८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

'खुकुलोपनाले भाइरस फैलिन सक्छ'

समुदाय परिचालन र सशक्तीकरण महत्वपूर्ण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) की प्रमुख वैज्ञानिक डा. सौम्य स्वामीनाथनले लकडाउन खुकुलो भएसँगै भाइरस संक्रमण झन् बढ्ने बताएकी छन्। नेपालले मंगलबार मध्यरातदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ।  

‘जतिबेला तपाईं लकडाउन खुला गर्नुहुन्छ, त्यतिबेला भाइरसले  संक्रमणको थप मौका पाउँछ,’ अस्ट्रेलियाका मोनास विश्व विद्यालयद्वारा मंगलबार साँझ आयोजित सेमिनारमा बोल्दै डा. स्वामिनाथनले भनिन्। लकडाउन भाइरस संक्रमण रोक्ने एउटा ‘अस्थायी विराम’ भएको तर्क गर्दै उनले कोरोना भाइरस संक्रमण रोकथामका लागि अझै धेरै समय लाग्ने बताइन्। ‘अबको प्राथमिकता व्यापक परीक्षण, समुदायको परिचालन एवं सहभागिता हो। सबै राष्ट्रले व्यक्तिगत सुरक्षा सामग्रीको उपलब्धता र यथेष्ट जनशक्तिको  व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।’  

स्वास्थ्य सेवा प्रणाली कमजोर भएका देशले संक्रामक रोगको उपचारमा भन्दा रोकथाममा बढी जोड दिनुपर्ने बताउँदै उनले भनिन्, ‘भेन्टिलेटर र संघन उपचार कक्षको व्यवस्थापन  महत्वपूर्ण त हो, तर तिनको जोगाडमा दौडनुभन्दा हामीले क्वारेन्टिन सेन्टर, अक्सिजन, समुदायको शिक्षा र परिचालन, जनस्वास्थ्यमा सुशासन तथा तथ्यांक व्यवस्थापनमा ध्यान दिन जरुरी छ।’

डब्लुएचओले विश्वभर कोरोना नियन्त्रणमा आउनुअघि अझै विकराल रूपमा फैलने बताउँदै आएको छ। बुधबारसम्म विश्वभरमा झन्डै डेढ करोड भाइरसबाट संक्रमित छन् भने ६ लाख १७ हजारको मृत्यु भइसकेको छ। भाइरस संक्रमणका हिसाबले हाल अमेरिका, ब्राजिल, भारत, रुस, दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित छन्।  

भ्याक्सिन २०२१ मा मात्र उपलब्ध  

डा. स्वामिनाथनले सामान्यतः कुनै पनि रोगको भ्याक्सिन विकास गर्न ५ देखि १० वर्ष लाग्ने र कम आय भएका देशसम्म भ्याक्सिन पुग्न थप १० वर्षसम्म लाग्ने गरेको देखिएको बताइन्। उनले जिका भ्याक्सिन २ वर्षमा र इबोला भ्याक्सिन ५ वर्षमै विकास गरिएको रेकर्ड रहेको प्रंसगसमेत उद्धृत गर्दै भनिन्, ‘कोभिड–१९ को सन्दर्भमा हामीसँग त्यति धेरै समय छैन। सन् २०२१ को मध्यसम्म मानव प्रयोजनका लागि भ्याक्सिन विकास भइसक्नेछ।’  

उनले कोरोना भाइरसको भ्याक्सिन विकासमा विभिन्न देश, निकाय, वैज्ञानिक समुदाय, नागरिक समाज तथा निजी क्षेत्रको समेत अभूतपूर्व सहकार्य भइरहेको दाबी गरिन्। डब्लुएचओले कोभिड–१९ विरुद्ध लड्न आर्थिक सहयोग जुटाउन अप्रिलको अन्तमा ‘एक्ट एक्सलेटर’ नामक सामूहिक अभियान सुरु गरेको थियो। जसअन्तर्गत ३१ अर्ब अमेरिकी डलरको योगदानमा आधारित कोष स्थापना गर्ने लक्ष्य थियो तर अपेक्षित तबरले यो कोषमा पैसा जम्मा हुन सकेको छैन।  

डा. स्वामिनाथनले भ्याक्सिनको विकास भइसकेपछि त्यसको न्यायोचित र निष्पक्ष वितरण अत्यन्त महत्वपूर्ण हुने बताउँदै भनिन्, ‘उच्च आय भएका मुलुकले भ्याक्सिन पाउने र निम्न आय भएकाले कुरेर बस्नुपर्ने स्थिति हुनेछैन।’

‘हामीले यसका लागि गृहकार्य गर्दै छौं र संयन्त्रको निर्माण गर्दैे छौं,’ उनले थपिन्, ‘जसले भ्याक्सिन कसले र कहिले पाउने भन्ने कुरालाई थप प्रस्ट पार्नेछ।’ 

प्रकाशित: ८ श्रावण २०७७ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App