८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

छालामा सेनिटाइजरको जोखिम

सेनिटाइजरको प्रयोगका फाइदा हुँदाहुँदै पनि यसले छालामा असर गर्ने चिकित्सक बताउँछन्।   सेनिटाइजरको प्रयोगले छाला सुख्खा हुने, खस्रो हुने, चिलाउने, रातो हुनेजस्ता समस्या हुन सक्छन्। सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) डा. रविन्द्र शर्मा सेनिटाइजरको प्रयोगले छालामा फोका आउने, कत्ला हुने जस्ता समस्याको जोखिम हुने बताउँछन्। यस्तो अवस्थामा कन्याउँदा घाउ भई छालामा संक्रमणको जोखिम त्यत्तिकै हुन्छ।  

पहिल्यै छालाको एलर्जी भएका व्यक्तिलाई एलर्जी बढ्ने जोखिम हुन्छ। इक्जिमा जस्तो छालाको दीर्घकालीन एलर्जीको समस्या भएका व्यक्तिको छालामा सेनिटाइजर परेको खण्डमा एलर्जी बढ्न सक्ने एस्थेभा स्किन क्लिनिककी छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवालीले बताइन्। डा. ज्ञवाली भन्छिन्, ‘लामो समयसम्म सेनिटाइजरको प्रयोग गर्नाले छाला कमजोर हुँदै जाँदा छाला भित्र किटाणु छिरी एजर्ली देखिन सक्छ।’ तर, दुबी जस्तो छालै सेतो हुने समस्या भने नहुने उनको तर्क छ।  

त्यसो त छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.जेबिना लामा पनि अल्कोहलको कारण छाला सुख्खा, छालामा एलर्जी आउन सक्ने बताउँछिन्। डा. लामा भन्छिन्, ‘सेनिटाइजरको प्रयोग धेरै गर्दा छाला चाउरिपर्ने, कडा हुने समस्या देखिन्छ।’

त्यसैगरी प्रसूति गृहका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राडा. गेहनाथ बराल पनि सेनिटाइजरका केही नकारात्मक असर हुने बताउँछन्। डा. बराल गर्भवती महिला तथा बालबालिकाले मात्रा मिलाएर तयार गरिएको सेनिटाइजर प्रयोग गर्न मिल्ने भए पनि सचेत भएर प्रयोग गर्न सुझाउँछन्। डा. बरालले भने, ‘यसको दीर्घकालीन असर नभए पनि आँखा, मुख र नाकमा प-यो भने पोल्छ।’  

त्यसैगरी यसको प्रयोग सही तरिकाले नहुँदा आँखा बिझाउने, रातो हुने, मुख चिलाउने, भमिट हुने, पेट दुख्नेजस्ता समस्याको जोखिम हुन्छ। समस्याले कडा रुप लिएको अवस्थामा श्वासप्रश्वास कमजोर हुने, काप्ने र अवस्था जटिल बन्दै गए कोमामा जानेसम्मको अवस्था निम्तिन सक्नेतर्फ डा. शर्मा सजग गराउँछन्।

सेनिटाइजर बालबालिकको सम्पर्कबाट टाढा राख्नुपर्छ। बालबालिकाले निलेको खण्डमा असर हुन्छ। सेनिटाइजर हातमा लगाएर आगोको नजिक जाँदा जल्ने जोखिम पनि त्यत्तिकै हुन्छ।  

ह्याण्ड सेनिटाइजरको प्रयोगले हातमा रहेका फोहोर तत्व बगेर नजाने भएकाले सेनिटाइजरको प्रयोग गरे पनि साबुन पानीले हात सफा गर्नुपर्ने हुन्छ।  

तर, मात्रा मिलाएर तयार गरिएको सेनिटाइजरले दीर्घकालीन असर भने नगर्नेतर्फ चिकित्सकको एक मत छ। डा. लामाले भनिन्, ‘सेनिटाइजरको प्रयोगले छालामा दीर्घकालीन असर भने हुँदैन।’

किन प्रयोग गर्ने ?

सेनिटाइजरमा ६० प्रतिशतभन्दा माथि अल्कोहलको मात्रा हुन आवश्यक हुन्छ। सेनिटाइजर प्रयोग गरिसकेपछि करिब २० सेकेण्ड रहनुपर्ने हुन्छ। सेनिटाइजर प्रयोग गरिसकेपछि उडेर सुख्खा हुन दिनुपर्ने चिकित्सक बताउँछन्। करिब ३० सेकेण्डमा उडिसक्छ।  

सेनिटाइजरको प्रयोगले शरीरको बाहिरी सतहमा हुने जीवाणु र किटाणु मार्छ। त्यसैले शरीरको छालामा टाँसिएर सर्नसक्ने कोरोना भाइरसरबाट बच्नका लागि यसको प्रयोग गरिन्छ।  

संक्रमणको यस्तो महामारीको अवस्थामा प्रत्येक एक घण्टामा सेनिटाइजर लगाउनु उचित हुने डा. शर्माको सुझाव छ। शंकास्पद भाइरस संक्रमित व्यक्ति तथा सामान छोइसकेपछि तुरुन्तै सेनिटाइजरको प्रयोग गर्नु पर्छ। सेनिटाइजर धेरै दल्न पनि आवश्यक हुन्न। हात भिज्ने गरी करिब दुई एमएल सेनिटाइजर लगाउन सकिने चिकित्सकको सुझाव छ।  

बोक्न सजिलो, जहाँसुकै प्रयोग गर्न सकिने, सहज उपलब्धताका कारण सेनिटाइजरको प्रयोग गरिन्छ। त्यसो त साबुनमा हुने अल्कालाइन तत्वले भाइरसको बाहिरी तत्व मार्नुका साथै अन्य किटाणु बगाउने डा. शर्मा बताउँछन्। त्यसैले डा. ज्ञवाली पनि सकेसम्म साबुन पानीकै प्रयोग गर्न सुझाउँछिन्। नरम किसिमको साबुन प्रयोग गर्न चिकित्सकको सुझाव छ।  

अर्काेतर्फ साबुनपानीले सफा गर्दा शरीरको बाहिरी सतहमा भएका सबै किटाणु बगाउँछ नै भन्ने हुन्न। यस्तो अवस्थामा सेनिटाइजरको प्रयोग गर्नुपर्ने हुन्छ।  

चिकित्सकका अनुसार सेनिटाइजर र साबुन पानी दुवैको आ–आफ्नै काम भएकाले साबुन पानी र सेनिटाइजरको प्रयोग गनुपर्ने हुन्छ। सजिलोका लागि साबुन पानीको उलब्धता नहुने अवस्थामा सेनिटाइजर नै प्रयोग गर्नुपर्ने हुन्छ।  

त्यसो त सेनिटाइजरको प्रयोगले क्लोस्ट्रिडियुम ब्याक्टेरिया र नोराभाइरस मार्न सक्दैन। यस्ता ब्याक्टेरिया र भाइरस सफा गर्नका लागि साबुन–पानी नै प्रयोग गर्नु उपयुक्त हुने डा. शर्माको सुझाव छ।  

सही मात्राले मुलायम

सही मात्रामा गिलसिरिङ र एलोभेरा मिसाएर तयार गरिएको सेनिटाइजर छालाका लागि लाभदायक हुने चिकित्सक बताउँछन्। डा. शर्माले भने, ‘यसरी मात्रा मिलाएर तयार गरिएको सेनिटाइजरले छाला मुलायम हुन्छ, मात्रा नमिले बेफाइदा गर्छ।’ डा. लामा सेनिटाइजरको प्रयोग गरिसकेपछि मोश्चराइजर प्रयोग गरेको खण्डमा छालामा हुने समस्याबाट बच्न सकिने सुझाउँछिन्। ‘डा. लामाले भनिन्, ‘सेनिटाइजरमा भएको अल्कोहलले छालामा भएको पानीलाई सुकाइदिनाले बेलुका सुत्नेबेलामा नरिवलको तेल लगाउनु उचित हुन्छ।’

त्यसो त सेनिटाइजरको प्रयोग गरिसकेपछि मोश्चराइजर लगाउँदा छालामा हुने समस्याबाट बच्न सकिने कुरामा डा. ज्ञवाली पनि सहमत छिन्। हात वा खुट्टामा लगाएको सेनिटाइजर उडिसकेपछि मोश्चराइजर लगाउनु उचित हुने डा. ज्ञवालीको सुझाव छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सेनिटाइजर बनाउने गाइडलाइन तयार गरेको छ। सो गाइडलाइन अनुसार सेनिटाइजर तयार गर्नुपर्ने हुन्छ।  

विभिन्न तरिकाले सेनिटाइजर तयार गर्न सकिन्छ। गाइडलाइन अनुसार इथानोल ९६ प्रतिशत, हाइड्रोजन पेरोसाइड ३ प्रतिशत, ग्लिसेरोन ९८ प्रतिशत, स्टेराइल डिस्टिल्ड वा बोइल्ड कोल्ड वाटर (तताएर चिसो भएको पानी) मिलाएर सेनिटाइजर तयार गरिन्छ।

शुक्रबारबाट

 

प्रकाशित: ६ श्रावण २०७७ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App