१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संकटबीच नर्सको सेवा

अग्रपंक्तिका योद्धा

‘कोभिड–१९ का गम्भीर बिरामी आइसोलेटेड हुन्छन्। उनीहरूले पाउने अन्तिम मानवीय स्पर्श नर्सको हुन्छ,’ अप्रिल ७ मा मनाइने अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले जारी गरेको भिडियो सन्देशमा भनिएको छ।  

घेब्रेससले भनेको त्यही मानवीय स्पर्श दिने तथा स्वास्थ्य सेवा प्रणालीको पहिलो पंक्तिमा रहेर काम गर्ने नर्स अहिले कोरोना महामारीको अत्यधिक जोखिममा देखिएका छन्। आफ्नो स्वास्थ्य संकटमा पारेर सेवा दिइरहेका उनीहरूले आर्थिक संकटसमेत सामना गर्नुपरेको छ।  

स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ २ सम्म नेपालमा ३ सय ९० स्वास्थ्यकर्मी संक्रमित भएकोमा ८२ जना नर्स छन्। बिरामीको सेवामा २४ सै घण्टा खट्नुपर्ने हुँदा नर्सिङ पेसा जहिले पनि विभिन्न संक्रमणको जोखिममा हुन्छ नै। नर्सिङ स्टेसन एवं साना तथा भेन्टिलेसन नभएका ‘चेन्जिङ’ रुममा हुने भीडले संक्रमण बढेको देखिन्छ। अस्पतालले छुट्याएका साना कोठामा बसेर खाना तथा खाजा खाँदा पनि संक्रमणको थप खतरा छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा दुई दर्जन नर्स संक्रमित छन्।

स्वास्थ्य सेवाका अभिन्न अंग रहेका नर्सले आफू सुरक्षित रही सेवा प्रदान गर्न नसक्दा मनोबल कमजोर हुने देखिन्छ। तुलनात्मक हिसाबले सानै उमेरमा नोकरीमा संलग्न हुने नर्सलाई प्रभावकारी सामाजिक तथा मनोवैज्ञानिक परामर्श दिन आवश्यक रहेको तर्क विज्ञको छ।  

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईका अनुसार कोभिड–१९ महामारी सुरुयता नोकरी गुमेको, आधा तलबमा काम गर्नुपर्ने बाध्यता आएको, रोजगारदाताले जबरजस्ती बिदामा बस्न भनेको, संक्रमित भएको जस्ता गुनासो लिएर आउने नर्सको संख्या दिनदिनै बढेको छ। लकडाउन तथा निषेधाज्ञा लम्बिँदै गर्दा एसोसिएसनसँग यसको सही तथ्यांक नभए पनि यो समस्या बढ्दो क्रममा छ। नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार बिन्दा घिमिरे पनि कोभिड–१९ को पृष्ठभूमिमा नर्सिङ पेसामा चुनौती थपिएको स्विकार्छिन्। ‘हामीले अनुगमनका क्रममा नर्समा पेसागत असुरक्षा, व्यक्तिगत सुरक्षा सामग्री अभाव, तलबमा समस्या र महामारीका कारण मनोसामाजिक समस्या थपिएको देखेका छौं,’ घिमिरे भन्छिन्।

स्वास्थ्य सेवाका अभिन्न अंग रहेका नर्सले आफू सुरक्षित रही सेवा प्रदान गर्न नसक्दा मनोबल कमजोर हुने देखिन्छ।  

आर्थिक र पेसागत सुरक्षासँगै व्यक्तिगत सुरक्षा सामग्रीको सहज उपलब्धता र ग्यारेन्टी अहिलेको प्रमुख आवश्यकता भएको ठान्छिन् नेपाल नर्सिङ संघकी अध्यक्ष राई। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको एक समितिमा भएका विभिन्न बैठकमा हामीले व्यक्तिगत सुरक्षा सामग्रीको राम्रो व्यवस्था गर्न लगातार माग गरिरहेका छौं,’ उनले भनिन्, ‘महामारीको सुरुताकाभन्दा अहिले स्थिति धेरै सुध्रिएको छ।’

सदावहार समस्या

नर्सिङ पेसालाई परम्परागत हिसाबले स्वास्थ्य सेवामा सहयोगी पेसाका रूपमा ठानिएको र यसको केन्द्रीय तथा स्वतन्त्र भूमिकालाई स्वीकार नगरिएको धारणा धेरैजसो नर्सको छ। नर्स भनेपछि स्टाफ नर्स मात्रै ठान्ने गरिएको र उनीहरूले निर्वाह गरिरहेको विशिष्ट कार्यभारलाई नबुझिएको गुनासो धेरैको छ। अस्पतालका सघन उपचार कक्ष, शल्यक्रिया कक्ष, मानसिक कक्ष, न्युरोलगायत विधामा नर्सको भूमिका उल्लेख्य र प्रसूति कक्षमा स्वतन्त्र भूमिका हुने स्वयं नर्सहरू बताउँछन्। यो पेसालाई हेर्ने लैंगिक दृष्टिकोण पनि समस्याको एक कारण रहेको बताइन्छ।  

‘समाजको पितृसत्तात्मक सोच र व्यवहार यो पेसामा प्रतिविम्बित देखिन्छ,’ अध्यक्ष राई भन्छिन्। त्यस्तै वीरगन्ज नर्सिङ क्याम्पसकी उपप्राध्यापक रोमिना श्रेष्ठ भन्छिन्, ‘चलचित्रले आम मनोविज्ञानलाई प्रतिविम्बित गर्ने र प्रायः चलचित्रमा नर्सलाई डाक्टरको सहयोगीका रूपमा मात्र प्रस्तुत गरिँदा यो पेसाको अवमूल्यन भइरहेको छ।’ परिषद्की रजिस्ट्रार घिमिरे भन्छिन्, ‘नर्सबिना कुनै पनि अस्पताल एक मिनेट पनि चल्न सक्दैन। धेरैलाई यो जिम्मेवारी र भूमिका थाहा छ तर नर्सलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार फरक छ। नियमनकारी संस्था भएकाले हामी सडकमा जाने कुरा भएन तर नर्सिङ पेसालाई मर्यादित र सुरक्षित पार्ने हिसाबमा हामीले सरकार र सम्बन्धित निकायसँग लगातार पैरवी गरिहेका छौं र दबाब दिइरहेका छौं।’  

बिरामी र बेडको अनुपात  

विश्वभरि बिरामी र अस्पतालमा उपलब्ध बेडका आधारमा नर्सिङ जनशक्तिको अनुपात मिलाइएको हुन्छ। अस्पतालका वार्डको प्रकृति अनुसार यो अनुपात फरकफरक हुन्छ। डब्लुएचओले जनरल वार्डमा एक नर्सले ५÷६ जना बिरामी हेर्न सक्ने बताए पनि नेपालका अधिकांश निजी तथा सरकारी अस्पतालमा एक नर्सले २५ भन्दा बढी बिरामी हेर्छन्।

कुनै अस्पतालमा त यो संख्या ४० सम्म पुगेको स्वयं सरकारी अधिकारी स्विकार्छन्। कार्यभार बढी हुँदा कतिपय अस्पतालमा सेवा उपलबध गराउने क्रममा नर्सहरू झर्कने र रिसाउने गरेको गुनासो सुनिँदै आएको छ। नेपाल सरकारले स्वास्थ्य सेवा प्रदायक संस्थाले स्वास्थ सेवाको निम्नतम मापदण्ड पूरा गर्नुपर्ने भनेर तोके पनि प्रभावकारी कार्यान्वयन र अनुगमन हुन सकेको छैन।  

कोरोना महामारी सुरु भएयता नोकरी गुमेको, आधा तलबमा काम गर्नुपर्ने बाध्यता आएको, रोजगारदाताले जबरजस्ती बिदामा बस्न भनेको, संक्रमित भएको जस्ता गुनासो लिएर आउने नर्सको संख्या बढ्दो छ।  

‘सरकारी निर्देशिकामा उल्लेख भएका प्रावधान कार्यान्वयन मात्र गर्न सके पनि अहिलेको भन्दा ३ गुना बढी नर्सलाई रोजगारी दिन सकिन्छ,’ रजिस्ट्रार घिमिरे भन्छिन्।  

नेपाल नर्सिङ परिषद्को तथ्यांकअनुसार १२ मार्च २०२० सम्म ९५ हजार ३ सय ६३ जना परिषद्मा दर्ता छन्। जसमध्ये ६० हजार ७९५ नर्स, ३३ हजार ७२४ अनमी र ८४४ विदेशी नर्स छन्। नेपाल नर्सिङ काउन्सिलको तथ्यांकले १७ हजार नर्स विदेश गएको देखाए पनि तर योभन्दा बढी हुनसक्ने अनुमान छ।

नेपाल नर्सिङ संघका अनुसार परिषद्मा दर्तामध्ये हाल देश तथा विदेशमा गरी ६० देखि ७० हजार नर्स विभिन्न अस्पताल, क्लिनिक र नर्सिङ होममा कार्यरत छन्। सेवानिवृत्त र मृत्यु भएकालाई गणना नगर्दा पनि २० हजारभन्दा बढी नर्स बेरोजगार रहेको अनुमान संघको छ। पछिल्ला तीनचार वर्षयता नयाँ नर्सिङ कलेज स्थापना हुन रोकिए पनि त्यसअघिको डेढ दशकमा बग्रेल्ती खोलिएका नर्सिङ कलेजले बजारको मागभन्दा बढी नर्स उत्पादन गरेका कारण रोजगारी र वृत्ति विकासका अवसरका हिसाबले यो पेसाको व्यवस्थापनमा चुनौती थपिएको छ।  

स्टाफ नर्सलाई सरकारी हिसाबले राजपत्र अनंकित पाचौं तह मानिएकाले कम्तीमा २८ हजार २०६ रूपैयाँ तलब दिनुपर्छ। तर निजी अस्पतालले उनीहरूलाई त्यसको आधा मात्र तलब दिने गरेका छन्। कतिपय निजी अस्पतालले रेकर्डमा एउटा तलबमान र वास्तवमा दिने तलब फरक भएको संघकी अध्यक्ष राईको भनाइ छ।  

नेपालका निजी अस्पतालको छाता संगठन अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापा कोरोना महामारी सुरु भएपछि निजी अस्पतालले नर्सलाई बिदामा बस्न भनेको हुन सक्ने तर तलब कटौती नगरेका दाबी गर्छन्। ‘म आबद्ध अल्का अस्पतालमा नर्सले यसअघि खाइपाइआएको तलबमा ५० प्रतिशत थपेको छु,’ थापा भन्छन्।  

हाल सरकारी निकायमा स्थायी र करार गरी १५ हजार नर्स आबद्ध छन् र यो दरबन्दी २०५० सालयता पुनरवलोकन भएको छैन। नर्सको दरबन्दी थप्न सरोकारवाला मन्त्रालय अनुदार पाइएको छ। यसको उदाहरण हालै काठमाडौंमा स्थापना भएकोे राष्ट्रिय ट्रमा सेन्टर हो। सेन्टरका लागि ३५० नर्सको दरबन्दी माग भएकोमा अर्थ मन्त्रालयले १३७ मात्र स्वीकृत गरेको थियो।

 ‘नर्सिङ पेसालाई व्यवस्थित र सुदृढ पार्न श्रम मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा आपूर्ति तथा वाणिज्य मन्त्रालयलगायत सबै सरोकारवाल निकाय मिलेर जानुपर्छ। यसो गर्दा अहिले देखिएका धेरै समस्या सल्टिन्छन्,’ स्वास्थ सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रोशनी तुईतुई भन्छिन्। उनका अनुसार अभिभावकले धेरै पैसा खर्च गरेर सन्तानलाई नर्स पढाउने तर पढिसकेपछि रोजगारी र वृत्ति विकासका अवसर नपाउने हो भने समस्या झन् थपिने देखिन्छ। ‘नेपालमा नर्सको माग पहिचान गरी उत्पादन र आपूर्ति हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन,’ तुईतुई भन्छिन्।  

नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार घिमिरे नर्सिङ पेसालाई उभो लगाउन नीतिनिर्माण तहमै नर्स जानुपर्ने ठान्छिन्। ‘यो पेसाको महत्व बुझाउन र यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि नीतिनिर्माण नेतृत्व तहमा नर्स जान आवश्यक छ,’ उनी भन्छिन्, ‘स्वास्थ सेवामा यो जनशक्तिले आधारभूत र विशिष्टकृत सेवा दिइरहेको छ। यसलाई बुझ्न र सम्मान गर्न आवश्यक छ। कोभिड–१९ महामारीको पृष्ठभूमिमा यो पेसाको महत्व झन् बढेको छ।’

प्रकाशित: ८ भाद्र २०७७ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App