१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रुसले कोरोनाविरुद्ध ल्याउन लागेको खोपप्रति डब्लुएचओको असन्तुष्टि

प्रतिकात्मक तस्बिर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले तयार पार्ने भनेको कोरोनाविरुद्ध खोपप्रति शंका व्यक्त गरेको छ । रुसले आगामी अक्टोबरदेखि खोपको उत्पादन गर्ने भनेको छ ।  

डब्लुएचओका अनुसार खोप उत्पादनका लागि धेरै दिशानिर्देश बनाइएको छ । डब्लुएचओका प्रवक्ता क्रिस्टियन लिन्डमियरले यूएन प्रेस ब्रिफिङका क्रममा भने, ‘सुरक्षित खोपका लागि धेरै नियम एवं दिशानिर्देश बनाइएको छ । जसको पालना गर्न जरुरी छ । किनभने खोप वा कुनै उपचार कति प्रभावकारी वा कुन रोगविरुद्ध मद्दत गर्न सक्छ भन्ने थाहा पाउनुपर्ने हुन्छ ।’

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले शनिबार आफ्नो देशले अक्टोबरमा कोरोनाविरुद्ध ठूलो मात्रामा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएका छन् । पत्रकारसँगको कुराकानीमा उनले खोप लगाएबापत कुनै शुल्क नलिइने र पहिले चिकित्सक र शिक्षकलाई लगाइने बताएका छन् ।  स्वास्थ्यमन्त्री मुरास्कोले उत्पादनका साथसाथै खोपको क्लिनिकल ट्रायल पनि जारी राखिने र यसलाई उपयोगी बनाउने प्रयास गरिने दाबी गरेका छन्। 

तर डब्लुएचओका प्रवक्ता लिन्डिमियरले यो कुराप्रति आशंका व्यक्त गरेका छन् । उनले भने, ‘जब यस्तो खबर आउँछ वा यस्तो कदम चालिन्छ तब हामी सावधान हुन जरुरी छ । सतर्कताका साथ यस्ता खबरका सत्यतथ्य केलाउनुपर्छ ।  

उनका अनुसार कुनै अनुसन्धानकर्ताले औषधि/उपचार पत्ता लगाएको दाबी गर्नु निश्चय पनि राम्रो खबर हो तर त्यस्तो औषधि वा खोप प्रभावकारी छ भन्ने संकेत पाउनु र त्यसका सबै परीक्षण प्रक्रिया पूरा गर्नुमा धेरै भिन्नता हुन्छ । उनले भने, ‘हामीले आधिकारिक रूपमा त्यस्तो केही जानकारी पाउन सकेका छैनौं । यदि आधिकारिक रूपमा त्यस्तो केही काम भएको भए युरोमा रहेका हाम्रा कार्यालयले निश्चित रूपमा त्यसमा ध्यान दिनेछन् ।’

उनका अनुसार दिशानिर्देश पालना गरियो भने मात्र हामी कुनै औषधि वा खोपको कुनै साइडइफेक्ट छ वा फाइदाभन्दा बढी हानि पो छ कि भन्ने कुरा थाहा पाउन सक्छौं ।  

डब्लुएचओले आफ्नो वेबसाइटमा क्लिनिकल ट्रायलको चरणमा रहेका २५ वटा खोपलाई सूचीमा राखेको छ । अन्य १३९ खोप भने प्रि–क्लिनिकल ट्रायलको चरणमा छन् ।  

प्रकाशित: २१ श्रावण २०७७ ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App