१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

परीक्षण कम हुँदा जोखिम बढ्दै

असारको पहिलो साताबाट संक्रमण दर ह्वात्तै बढेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो दिनमा परीक्षण दर कम भएको छ। संक्रमितको सम्पर्कमा रहेका व्यक्तिकोसमेत परीक्षण हुन छाडेको स्थानीयको भनाइ छ। समुदायमा संक्रमणको अवस्था के छ भनेर पत्ता लगाउन परीक्षण नहुँदा जोखिम बढ्दै गएको विज्ञहरू बताउँछन्।  

लकडाउन खुकुलो भएकाले क्वारेन्टिन बाहिर संक्रमितको घुलमिल र सम्पर्कमा धेरै जना हुने गरेपनि उनीहरूको सम्पर्कमा आएकाको परीक्षण नहुँदा जोखिम बढेको बताएको छ। ‘परीक्षण नहुँदा संक्रमण समुदायमा लुकेर रहने खतरा छ,’ वरिष्ठ फिजिसियन शुभेसराज कायस्थले भने, ‘परीक्षणको दायरा बढाउन नसकिएकोले अहिले नै संक्रमणको दर घट्यो भन्न सकिने आधार छैन।’  

समुदायमा संक्रमण फैलिएको छ कि नै भनेर पत्ता लगाउन पनि कुनै ध्यान नदिएको उनको भनाइ छ। समुदायमा संक्रमण भएका व्यक्ति रहेको भए अवस्था भयावह हुनसक्ने भएकाले परीक्षणको दर बढाउनुपर्ने उनको सुझाव छ।

निर्देशिकाको प्रावधान नै गलत
सरकारको निर्देशिका नै गलत भएकाले पनि समस्या रहेको वरिष्ठ फिजिसियन कायस्थको भनाइ छ। विदेशबाट फर्केका लक्षण भएका, कन्ट्रयाक्ट ट्रेसिङमा रहेका लक्षण भएकालाई मात्र परीक्षण गर्ने निर्देशिकाको प्रावधान गलत रहेको उनले बताए। लक्षण नदेखिएको संक्रमित समुदायमा हुँदा महामारी फैलिने उच्च जोखिम रहेको उनले बताए।  

लक्षण नदेखिएका व्यक्तिबाट पनि संक्रमण बढ्ने भएकाले समयमै सचेत हुनुपर्नेमा उनले जोड दिए। भारतबाट सुदूरपश्चिममा धेरै भित्रिएका छन्, अहिले पनि फर्कने क्रम चलिरहेको छ। कोरोनाबाट नागरिकलाई बचाउनका लागि निर्देशिका सच्याउनुपर्ने वरिष्ठ फिजिसियन कायस्थको भनाइ छ।

सेती प्रादेशिक अस्पतालको कोरोना उपचार विभागका प्रमुख वरिष्ठ फिजिसियन शेरबहादुर कमरले अहिले लक्षण नदेखिएपनि समुदायमा लुकेको संक्रमित भए दुई–तीन सातामा संक्रमणले महामारीको रूप लिनसक्ने खतरा रहेको बताउँछन्। सुदूरपश्चिममा परीक्षणको दायरा बढाउनु पर्ने उनको सुझाव छ। लकडाउन खुकुलो भएको अवस्थामा परीक्षणको दायरा बढाएर संक्रमितलाई पहिचान गर्नुपर्नेमा उनको जोड छ।  

कोरोना भाइरस प्रवेश गरेपछि २ देखि ३ सातामा कोरोनाले जितेर मान्छेमा जटिल प्रकृतिको लक्षण देखापर्ने र रगतमा भएको रक्त कोषले मार्ने विज्ञको भनाइ छ। निर्देशिका अनुसार भारतबाट फर्केर क्वारेन्टिनमा बसेकालाई पनि दुई–तीन सातापछि घर पठाइएको छ। संक्रमण देखिएका तर लक्षण नभएका संक्रमितलाई पनि रिपोर्ट नेगेटिभ नआउँदै घर पठाउँदा जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले पछिल्लो दिनमा परीक्षण कम भएको स्वीकार गरे। भारतबाट आउने घटेका छन्, क्वारेन्टिनमा पनि संख्या घट्दै गएको छ। नमुना संकलन र परीक्षण पनि कम भएको छ,’ उनले भने, ‘संक्रमितको संख्या कम भएपनि भारतबाट फर्कने क्रम चलिरहेकाले जोखिम घटेको छैन, अझै बढ्न सक्छ।’ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६ हजार १ सय ९१ जना अहिले क्वारेन्टिनमा रहेका छन्।  

तीन महिनासम्म प्रयोगशाला स्थापना भएन
चैत १५ गते प्रदेश सरकारले डोटी, बैतडी र कैलाली गरेर तीन ठाउँमा नयाँ प्रयोगशाला खोल्ने निर्णय गरेको थियो। तर यहाँ अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। तीन वटा मेसिन आइसकेको र मेसिन राख्ने कोठालगायतको अभावले प्रयोगशाला स्थापना गर्न नसकेको निर्देशक अवस्थीले जानकारी दिए। सुदूरपश्चिममा मंगलबारसम्म संक्रमितको संख्या ३ हजार ९ सय ५६ पुगेको छ, भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: ३१ असार २०७७ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App