२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दाङमा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सील

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर स्थित सरकारी अस्पताल प्रादेशिक अस्पताल सिल गरिएको छ। यो अस्पतालमा कार्यरत दुईजना चिकित्सक, तीन स्वास्थ्यकर्मी र तीनजना कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि शनिबार रातीदेखि अस्पताल सिल गरिएको हो। यो अस्पतालका ५० जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो।  कोरोना संक्रमणको जोखिमको कारण देखाउँदै अस्पताल अनिश्चितकालका लागि सील गरिएको जनाईएको छ।  

अस्पताल सिल भएपछि तुलसीपुर क्षेत्रको उपचार सेवा प्रभावित बनेको छ। अस्पतालले नयाँ बिरामी भर्ना रोकेको छ।  अस्पतालका अनुसार आईतवार उपचारका लागि नयाँ बिरामी आएनन्। अस्पतालले सील भएको सूचना प्रकाशन गरेर जानकारी गराएका कारण नयाँ बिरामीहरु उपचारका लागि नआएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पदम अधिकारीले जानकारी दिए।    

‘अस्पतालमा कार्यरत ९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि हामीहरुले अर्को सूचना जारी नहुँदा सम्मका लागि भनेर अस्पताल सील गरेका हौँ,’डा. अधिकारीले भने ‘अस्पतालकै स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारका लागि आउने बिरामीहरुलाई कोरोना संक्रमण हुनेमा हामीहरु सचेत बनेका हौँ।’

तर सरकारले भने सर्वसाधारणहरुको उपचार प्रभावित हुने गरि अस्पताल बन्द नगर्न भनेको छ। कोरोनाको कारण देखाउँदै अस्पताल बन्द गर्दा सर्वसाधारणहरु उपचार सो पाउनबाट बञ्चित हुने भन्दै अस्पतालले आफ्नो नियमीत सेवा प्रवाह गर्नुपर्ने नीति सरकारले लिएको छ। ‘ईमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि कसरी उपचार कसरी गर्ने ?’ डा. अधिकारीले भने ‘थप जनशक्ति भएको भए अर्को जनशक्तिले उपचार गर्न सक्थ्यो, तर अस्पतालमा त्यो सम्भव भएन।’ अस्पतालका अन्य स्वास्थ्य कर्मी र कर्मचारीहरुको पनि कोरोना परिक्षणका लागि स्वाब संकलन भएको र उनिहरुको परिक्षण रिपोर्ट आएपछि अस्पताल सञ्चालन गरिने उनले वताए।

 ‘अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको स्वाब संकलन भएको छ, उहाँहरुको रिपोर्ट आएपछि अस्पताल सेनिटाईज गरेर सञ्चालन गरिने छ,’ उनले भने ‘अबको दुई तीन दिन भित्रमा उहाँहरुको रिपोर्ट आउने छ।’ अस्पताल सील भएपछि तुलसीपुर क्षेत्रका नागरिकको उपचार सेवा प्रभावित भएको छ। तथापी अस्पतालका निमित्त मेसु अधिकारीले भने जिल्लामा अन्य ठूला अस्पताल पनि रहेकाले उपचारमा समस्या नहुने दाबी गरे। ‘घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, जिल्लामै अन्य अस्पतालहरु पनि छन्,’ उनले भने ‘प्रादेशिक अस्पताल सील हुँदैमा उपचार सेवानै प्रभावित हुने भन्ने कुरा गलत हो।’ तर सोमवार देखि लकडाउन लागु गर्न लागिएका कारण तुलसीपुर क्षेत्रका बिरामीहरुलाई बिरामीहरुलाई उपचारका लागि घोराही सम्म आउन थप समस्या हुने भएको छ। 

अर्को ठूलो सरकारी अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रहेकाले सरकारी अस्पतालमा उपचार सेवा लिनका लागि तुलसीपुर क्षेत्रका बिरामीहरुलाई लकडाउनले थप सास्ती थप्ने भएको छ। जिल्लामा समुदाय स्तरमै कोरोना ब्यापक रुपमा फैलन थालेपछि स्थानीय प्रशासनले आईतवार राती १२ बजे देखि लागु हुने गरि लकडाउन घोषणा गरेको छ।  

कोरोना संक्रमित स्वास्थ्य कर्मीहरुले बिरामीको उपचार गर्न सम्भव नहुने भन्दै उनले सरकारले भनेजस्तो अस्पताल सील नगर्ने भन्ने बिषय स्वास्थ्य जोखिमका कारण सहि नहुने समेत वताए। ‘कित हामीहरु संक्रमित छौँ, तैपनि उपचारका लागि आउनुस भनेर सर्वसाधारणहरुलाई जानकारी गराउनु पर्यो,’ उनले भने ‘हैन भने यस्तो जोखिमका बेला स्वास्थ्य कर्मीहरुलाई उपचारमा खटाउन सकिन्छ ?’ तर यसअघि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र स्वास्थ्य कर्मीहरुलाई कोरोना संक्रमण पुष्टि हुँदा पनि अस्पतालले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर नियमीत सेवा प्रवाह गरेको थियो। 

‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी वा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालै सील गरेर उपचार प्रभावित पार्नु हुँदैन भन्नेमा हामीहरु गम्भिर थियौँ,’ प्रतिष्ठानका एक अधिकारीले भने ‘हामीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर नियमीत रुपमै सबै उपचार सेवा प्रवाह गरेका थियौँ।’

प्रकाशित: १४ भाद्र २०७७ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App