२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा एकैदिन ५३ संक्रमित

कोरोनाबाट मृत्यु हुने ४९ पुगे

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। यही साउन ९ गते मृत्यु भएका बझाङका ६५ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि मृतक संख्या ४९ पुगेको जानकारी मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको हो।

भारतको बेगंलोरबाट फर्केका ती पुरुष स्थानीय सरकारले व्यवस्था गरेको क्वारेन्टिनमा १४ दिन बसेर घर गएका थिए। उनको घरमै मृत्यु भएको हो। क्वारेन्टिनमा ती पुरुषको कोरोना परीक्षण गरिएको थिएन। मृत्युपछि मात्र कोरोना परीक्षण गरिएको हो।  

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं  उपत्यकाका ५३ सहित ३ सय ११ जनामा कोरोना संक्रमण भएको छ। पाँच हजार ३२ वटा नमुना परीक्षण गर्दा ३ सय ११ जनामा संक्रमण देखिएको हो। योसहित मुलुकमा कुल संक्रमित संख्या १९ हजार ६३ पुगेको छ।  

विगत केही दिनको तुलनामा मंगलबार ५० प्रतिशत बढी अर्थात् ६.१८ प्रतिशतले कोरोना संक्रमण दर बढेको मन्त्रालयले जनाएको छ। सोमबार यो वृद्धि दर ३.४ प्रतिशत थियो।  

कुल संक्रमितमध्ये पछिल्लो चौबीस घण्टामा १ सय २१ जना निको भएका छन्। योसहित कुल निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ।  

मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका १ जनामासंक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारी, भारत, तराईमा घर भई काठमाडौं बस्नेलगात रहेकोे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। यसैगरी उपत्यका बाहिर डोटी, कपिलबस्तु स्याङ्जा, कैलाली, मोरङ, पर्सागायत जिल्लामा नयाँ संक्रमित देखिएका छन्। डोटीमा ५८, कपिलबस्तुमा ३४, स्याङजा र कैलालीमा १८, मोरङमा १६, पर्सामा १५ जना संक्रमित थपिएका छन्। मन्त्रालयको तथ्यांक अनुसार विगत तीन सातादेखि घट्दै गएको संक्रमणदर पुनः वृद्धि भएको देखिन्छ। पछिल्लो साता दैनिकजसो संक्रमितको मृत्यु हुनु, विभिन्न ठाउँमा सामूहिक रुमपा संक्रमित भेटिनु र ट्राभल हिस्ट्रीसमेत नभएकामा संक्रमण पाइनुले संक्रमण ठाउँ विशेषमा समुदाय तहमा फैलिएको विज्ञहरुले जनाएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयमा बसेको विज्ञ बैठकमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिले ठाउँ विशेषमा समुदाय स्तरमा संक्रमण फैलिएको बताएका थिए। नेपाली विज्ञले पनि नेपालमा संक्रमण चरण समुदाय तहमै पुगेको दाबी गरेका थिए।  

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले काठमाडाैं उपत्यकामा संक्रमण समुदाय तहमा पुगेको बताए। ‘बानेश्वरका कोरोना संक्रमित मृतकको कुनै ट्राभल हिस्ट्री थिएन, यस्ता अन्य केस पनि छन्, यस्तो हुनु भनेकै कोरोना समुदाय स्तरमा छ भन्ने प्रमाण हो’, मरासिनीले मंगलबार भने।  

संक्रमण दर वृद्धि हुँदै जानु र तराईका जिल्लामा ट्राभल हिस्ट्री नभएकामा समेत कोरोना संक्रमण देखिनुले जोखिमबढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए। उनले यस्तो अवस्थामा सबै ठाउँमा सरकारले संक्रमण रोक्न नसक्ने भएकाले हरेक व्यक्ति सचेत हुनुपर्ने बताए। ‘सरकारले लकडाउन खोलेर गरी खानु भनेको छ तर सामूहिक रुपमा रेष्टुरेन्टमा गएर खाएर संक्रमित भए सरकारले रोक्न सक्दैन’, उनले भने।  

सोही अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले नेपालमा ठाउँ विशेषमा समुदायमै कोरोना फैलिरहेको स्थिति रहेकाले सचेत हुन आग्रह गरे। डा. पुनका अनुसार प्रदेश २ का संक्रमितको स्थिति हेर्दा जोखिम थप बढेको छ। संक्रमित अन्यत्र जाने, प्रदेशमा क्वारेन्टिनको उचित प्रबन्ध नहुनु र आवतजावत बढ्नुले सबैतिर संक्रमण फैलिने जोखिम बढेको छ। सरकारले जोखिममा रहेका समूहको छिटो पहिचानका लागि परीक्षण दायरा बढाउनुपर्ने उनको सुझाव  छ।  

डा. मरासिनीका अनुसार प्रदेश २ का  जिल्लाको सीमा भारतसँग जोडिएको र यताउता गर्ने क्रम बढ्दा संक्रमण फैलिएको हो। ‘खुला सिमाना चुनौती बनेको छ,’ उनले भने। ‘संक्रमण फैलिन नदिन नागरिकले सरकारले भनेका कुरा पालना गरिदिने, सामूहिक भेटघाट नगर्ने  र मास्क मात्र लगाइदिने हो भने पनि धेरै हदसम्म बच्न सकिन्छ’, उनले भने, ‘सरकारले सुरक्षा मापदण्ड कडाइ साथ पालना गराउनुप¥यो र परीक्षण दायरा पनि बढाउनुप-यो,’ उनले भने।  

स्वास्थ्य मन्त्रालयले पनि नागरिकलाई सुरक्षा मापदण्ड अपनाउन अनुरोध गरेको छ। सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कँदा र कसैसँग भेट्दा मास्क लगाउने र पटकपटक साबुनपानीले हात धुँदा संक्रमणबाट जोगिन सकिन्छ। त्यस्तै संक्रमणबाट जोगिन सार्वजनिक शौचालय तथा कार्यालयका ढोकाका चुक्कुल तथा टेबुललाई निसंक्रमण गर्ने, बैठक नबस्ने, हात धुनुअघि नाक, मुख तथा अनुहार नछुने जस्ता उपाय अपनाउन सकिन्छ।

प्रकाशित: १४ श्रावण २०७७ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App