१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उद्घाटनको तीन महिना बित्यो, वीपीको कोभिड अस्पताल तयार भएन

दिनभरिमा आजै तयार हुन्छः रजिष्ट्रार

गत बैशाख १४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ अस्पताल सुरु भएको घोषणा गरेको थियो । सोही दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत अस्पताल निरीक्षणमा आएका थिए ।

प्रतिष्ठानले १० बेडको भेन्टिलेटरसहित आइसियु भएको सय बेड क्षमताको अस्पताल स्थापना गरेको जनाएको थियो । निक्कै तामझामका साथ शुरुवात घोषणा गरिएको वीपीको कोभिड १९ अस्पताल अहिलेसम्म सञ्चालन भने आएको छैन । यो अस्पतालमा अहिलेसम्म एक जना पनि कोरोना संक्रमित राखिएको छैन । सञ्चालन घोषणा गरेको तीन महिना बितिसक्दा पनि अस्पताल पूर्णरुपमा तयारी नभएको पाइएको छ । प्रतिष्ठानले पेइङ वार्डलाई आइसोलेसन बनाएर कोरोना पोजेटिभलाई राखिरहेको छ । सिकिस्त विरामीको लागि त्यही आइसियुको प्रबन्ध गरिएको प्रतिष्ठानको दाबी छ ।

सरकारले वीपीलाई लेभल ३(थ्री) अस्पताल घोषणा गरेको छ । यहाँ सिकिस्त र अप्रेशनसमेत गर्नुपर्ने खालका विरामीहरुलाई भर्ना गरेर उपचार सेवा प्रदान गर्ने यो अस्पतालको उद्देश्य हो । अहिलेसम्म प्रतिष्ठानको आइसोलेसनमा उपचारको क्रममा ४ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ३ जना पोजेटिभ हुन् भने एक जना मात्र पिसिआर नेगेटिभ विरामी हुन् । पछिल्लो समय लक्षण देखिएको र गम्भीर खालका विरामीहरु पनि आउन थालेकोले कोभिड अस्पताल पूर्ण क्षमतामा सुरु गर्नुपर्ने आवश्यकता भइसकेको प्रतिष्ठानकै एक चिकित्सक बताउँछन् । तर, अझै पनि यो अस्पताल तयारी हुन नसक्नु दुःखद भएको उनको भनाई  छ । ‘तीन महिना समय पर्याप्त पाएको हो, सरकारले बजेट पनि दिएकै हो, किन तयारी भएन बुझ्न गाह्रो भो,’ती चिकित्सक भन्छन् ।

पछिल्लो समय संक्रमितहरुको संख्या प्रदेश १ मा पनि बढ्दो छ । आइसोलेसन वार्डहरु संक्रमितहरुले भरिभराउ छन् । बिहीबार धरानका पोजेटिभ १३ जनालाई पनि वीपीको आइसोलेसनमा बेड अभावले समयमा नै लैजान सकिएन । त्यसैले १०० बेडको कोभिड १९ अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने दबाब प्रतिष्ठानका पदाधिकारीहरुलाई छ । तर, प्रतिष्ठानका चिकित्सकहरू भने कोभिड अस्पताल अरु जस्तो नभएकोले सम्पूर्ण तयारी गरेर मात्र विरामी राख्न सुरु गर्नुपर्ने बताउँछन् । 

‘यो अस्पताल अरु सामान्य जस्तो होइन । केही समस्या भयो भने बीच बीचमा गएर सुधार गर्न सकिदैन, प्राविधिक जादैनन्,’एक चिकित्सक भन्छन्,‘त्यसैले अझै समय लिएर भए पनि सबै तयारी गरौं, विरामी र स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षा हुने गरि मात्र चलाउनु उपयुक्त हुन्छ ।’ विगतका ३ महिनामा कोभिड अस्पताललाई प्राथमिकतामा राखेर गर्नुपर्ने काम हुन नसकेको उनको ठम्याई छ ।

प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी लकडाउनको कारण आवश्यक सामानहरु उपलब्ध हुन नसक्दा विगतमा तयारीमा ढिलाई भएको बताउँछन् । आज(बिहिबार) दिनभरिमा सबै तयारी गरेर विरामी राख्न सुरु गरिने उनको भनाई छ । ‘लकडाउनले गर्दा सप्लायर्सले टेण्डरबाट पनि सामानहरु ल्याउन नसक्ने अवस्था भयो, बजारमा सामान पनि छैन,’रजिष्ट्रार डा.रेग्मीले भने,‘कोरोना अस्पताल भएकोले सानो कुरामा पनि बेवास्ता गर्न मिल्दैन, बरु केही ढिलाई होस् भनेरै पर्खिएको हो तर आजै दिनभरिमा अस्पताल तयार हुन्छ, ९९ प्रतिशत पुरा भइसकेको छ ।’

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका कोभिड १९ अस्पताल शुरुवात नभएपनि कोरोना पोजेटिभ विरामीलाई उपचारमा समस्या नभएको दाबी गर्छन् । लक्षण नभएकाहरुलाई आइसोलेसनमा राखेर चौबिसै घण्टा सिसिटिभीले निगरानी गरिने, र कसैलाई लक्षण देखिएमा लेभल २ मा सारिने गरिएको उनले बताए । 

लेभल २ मा आइसियु नचाहिने तर लक्षण देखिने संक्रमितको लागि नियमित चिकित्सकहरुको राउण्ड हुने र नर्सिङ स्टेशन पनि सँगै हुने उनले बताए । ‘आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा लेभल ३ सेवा पनि उपलब्ध हुन्छ, चिकित्सक र नर्स चौबिसै घण्टा हुन्छ, डाइलाइसिस चाहिदा त्यो सुविधा पनि छ,’प्रवक्ता डा.सापकोटाले भने,‘९ जना जतिले यो सेवा पाइसकेका छन् ।’

प्रकाशित: २२ श्रावण २०७७ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App