पनीले कोरोना खोप बनाइरहेका छन् । तीमध्ये अहिलेसम्म सातवटा मात्रै तेस्रो अर्थात् अन्तिम चरणको ‘क्लिनिकल ट्रायल’ (परीक्षण) सम्म आइपुगेका छन् । यस्तै तीनवटा खोप दोस्रो चरणको परीक्षणमा छन् । 

यस्तै विश्वका अन्य १४२ कम्पनीले पनि कोरोना खोप बनाइरहेका छन् र ती अहिले प्रि-क्लिनिकल चरणमै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

संगठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको तथा एस्ट्रजेनेका कम्पनीले ठूलो मात्रामा उत्पादन गरिरहेको खोप अहिलेसम्म सबैभन्दा उन्नत देखिएको बताएका छन् ।  

उनले खोप सन् २०२१ को मध्यसम्ममा बजारमा उपलब्ध हुने अनुमान गरेका छन् ।  

कति पर्ला खोपको दाम ?  

एस्ट्रजेनेकाको खोप  

एस्ट्रजेनेका कम्पनीले आफूले नाफा नकमाउने र सकेसम्म सस्तोमा खोप उपलब्ध गराउने कोसिस भइरहेको जनाएको छ । यसका प्रमुख प्रमुखले ल्याटिन अमेरिकामा खोपको मूल्य प्रतिडोज ४ डरलभन्दा कम नै हुने बताएका छन् ।  

भारतमा ठूलो मात्रामा यो खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युटले भारत र अन्य विकासशील मुलुकम यो खोपको मूल्य ३ डलर (नेपाली ३५२ रुपैयाँ) पर्ने जनाएको छ ।  

इटलीको स्वास्थ्य मन्त्रालयले युरोपमा यो खोपको मूल्य प्रतिडोज २.५ युरोसम्म पर्ने जनाएको छ ।  

यो खोप उत्पादनका लागि अस्ट्रेलियाले एस्ट्रजेनेकासँग सम्झौता गरिसकेको छ भने त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले आफ्ना सबै नागरिकलाई खोप निःशुल्क उपलब्ध गराउने आश्वासन दिएका छन् ।  

सनोफीको खोप

फ्रान्सस्थित सनोफी कम्पनीका प्रमुख ओलिवियर बोगिलोटले आफ्नो कम्पनीले बनाएको खोपको मूल्य प्रतिडोज १० युरो (नेपाली १४४० रुपैयाँ) भन्दा कम हुने बताएका छन् ।

साइनोफार्मको खोप

चिनियाँ औषधि कम्पनी साइनोफार्मका प्रमुख लिउ जिङजेनले आफ्नो कम्पनीले विकास गरेको खोपको तेस्रो चरण परीक्षण पूरा भइसकेको बताएका छन् । उनले यसको दुई डोजको मूल्य १००० चिनियाँ युआन  (नेपाली १६ हजार रुपैयाँ) भन्दा केही कम हुने जानकारी दिएका छन् । स्वास्थ्यकर्मी र विद्यार्थीलाई भने खोप निःशुल्क दिने तयारी रहेको बताइएको छ ।  

मडर्नाको खोप

क्याम्ब्रिजस्थित मडर्ना कम्पनीले आफूले उत्पादन गरेको खोप महामारीलाई विचार गरी प्रतिडोज ३३ देखि ३७ डलरसम्म (नेपाली रुपैयाँ ४ हजार) सम्म पर्ने जानकारी दिएको छ।

कम्पनीका कार्यकारी प्रमुख स्टिफन बान्सेलका अनुसार खोपको मूल्य सकेसम्म कम गरिनेछ । महामारीका बेला मूल्यकै कारण कसैले खोप नपाउने अवस्था सिर्जना नगरिने उनले आश्वासन दिएका छन् ।  

फायर्सफार्माका अनुसार फाइजर र बायोएनटेक कम्पनीले आफूहरूले अमेरिकी सरकारलाई खोप प्रतिडोज १९‍.५० डलरमा बिक्री गर्ने बताएका छन् ।  

यो खोप मानिसलाई सुरुवातमा दुई डोज र पछि बुस्टर डोज दिनुपर्ने हुन्छ, जसका लागि प्रतिव्यक्ति ४० डरलसम्म पर्न सक्ने खबरमा उल्लेख छ ।  

प्रकाशित: २१ भाद्र २०७७ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App