१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना मृत्यु अभिलेख संख्या छ, पहिचान छैन

साउनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकपछि अर्को गरी थपिने क्रम बढ्दो छ। सार्वजनिक अभिलेखअनुसार मृतकहरूको विस्तृत पहिचान खुल्दैन, खालि पहिलेको संख्यामा आएर जोडिने मात्रै हुन्छ। यति वर्षकी महिला र यति वर्षका पुरुष भनेर उमेर र लिंगसम्म भने छुट्ट्याइएको हुन्छ।

वीरगन्जमा साउनयता मात्र बेनामे मृत संक्रमितको संख्या १३ पुगेको छ। त्यसमा एक भारतीय नागरिक छन्। संख्या मात्र बन्ने ती मृतक सामान्य मानिस नै हुन्, जसका परिवारजन, इष्टमित्र, सामाजिक जीवन, पेसा–व्यवसाय, आकांक्षा, व्यक्तिगत योजना अनि दुःखसुख हुन्छन्। तर कोरोना संक्रमणका कारण मृत्यु भएपछि ती सबै कुरा गौण बन्ने गरेको छ।  

साउनअघि वीरगन्जमा कोरोनाका कारण मृत्यु हुने चारजना थिए। तीमध्ये बाराका दुई र रौतहटका एक गरी तीनजनाको बेग्लाबेग्लै अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने एकजनाको ठेगाना खुलेको थिएन। अहिले लक्षणसहितको कोरोना संक्रमित देखिन थालेपछि मृतकको संख्या बढिरहेको हो। वीरगन्जमा पहिलोपटक कोरोना संक्रमणको घटना गत चैत ३० गते फेला परेको थियो। त्यतिबेला चारजना भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणको घटना बढ्दै गएर वैशाखको अन्तिमसम्म सय नाघेको थियो। संक्रमितको सम्पर्कमा आएकाहरूको ट्र्याकिङ तथा टेस्टिङ भएर यहाँ कोरोना संक्रमित बढे पनि अवस्था नियन्त्रित थियो। लक्षणबिनाका संक्रमित भएकाले मृत्युको घटना पनि देखिएको थिएन। संक्रमणमुक्त हुँदै उनीहरू निस्किएपछि जेठ १४ गतेसम्म वीरगन्जको नारायणी कोरोना अस्पताल खाली नै भएको थियो। असार अन्तिममा वीरगन्जको अस्थायी कोरोना अस्पतालमा पर्साका दुई संक्रमित मात्रै थिए।

मध्य असारदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’ बाहेकको परीक्षण बन्द गरिएको थियो । त्यतिबेलै सरकारले सशुल्क पिसिआर परीक्षण गर्न सकिने व्यवस्था ग-यो। त्यसपछि वीरगन्जमा परीक्षण गराउनेको संख्या ह्वात्तै बढ्यो । लक्षणसहितको संक्रमितहरू बढेपछि मृत्युको संख्यासमेत बढेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।  

यस्ता छन् मृतक  
मृतकहरू लक्षणयुक्त संक्रमित नै  हुन्। प्रायजसोमा कोरोनाबाहेक अन्य बिरामीको पृष्ठभूमि पनि जोडिएको छ। नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका लागि भर्ना गरिएका वीरगन्ज–६ माईस्थानका ६० वर्षीय वृद्धको साउन ६ मा मृत्यु भएको थियो। उनको पहिलेदेखि मुटुरोग रहेको चिकित्सकले बताए। अर्को दिन आएको पिसिआर परीक्षण रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि साउन ८ गते नेपाली सेनाले उनको सद्गत गरेको थियो। सोही अस्पतालमै भर्ना गरिएकी वीरगन्ज–११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको अर्को दिन साउन ९ गते मृत्यु भयो। वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएकी उनी पहिलेदेखि मुटुरोगी थिइन्। निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। कोरोना अस्पतलाको आइसियु कक्षमै उनकोे मृत्यु भएको थियो। चार दिनको अन्तरालमा भएको दुई मृत्युले वीरगन्जमा सनसनी फैलियो। तर सरकारले लकडाउन फिर्ता लिइसकेका कारण बहुसंख्यक मानिस संक्रमणको बढ्दो जोखिम रहेको खतराबारे भेउ नै पाएनन्।

साउन ९ गते साँझ ५ बजे वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी एक युवतीको मृत्यु भयो। त्यसको दुई दिनअघि वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा उनलाई भर्ना गरिएको थियो। आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई अस्थायी कोरोना अस्पताल पठाइएको थियो। स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट नआउँदै उनको मृत्यु भयो। पछि रिपोर्ट पोजेटिभ आयो।  

साउन १४ गते एकै दिन पर्सामा थप दुई संक्रमितको मृत्यु भयो। एकजनाको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा र अर्कोको वीरगन्ज भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको चिकित्सकले पुष्टि गरे। वीरगन्ज रेशमकोटीका ६८ वर्षीय एक संक्रमित वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलमा भर्ना भएकोमा श्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब परीक्षणमा कोरोना पुष्टि भएको थियो। गण्डकस्थित कोभिड अस्पतालमा ६ दिनदेखि उपचार गराइरहेको अवस्थामा साउन ८ गते उनको मृत्यु भयो। वृद्धमा पहिलोदेखि मुटुरोग थियो। त्यस्तै झाडापाखालाको उपचारका लागि मेडिकल कलेज पुगेका ७१ वर्षीय पुरुषको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट नआउँदै साउन १४ गते उनको मृत्यु भयो। सोही दिन साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ भेंटिएको उनको पहिलेदेखि मिर्गौलामा समस्या थियो।

साउन १५ मा एकै दिन जगदम्बा इन्टरप्राइजेजका सिइओसहित तीनजनाको मृत्यु भयो। गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत भारतीय नागरिक ५६ वर्षीय ती सिइओसहित वीरगन्ज–१६ का ३५ वर्षीय र वडा २ छप्कैयाका ६५ वर्षीय पुरुषको मृत्यु भयो। राति साढे ११ बजे मृत्यु भएका सिइओमा मुुटुसम्बन्धी रोग भएकाले उनको पहिल्यै ‘बाइपास अप्रेसन’ भएको थियो। संक्रमण पुष्टि भएपछि साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका उनको शरीरमा अक्सिजनको मात्रा घटेपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भयो। सोही साँझ करिब ८ बजे वीरगन्ज–१६ नगवा घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको थियो। मृत्युपछि राति उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। बिहान वीरगन्ज–२ छपकैयास्थित आफ्नो घरमै मृत्यु भएका ६५ वर्षीय पुरुषको नारायणी अस्पतालको टोलीले थ्रोट स्वाब संकलन गरेको थियो। राति रिपोर्ट पोजेटिभ आयो।

साउन १६ गते वीरगन्जमा कोरोना संक्रमणले ५० वर्षीया महिलाको मृत्यु भयो। वीरगन्ज–१६ नगावा निवासी ती महिला निमोनियाले ग्रसित भएर उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। नारायणी वयोधा अस्पतालमा उपचारका क्रममै मृत्यु भएकी तिनमा पनि कोरोना पुष्टि भयो। रिपोर्ट राति ११ बजे आएको थियो। त्यतिबेला तीन महिलासहित ६४ जनामा संक्रमण भएको उल्लेख थियो।  

बुधबार मात्रै पर्सामा एक महिला र एक पुरुष गरी दुईजनाको मृत्यु भएको छ। मृत्यु हुने १८ वर्षीया युवती पोखरिया नगरपालिका–९ बार्वास्थित मामाघरमा बस्दै आएकी थिइन्। सोमबार राति बान्ता हुन थालेपछि उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्जमा लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको चिकित्सकले बताएका छन्। उनको स्वाब संकलन गरी नारायणी अस्पतालमा पठाइएको थियो। मंगलबार राति पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए। त्यस्तै अर्का एक ४५ वर्षीय पुरुषका उपचारका क्रममा कोरोना संक्रमणले मृत्यु भएको छ। मृतक वीरगन्ज भेंडियाहीस्थित नेसनल मेडिकल कलेज वीरगन्जमा कार्यरत कर्मचारी थिए। बुधबार बिहान वीरगन्ज हेल्थ केयरमा रहेको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको डा. उदयनारायण सिंहले जानकारी दिए। मंगलबार उनको स्वाब संकलन गरी मंगलबार नारायणी अस्पताल पठाइएको थियो र रिपोर्टमा कोरोना पुष्टि भएको छ। चिकित्सकका अनुसार मृतक पहिलेदेखि नै मधुमेह तथा मुटुरोगी थिए। स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेसनल मेडिकल कलेजमै भर्ना गरिएका उनलाई कोरोना संक्रमण पुष्टिपछि मंगलबार राति वीरगन्ज हेल्थ केयरमा रहेको नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याइएको थियो।  

वीरगन्जमा लक्षणयुक्त कोरोना संक्रमितको संख्या बढ्दै गए पनि उपचारको साधन सीमित छ। एक साताअगाडि सय शड्ढयाको अर्को कोभिड अस्पताल वीगन्ज हेल्थ केयरमा थपिएको थियो। त्यसअघि वीरगन्जमा ५० शड्ढयाको गण्डक अस्पतालमा कोरोनाको उपचार व्यवस्था थियो। त्यहाँ तीनवटा भेन्टिलेटर मात्र छन्। ती सबैले काम नगर्ने बताइन्छ। साधन अभावले पनि संक्रमितको ज्यान गइरहेको चिकित्सकहरू बताउँछन्। त्यस्तै वीरगन्जमा डाक्टर र स्वास्थ्यकर्मी गरी ३० जनाभन्दा बढी संक्रमित भएपछि उपचार गर्ने जनशक्तिमै भय सिर्जना भएको छ। मानिसको ज्यान जोखिममा रहेका बेला केन्द्र र प्रदेश सरकारले वास्ता नगरेको भनी जनमानसमा असन्तोष देखिएको छ। डा. निरज सिंहका अनुसार शव उठाउन एम्बुलेन्स चालक तयार भइरहेका छैनन्। त्यस्तै शवको सद्गत गर्न जाँदा समुदायबाट विरोधका घटना पनि दोहोरिएका छन्। पर्सामा साउन लागेपछि यीसहित १३ जनाको मृत्यु भइसकेको छ। साउनअघि चारजनाको मृत्यु भएको थियो।

पहिलो चरणका चार मृतक  
सुरुमा वीरगन्जमा मृत्यु भएका कोरोना संक्रमित अरू जिल्लाका थिए। जेठ ३१ मा रौतहटका एक ३६ वर्षीय युवकको मृत्यु भयो। मृत्युभन्दा एक साताअघि मात्र उनी कोरोनाबाट भारतको बैंगलोरमा मृत्यु भएका भाइको सद्गत गरेर फर्किएका थिए। उनी रौतहटको परोहा नगरपालिका–७ मा आई क्वारेन्टिनमा बसेका थिए। बिरामी भएपछि वीरगन्ज ल्याइएका उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको थियो।  

जेठ ३० गते भने बाराको निजगढ घर भएका पाँच वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भयो। कोरोनाको लक्षण देखिएका उनको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो। त्यसअघि जेठ २८ गते वीरगन्जको घन्टाघरनजिकै अन्दाजी ३० वर्षका एक पुरुष मृत फेला परेका थिए। नारायणी अस्पतालमा शव सुरक्षित राखी स्वाब परीक्षण गरिँदा कोरोना संक्रमण पुष्टि भयो। जेठकै ४ गते मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो। वीरगन्ज १५ भेडियाहीस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भई अन्तिम संस्कार गरिसकिएका बारा करैया गाउँपालिका–७ घर भएका बिरामीको दुईपटक परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

प्रकाशित: २२ श्रावण २०७७ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App