२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दीर्घरोगीको मृत्युमा कोरोना कारक

कोरोना भाईरस संक्रमणले पोखरामा एक महिला र एक पुरुष गरी थप दुईजनाको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राति र पोखरा महानगरपालिका–१६ दीपका ८७ वर्षीय पुरुषको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

मृत्यु भएका दुवैजना फरक खालका दीर्घरोगी थिए । पोखराका अस्पतालमा उपचारका क्रममा भर्ना भएका उनीहरूमध्ये तनहुँकी महिलाको कास्की सेवा अस्पतालमा मृत्यु भएको हो । त्यस्तै पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत रहेकै बेला मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।  

कास्की सेवा अस्पतालका प्रबन्ध निर्देशक डा. पदम खड्काका अनुसार गत आइतबार ती महिलालाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको थियो । ती महिला सुगर, प्रेसर, मुटुरोग र निमोनियाकी दीर्घरोगी थिइन् । ‘उपचारका लागि काठमाडौं जाने तयारी रहेछ । त्यही क्रममा पोखरामा उपचार गराउँदै गर्दा उनको कोरोना परीक्षण गरिएको हो,’ खड्काले भने, ‘तर राति नै उनको मृत्यु भयो । उनमा कोरोना पोजेटिभको रिपोर्ट भने मंगलबार बिहान मात्र आएको छ । उपचारका लागि अस्पताल ल्याउँदा ती महिलाको अवस्था गम्भीर थियो ।’ आइसियुमा राखेर उपचार गरे पनि सम्भव नभएको  खड्काले बताए ।

मृतक महिलाकी छोरीलाई पनि कोरोना संक्रमण देखिएको छ । बिरामी आमाको उपचारमा छोरी नै खटिएकी थिइन् । छोरीका अनुसार आमाले आठ वर्षदेखि मुटु रोगको औषधि खाइरहेकी थिइन् । सुगर, प्रेसरको औषधि पनि लामो समयदेखि खाइरहेको उनले बताइन् । ‘लकडाउनको बेलामा पनि आमाका लागि कुनै पनि औषधिको अभाव भएन,’ उनले भनिन, ‘हरेकपटक औषधि किन्दा एक महिनाका लागि किन्ने गरेकी थिए ।’ घरमा आमा छोरीमात्र बस्ने गरेको उनले बताइन् । ‘आमालाई कहाँबाट कोरोना स-यो भन्ने नै थाहा भएन,’ उनले भनिन्, ‘आमालाई दीर्घरोग त थियो, तर, मृत्युमा कोरोना कारक बनिदियो ।’

मंगलबार बिहान ज्यान गुमाएका पोखराका पुरुष पनि दीर्घरोगी थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक आचार्यका अनुसार गत आइतबार नै उच्च ज्वरो तथा स्वास प्रश्वासमा समस्या भई अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका थिए । ती पुरुषमा कोरोनासँगै उच्च रक्तचाप, मधुमेह र मिर्गाैलाको समस्या रहेको बताए । उनलाई सोमबारदेखि अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो । ‘आइसियुमा राखेर उपचार गराइरहँदा मंगलबार बिहान मृत्यु भएको हो,’ आचार्यले भने ।  

मृतक पुरुष ब्रिटिस सेनाको लेफ्टिनेन्ट पदबाट निबृत्त थिए । मृतकका ज्वाइँका अनुसार उनले मिर्गौलासँगै विभिन्न रोगको औषधि सेवन गरिरहेका थिए । ‘दिनमै बिहान बेलुकी इन्सुलिन दिनुपर्ने समस्या थियो । त्यस्तै मिर्गौलाका लागि पनि औषधि खाइरहनुभएको थियो,’ उनले भने, ‘९÷१० थरि औषधि दिनहुँ सेवन गर्नुहुन्थ्यो ।’ उनका अनुसार मृतकले करिब दुई दशकदेखि यी औषधि नियमित सेवन गरिरहेका थिए । ‘औषधिको अभाव थिएन । लकडाउनका बेला पनि उहाँले नियमित औषधि खानुभएको हो,’ उनले भने, ‘हरेक ३ महिनामा स्वास्थ्य परीक्षण गराइरहनुभएको थियो । लामो समयदेखि औषधि सेवन गर्दैगर्दा अहिले कोरोनाले ज्यान लियो ।’

ती वृद्धका छोरा थिएनन् । छोरीकै रेखदेखमा बस्दै आएका थिए । ‘हामीसँग बस्न थालेको पनि सातवर्ष भयो,’ उनले भने । वृद्धलाई कहाँबाट संक्रमण फैलियो भन्ने अझै खुलेको छैन । तर, नजिकैको किराना पसलमा किनमेल र गफिनका लागि निस्कने गर्दा वृद्धमा संक्रमण सरेको हुनसक्ने छिमेकीको आशंका छ । एकजना छिमेकीका अनुसार उनी नजिकैको पसलमा सामान किनमेल गर्न जाने गरेका थिए । सामान किन्न आउजाउ गर्ने क्रममा कोरोना सरेको आशंका गरिएको छिमेकीले बताए । यो समेत पोखरामा अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्यामा ५ पुगेको छ । पश्चिमाञ्चल अस्पतालमा मात्र चारजनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित: ३ भाद्र २०७७ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App