२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘विश्वलाई आश्चर्यचकित पार्ने गरी कोरोनाविरुद्ध खोप ल्याउने रुसको तयारी’

खाेपकाे फाइल तस्बिर

रुसले अबको दुई साताभित्रै सर्वसाधारणको प्रयोगका लागि कोरोनाविरुद्धको खोप तयार पार्ने त्यहाँका अधिकारीले दाबी गरेका छन् ।  

विश्वमा कोरोनाविरुद्धको खोप तयार पार्ने पहिलो देश बन्ने गरी अबको दुई साताभित्रै खोपलाई आधिकारिता दिने तयारी भइरहेको उनीहरूले बताएका छन् ।  

तर खोपले सबै प्रक्रिया पूरा गरेको वा नगरेको तथा खोप कति सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा भने अझै जिज्ञासा बाँकी रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।  

मस्कोस्थित गामेल्या इन्स्टिच्युटले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आउने अगस्ट १० वा त्यसभन्दा अघि नै स्वीकृति प्रदान गर्ने  गरी काम भइरहेको रुसी अधिकारीले सिएनएनसँग बताएका छन् । उनीहरूका अनुसार त्यसपछि खोप सर्वसाधारणलाई लगाइनेछ ।  

यो खोप उत्पादनमा रुसको सोभरेन वेल्थ फन्डले लगानी गरेको छ । यसका प्रमुख किरिल डेमीट्रिभले रुसले सबैभन्दा पहिले खोप तयार पारेर विश्वलाई आश्चर्यचकित बनाउने दाबी गरेका छन् ।  

तर रुसले खोप परीक्षणबारे कुनै वैज्ञानिक तथ्य  सार्वजनिक गरेको छैन । तसर्थ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस विषयमा प्रश्न उठाइरहेका छन् । कतिपय आलोचकले खोपको मानवीय परीक्षण पूरा नभएको आरोपसमेत लगाइरहेका छन् ।  

विश्वमा अहिले कोरोनाविरुद्ध विभिन्न देशमा दर्जनौं खोपको परीक्षण जारी छ । तर अहिलेसम्म यसको चरण पूरा भइसकेको छैन । खोप विकास भए पनि आम प्रयोगमा ल्याउन त्यसले विभिन्न परीक्षणको चरण पार गर्नुपर्ने हुन्छ ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि अर्काे वर्ष (सन् २०२१) यता कोरोनाविरुद्धको खोप आम प्रयोगका लागि तयार हुन सम्भव नदेखिएको बताइसकेको छ ।  

प्रकाशित: १४ श्रावण २०७७ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App