२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

काेभिडका कामचलाउ उपचार

प्ल्जामा थेरापी गरिएकाे

विश्वमा कोरोना भाइरस फैलिएसँगै आधुनिक चिकित्सा विज्ञानमा जटिलता उत्पन्न भएको छ । कोरोना संक्रमण (कोभिड–१९) फैलिएको झन्डै ८ महिना भइसक्याे तर अझै यो निर्मूल पार्ने औषधि/उपचार पत्ता लागिसकेको छैन । तर पनि अनुभव, पुरानै औषधि तथा विधि अपनाएर यसकाे कामचलाउ उपचार गरिरहेको चिकित्सक बताउँछन् । 

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ‘रिसर्च युनिट’ का संयोजक डा. शेरबहादुर पुन नेपालमा कोरोनाविरुद्ध एकीकृत उपचार पद्धति नअपनाइएको बताउँछन् । ‘विदेशमा अन्य सम्भावना पत्ता लागेका कुरा सुनरिहेका छौं । तर त्यसअनुसारको उपचार नेपालमा प्रयोग गरिएको छैन,’ उनी भन्छन् ।  

उनका अनुसार नेपालमा कोरोनाका लागि भनेर कुनै नयाँ औषधि प्रयोग गर्नेबारे आधिकारिक जानकारी आएको छैन । डेक्सामिथासोन पहिलेदेखि प्रयोगमा ल्याइएको औषधि हो । 

खाेपकाे खाेजी

यतिखेर विश्वका चिकित्सा वैज्ञानिक कोराेना भाइरस निर्मूल पार्ने उपचार/औषधिकाे खोजी गरिरहेका छन् । विभिन्न खोप परीक्षण गरिरहेका छन् । रुस, अमेरिका, चीन, बेलायत, भारतलगायत देश यसमा जोडतोडसाथ लागिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि विभिन्न अनुसन्धान गरिरहेको छ । 

पछिल्लो समय नेपालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार भएको समाचारले सकारात्मक सन्देश दिएको डा. सन्तोष ढकाल बताउँछन् ।

डब्लुएचओको अनुशरण गर्दे नेपालले कोभिड–१९ को उपचार गरिरहेको डा. पुन बताउँछन् । यसबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ‘कन्भोलेसन प्लाज्मा थेरापी’ विधिबाट कोरोना संक्रमितको सफल उपचार गरेको छ ।  साथै रेम्डेसिभिर औषधिको प्रयोगले पनि कोरोनाका बिरामी निको भएको बताइएको छ ।  

औषधि प्रयोग

अमेरिकास्थित जोन्स होप्किन्स हस्पिटलमा कार्यरत इन्टरनल मेडिसिन फिजिसियन डा. विजय आचार्य करिब ४ महिनाअघि रेम्डेसिभिर, ड्यास वान एडिवान र इन्टरफेरोन विटा वान बी जस्ता औषधि परीक्षण गर्न पाइएको बताउँछन् ।  

उनका अनुसार हिजोआज हाइड्रोअक्सिक्लोरोफिन र एजिथ्रोमाइसिनजस्ता औषधि प्रयोग गर्न छाडिएका छन् । किनकि त्यस्ता औषधिसँगै उल्टीको औषधि दिन परे मुटुको चाल गडबड हुन्छ । जसले मानिसको ज्यान जोखिममा पार्छ । त्यसकारण डब्लुएचओले गरेको पछिल्लो क्लिनिकल परीक्षणले त्यस्ता औषधिले खासै काम नगरेको देखाएपछि प्रयोग गर्न छाडिएको उनको उनी बताउँछन् ।  

बिरामीको वर्गीकरण

डा. विजय आचार्यका अनुसार बिरामीलाई साधारण, मध्यम र जटिल गरी तीन वर्गमा छुट्याइन्छ । साधारण बिरामीलाई सुरक्षा विधिसहित घरमै बस्न अनुरोध गरिन्छ।  

शौचालयसम्म जाँदा पनि स्वाँस्वाँ हुने तथा एक्सरे गर्दा निमोनियाँ देखिने बिरामीलाई मध्यम बिरामी मानिन्छ । त्यस्ता बिरामीलाई अस्पतालमा राखेर साधारण औषधोउपचार गरिन्छ । तर स्थिति जटिल भएकालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने उनी बताउँछन् । 

अक्सिजन प्रयोग

कतिपय बिरामीलाई ‘हाई फ्लो अक्सिजन’ प्रयोग गरिन्छ । दुई/तीन लिटर अक्सिजन दिइन्छ । ४० देखि ६० प्रतिशतसम्म दिइन्छ । ‘सेचुरेसन लेभल’ कायम भयो भने बिरामीलाई अक्सिजन मात्र दिएर राखिन्छ । जसलाई भेन्टिलेटरमा राख्न नपर्ने डा. आचार्य बताउँछन् । उनका अनुसार मिर्गाैला, कलेजो र फोक्सो खराब भएका बिरामीलाई भने भेन्टिलेटर आवश्यक हुन्छ । 

डा. आचार्यका अनुसार कतिपय बिरामीको रगत सफा गरेर शरीरमा पुनः पठाउन ‘एक्मो’ गर्नुपर्छ । मिर्गाैलाको डाइलासिस गर्नुपर्ने हुन्छ । लक्षणको स्तरअनुसार औषधि प्रयोग गरिन्छ । विभिन्न चरणको औषधि प्रयोग गर्दै अहिले रेम्डेसिभिर, कन्भोलेसन प्लाज्मा थेरापी र बेलायतमा गरिएको पछिल्लो क्लिनिकल परीक्षणका आधारमा ‘स्टेरोइड’ प्रयोग गरिएको छ ।

बिरामीको अवस्था  

भाइरस बढी भयो भने शरीरले ‘साइटोक्राइन’ तत्वको उत्पादन बढाउँछ । यो बढ्दा शरीरका अंगलाई हानि पुर्‍याउँछ । यस्तो अवस्थामा उपचार गर्न कठिन हुन्छ । यसैकारण साइटोक्राइन बढ्ने अवस्था आउनुअघि नै रेम्डेसिभिर औषधि दिइयो भने भाइरल लेभल कम गर्न सकिने डा. आचार्य बताउँछन् ।  

उनका अनुसार रेम्डेसिभिर औषधिका साथमा ‘प्लाज्मा’ पनि दिएका खण्डमा एन्टिबडीले भाइरस फैलिनबाट रोक्न मद्दत गर्नेछ । अधिकतर चिकित्सा विधिमा साइटोक्राइनको मात्रा नबढोस् भनेर ध्यान दिइन्छ ।  

सावधानी  

चिकित्सकका अनुसार रेम्डेसिभिर, स्टेरोइड डेक्सोमेथोसोन आफूखुसी प्रयोग गर्न हुँदैन । यस्ता औषधिले खुट्टामा रगत जम्ने समस्या आउँछ । जसलाई चिकित्सकीय भाषामा डिप भेन थ्रोम्बोसिस् (डिभिटी) भनिन्छ । खुट्टाका नसामा चोक्टा बनेर रगत जम्छ । त्यो रगत फोक्सोमा गएमा मानिसको मृत्यु पनि हुन सक्छ । 

कन्भोलेसन प्लाज्मा थेरापी र अनुसन्धान  

पछिल्लो समय नेपालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको सफल उपचार भएको समाचारले सकारात्मक सन्देश दिएको डा. सन्तोष ढकाल बताउँछन् । 

डा. ढकाल अमेरिकास्थित जोन्स होप्किन्स विश्वविद्यालयमा इन्फ्लुएन्जा र कोरोना खोपबारे अनुसन्धानरत छन् । 

उनी भन्छन्, ‘नेपालमा अनुसन्धान गर्ने परिपाटी वा दक्षता छैन भनेर नगर्ने हो भने पछाडि परिन्छ ।’ यसकारण अहिले भइरहेको अनुसन्धानलाई पूर्णता दिनुपर्नेमा उनी जोड दिन्छन् ।  

उनका अनुसार शरीरमा कोष र तरल पदार्थ मिलेर रक्त कोष बनेका हुन्छन् । त्यही तरल पदार्थ नै प्लाज्मा हो । रगतबाट प्लाज्मालाई छुट्याउने एउटा प्रविधि हुन्छ । र, त्यो निकालेपछि बिरामीलाई दिइन्छ । यसरी प्लाज्मा दिँदा बिरामीको रोगप्रतिरोधात्मक क्षमता बढ्न गई कोरोनासँग लड्न सक्ने हुन्छ ।

प्लाज्मा कसलाई ?

सिकिस्त बिरामीलाई प्लाज्मा दिइन्छ । फोक्सोको अधिकांश भाग बिग्रेको, भेन्टिलेटरमा राखिएको र अन्य उपाय नभएका बिरामीलाई दिइन्छ । ‘दीर्घ रोग (क्रोनिक डिजिज) लागेका, मुटु, कलेजो, मिर्गौला, मधुमेह, क्यान्सर भएका बिरामीलाई कोभिड–१९ जटिल हुने भएकाले प्लाज्मा दिइन्छ,’ डा. ढकाल भन्छन् ।  

विचार गर्नुपर्ने कुराम 

पहिलो- कोरोना संक्रमण लागेर निकाे भएका मानिसबाट प्लाज्मा झिकिन्छ । तर त्यसअघि ऊ सम्पूर्ण हिसाबले स्वस्थ छ भनेर पक्का गरिन्छ । 

डा. ढकालका अनुसार एन्टिबडीको लेभल कति छ भनेर पत्ता लगाइन्छ । सञ्चो भएका सबै मानिसमा एन्टिबडी प्रशस्त हुन्छ भन्ने हुँदैन । कतिपयमा न्यून पनि हुन सक्छ । एन्टिबडी निकालिसकेपछि बिरामीलाई कति दिने भन्ने कुरा अनुसन्धानको पाटो हुन्छ । यसकारण सर्वप्रथम एन्टिबडी कति छन् भनेर पत्ता लगाउनुपर्छ ।

दोस्रो- एन्टिबडी दिइने बिरामीमा कति एन्टिबडी छ भनेर परीक्षण गरिन्छ । केही अनुसन्धानले कतिपय बिरामीमा पनि एन्टिबडी प्रशस्त बनेको देखाएका छन् । त्यस्तो अवस्थामा थप एन्टिबडी दिइयो भने उल्टो असर पर्न सक्छ । 

डा. सन्तोष ढकाल भन्छन्, ‘अहिलेसम्म एन्टिबडीको स्ट्यान्डर्ड कति हो भन्ने कुरा तय भइसकेको छैन । फरक-फरक मात्रामा एन्टिबडी दिने गरिएको पाइन्छ ।’  

तेस्रो- एन्टिबडी डिटेक्ट गर्ने प्रविधि हुनुपर्छ । एन्टिबडी कति दिने भनेर मात्रा तोकिनुपर्छ । अनुसन्धान क्रममा एउटा मानिसमा गरिएको प्रयोग सफल भएकै आधारमा त्यो विधि विश्वसनीय भएको मान्न नसकिने डा. ढकाल बताउँछन् । उनी भन्छन्, ‘प्लाज्मा दिइएको र नदिइएको बिरामीबीच तुलनात्मक अनुसन्धान गर्नुपर्छ ।’

सन् २००२–२००३ मा इन्फ्लुएन्जा भाइरसको महामारी हुँदा पनि प्लाज्मा थेरापी प्रयोग गरिएको थियो । ‘सार्स आउटब्रेक’ हुँदा पनि याे विधिले काम गरेको थियो । तर अहिले पनि केही अनुसन्धानका नतिजाले प्लाज्मा थेरापीले काम नगरेको देखाएकाे डा. ढकाल बताउँछन् । तर यसबाट ८७ प्रतिशत बिरामी निको भएको उनी सुनाउँछन् । 

अनुसन्धानकर्ता डा. ढकाल भन्छन्, ‘प्लाज्मा दिँदा पनि १३ प्रतिशत बिरामीको मृत्यु भएको पाइएको छ ।’ कोरोनाविरुद्ध खोप नभएको अवस्थामा प्लाज्मा थेरापी कामचलाउ उपचार बनेको उनी बताउँछन् ।  

परम्परागत औषधि

कोरोना संक्रमितको उपचारमा चीनले परम्परागत औषधि प्रयोग गरेको त्यहाँको सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । त्यस्तै भारतमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर विश्व स्वास्थ्य संगठनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । नयाँ भाइरस भएका कारण कतिपय विज्ञ परम्परागत औषधिले काम नगर्ने बताउँछन् ।  

अन्त्यमा

कोभिड-१९ को उपचार थप सुरक्षित बनाउन विज्ञले निम्न सुझाव दिएका छन् :

-कोभिड–१९ का बिरामी उपचार गर्न डाइलासिस सेन्टरको संख्या बढाउने, प्लाज्मा बैंक स्थापना गर्ने, अस्पतालमा पर्याप्त भेन्टिलेन्टर व्यवस्था गर्ने ।  

-न्युट्रिसन, अक्सिजन, मास्स र सानिटाइजरमा जोड दिने । औषधिले मात्र उपचार गर्न गाह्राे देखिएको छ ।  

-प्लाजा थेरापीले पूरा काम गरिसको अवस्था छैन । सबै बिरामीलाई उत्तिकै उपयोगी हुन्छ भन्ने छैन । थेरापी र औषधि बराबर प्रयोग गरिएका छन् । यसबाट सबैलाई ठीक हुने भए अमेरिका, युरोपलगायत देशले यसको अधिक उपयोग गर्थे ।  

-कोरोनाको उपचारमा एकरूपता छैन । देशैपिच्छे आआफ्नै विधि छन् । आआफ्ना ढंगले परीक्षण गरिरहेका छन् । तसर्थ कुनै देशले अपनाएको उपचार पद्धति नेपालमा पनि जस्ताकाे तस्तै अपनाउँदा बिरामी निको हुन्छन् भन्ने हुँदैन । 

-विश्व स्वास्थ्य संगठनले पनि यही औषधिले ठीक हुन्छ भनेर ठोकुवा गरिसकेको अवस्था छैन । यसर्थ बिरामी स्वयंले सतर्कता अपनाउनुपर्छ ।  

‘प्लाज्मा डोनेसन गराउन सकिन्छ’  

डा. विजय आचार्य, इन्टरनल मेडिसिन फिजिसियन, जोन्स होप्किन्स हस्पिटल, अमेरिका

कोभिड–१९ निको भएका मानिसबाट ३ हप्तापछि प्लाज्मा लिन सकिन्छ । त्यस्ता मानिसको खोजी ‘एप’ मार्फत गर्न सकिन्छ । जहाँ ‘प्लाज्मा डोनेसन’ गर्न चाहेमा सम्पर्क गर्न भनिएको हुन्छ ।  

कोरोनाको उपचारमा एकरूपता छैन । देशैपिच्छे आआफ्नै विधि छन् । आआफ्ना ढंगले परीक्षण गरिरहेका छन् । तसर्थ कुनै देशले अपनाएको उपचार पद्धति नेपालमा पनि जस्ताकाे तस्तै अपनाउँदा बिरामी निको हुन्छन् भन्ने हुँदैन । 

नेपालमा पनि त्यस्ता मानिसको सूची बनाएर एपमार्फत खोजी गर्न सकिन्छ । सामान्यतया ३ देखि ६ सय एमएलसम्म रगत निकालिन्छ । तर कस्ता खाले ‘प्लाज्मा सेपेरटर’ मेसिन छन्, त्यसमा भर पर्छ ।  

‘अनुसन्धानलाई विश्वसनीय बनाउन सकिन्छ’  

डा. सन्तोष ढकाल, अनुसन्धानकर्ता, जोन्स होप्किन्स विश्वविद्यालय, अमेरिका

कोभिड लागेका वृद्ध तथा युवा अवस्थाका बिरामीलाई प्लाज्मा दिँदा ध्यान दिनुपर्ने कुरा छन् । युवालाई प्लाज्मा दिँदा निको होला, तर वृद्धलाई दिँदा त्यसले काम नगर्न सक्छ । नेपालमा गरिएको अनुसन्धानमा त्यस्ता कुरा खुलेको पाइँदैन ।

प्लाज्मा थेरापी अनुसन्धान गर्न जोन्स होप्किन्स विश्वविद्यालयले ३ करोड ३५ मिलियन डलर पाएको छ । जसअन्तर्गत निको भएका तथा प्लाज्मा दिन इच्छुक मानिस खोजी गरी उनीहरूमा एचआइभी, हेपाटाइटिस छ/छैन परीक्षण गरिन्छ । 

अनि स्वस्थ भन्ने प्रमाणित भएपछि रगत संकलन गरी प्लाज्मा छुट्याइन्छ । त्यसबाट थोरै प्लाज्मा निकाली प्रयोगशालामा परीक्षण गरिन्छ । कुन मानिसमा कति एन्टिबडी छ, हेरिन्छ । त्यसपछि कस्ता मानिसले प्लाज्मा दान गर्न सक्छन् भन्ने कुरा निर्धारण गरिन्छ । त्यस्तो एउटा ‘च्यानल’ हुनुपर्छ ।  

एन्टिबडी बन्न २ हप्ता लाग्छ । निको भएको एक महिनापछि एन्टिबडी लिन सकिन्छ । महिनामा दुईपटक दिन मिल्छ । प्लाज्मा आइसोलेसन गर्ने तरिका पनि छन् ।  

प्रकाशित: १५ भाद्र २०७७ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App