२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पिसिआर परीक्षण बढाउन माग गर्दै कारागारमा आन्दोलन

कोरोना भाइरस परीक्षणका लागि पिसिआरको मात्रा बढाउनुपर्ने माग गर्दै नेपालगन्ज कारागारका कैदीबन्दीले आन्दोलन गरेका छन्। कारागारभित्र रहेका कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन गरेका हुन्। भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको पिसिआर परीक्षणका क्रममा कारागारका ७ जना कैदीबन्दीमा कोरोना भाइरस देखिएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले कैदी बन्दीले पिसिआर परीक्षण गर्नुपर्ने माग राखेर ‘हल्ला खल्ला’ गरेको बताए।

उनका अनुसार कारागारमा ७ सय ४५ जना पुरुष र ४७ जना महिला कैदीबन्दी छन्। उनीहरूले उठाएका माग सम्बोधन गर्न आवश्यक छलफल भइरहेको प्रजिअ कुरुङवाङले बताए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) ओम रानाले कैदीबन्दीले पिसिआर परीक्षण गर्नुपर्ने माग गरेपछि सुरक्षा निकायका प्रमुखबीच छलफल चलिरहेको बताए। ‘कैदीबन्दीले पिसिआर परीक्षण गर्नुपर्ने माग उठाएका छन्, उनीहरूको परीक्षण कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ रानाले भने। कोरोना संक्रमित कैदीबन्दीलाई बाँकेको खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसन सेन्टरमा राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

कार्यालयका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले ७ जना कैदीबन्दीलाई हाल कृषि तालिम केन्द्रको आइसोलेसनमा राखिएको र बाँकेको नौवस्तास्थित निर्माणाधीन क्षेत्रीय कारागारमा आइसोलेसन सेन्टर स्थापना गरी उतै स्थानान्तरण गरिने बताए।

प्रकाशित: २२ श्रावण २०७७ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App