७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

यी ११ कारणले निषेधाज्ञामा पनि कोरोना संक्रमण बढिरहेको हो : डा. पाण्डे

चैत ११ देखि लागू देशव्यापी लकडाउन साउन ६ गते अन्त्य गरिए पनि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा निषेधाज्ञा जारी छ ।  

तर पनि कोरोना संक्रमण हुने क्रम घटेको छैन, बरु बढ्दो छ । देशको राजधानी रहेको काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गरिएको १५ दिन भइसक्यो तर दैनिक संक्रमित फेला परिरहेका छन् ।  

आज मात्रै उपत्यकामा ४४५ संक्रमित थपिएका छन् भने योसहित देशभर थप १ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  

यसरी निषेधाज्ञा लागू गरिरहँदा पनि संक्रमण किन कम हुन सकेको छैन त ? सोच्नुपर्ने विषय बनेको छ ।  

यसै सन्दर्भमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले आफ्नो फेसबुकमार्फत संक्रमण बढिरहनाका ११ कारण प्रस्तुत गरेका छन् भने निषेधाज्ञा जारी नगरी कसरी कोरोना संक्रमण नियन्त्रण गर्ने भन्नेबारे १५ उपाय अपनाउन सुझाव दिएका छन् । 

उनले प्रस्तुत गरेका यी हुन् ११ कारण 

–निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकाले

–मुख्य सडक सुनसान बनाइएको तर भित्री बस्ती र गल्लीमा कडाइ नगरेकाले  

–तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकाले 

–पुलिङ मेथडबाट संवेदनशील स्थानमा मास टेस्टिङ नगरकाले  

–जनचेतनाका प्रभावकारी विज्ञापन, टेलिफ्लिम, कार्यक्रम (विभिन्न मातृभाषामा सहित) निर्माण नगरेकाले  

–नागरिक परिचालन नगरेकाले

–न्यून आय भएका नागरिकलाई राहत नदिँदा जोखिम मोल्न बाध्य भएकाले

–विज्ञको सुझावअनुसार अल्पकालीन र दीर्घकालीन रणनीति नबनाएकाले

–भारतसँगका सीमामा सुरक्षाकर्मी र स्थानीय नागरिकको संयुक्त गस्तीबाट नियन्त्रण नगरेकाले

–अन्तरप्रदेश तथा अन्तरजिल्ला आवागमनको नियमन नगरेकाले

–भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुमवासी बस्ती, तरकारी बजार, चोकका पसल, वधशाला, साँगुरा गल्लीभित्रका व्यवसायी, फोहोर तथा कवाड संकलन गर्ने व्यक्ति, सफाइकर्मी आदिमा खोजीखोजी परीक्षण नगरेकाले

अब के गर्नुपर्छ ? यी हुन् १५ उपाय

–लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने वर्गलाई ठूलो समस्या परेको छ । तसर्थ निषेधाज्ञा हटाउने  

–सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दूरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता अभ्यास गरे/नगरेको नियमित अनुगमन तथा निगरानी गर्ने, मापदण्ड पालना नगर्नेलाई जरिवानाको व्यवस्था गर्ने, सुरक्षाकर्मी तथा सिसिटिभीबाट हरेक टोलको भीडभाड अनुगमन गर्ने  

–मास्क र दूरीबिना कुनै सेवा उपलब्ध नगराउने, ९० प्रतिशतभन्दा धेरैले मास्क लगाउने तथा दूरी कायम गर्ने वातावरण तयार गर्ने  

–प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समूह, एनजिओ, विभिन्न पार्टीका भ्रातृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, विपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्ने, शंकास्पद व्यक्तिलाई खोजीखोजी परीक्षण गर्ने  

–पुलिङ मेथडबाट दैनिक १ लाख जनाको कोरोना परीक्षण गर्ने  

–सार्वजनिक यातायातमा लामा र धेरै क्षमता भएका बस मापदण्ड पूरा गरेर सञ्चालन गर्ने, माइक्रोबसलाई एम्बुलेन्स र टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने

–व्यक्तिगत सवारी जोरबिजोर चलाउने  

–सिटामोल, जीवनजल जस्तै मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने

–कोरोना फ्रि वडारपालिका बनाउने अभियान सुरु गर्ने  

–सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई कोरोना रोकथामका उपाय, सकारात्मक विचार तथा वैज्ञानिक विचार प्रसारण र प्रकाशन गर्ने वातावरण सिर्जना गर्ने,  जुनसुकै कोणबाट आतंक फैलाउने गतिविधिलाई निरुत्साहित गर्ने  

–पूर्ववत् पेसाबाट विस्थापित भएका, बेरोजगार तथा नोक्सानमा परेका समूहलाई नयाँ रोजगारीको क्षेत्र (उत्पादन, वितरण आदिमा) पुनर्स्थापित गर्न सरकारले सहजीकरण गर्ने  

–भीडभाड हुने क्षेत्र नखोल्ने  

–समूहमा बस्ने तथा काम गर्ने समूह (सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, सञ्चारकर्मी तथा होस्टेलमा बस्ने) सबैलाई अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन लगाउने

–स्वतन्त्र विज्ञको समिति गठन गरेर हरेक सञ्चारमाध्यमबाट कोरोना संक्रमणबारे समान धारणा नियमित रूपमा प्रसारणरप्रकाशन गर्ने  

–मनोपरामर्श सेवा प्रभावकारी बनाउने  

प्रकाशित: १८ भाद्र २०७७ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App