coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गाउँपालिकाको पहलमा सुचर र प्लाष्टर सेवा निःशुल्क

सुचर र प्लाष्टर सेवा निःशुल्क पाएकी महिलासँग गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला (बायाँ) । तस्बिर : नागरिक

खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुचर (टाँका दिने) र प्लाष्टर सेवा निःशुल्क गरिएको छ । ऐसेलुखर्क गाउँपालिकाले औषधि खरिद गर्दा आएको बोनस रकमबाट प्राथमिक स्वास्थ्य केन्द्रमा सुचर (टाँका दिने) र प्लाष्टर सेवा निःशुल्क गरेको हो । हात खुट्टा भाँचिएको, चोटपटक लागेको अवस्थामा निजी क्लिनिकमा गएर सुचर र प्लाष्टर गर्ने सामग्री खरिद गर्नुपर्ने बाध्यता अन्त्यका लागि सुचर र प्लाष्टर सेवा निःशुल्क गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।  

संघीय सरकारले उपलव्ध गराएको शसर्त अनुदान वापत ८ लाख र गाउँपालिकाको ३ लाखमा औषधि खरिदकाक्रममा औषधि विक्रेता कम्पनीले दिएको बोनस रकमबाट प्राथमिक स्वास्थ्य केन्द्रमा सुचर (टाँका दिने) र प्लाष्टर सेवा निःशुल्क गरिएको हो । नेपाल सरकारबाट सूचीकृत औषधि बिक्रेताबाट औषधि खरिदकाक्रममा प्राप्त भएको २ लाख ७० हजार बोनस रकमबाट सुचर (टाँका दिने) र प्लाष्टरका लागि आवश्यक सामग्री खरिद गरेर असार २५ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।  

यसअघिसम्म हात खुट्टा भाँचिएका वा गहिरो चोटपटक लागेका स्थानीय क्लिनिकमा पुगेर सुचर (टाँका दिने) र प्लाष्टरका सामग्री खरिद गरेर ल्याएर उपचार गराउन बाध्य थिए । सुचर र प्लाष्टरका सामग्री खरिदकाक्रममा एकैजनाले चार हजार पाँच सयसम्म खर्च गर्नु परेको गुनासो आएपछि गाउँपालिकाले सो सेवालाई निःशुल्क गरेको जनाएको छ ।  

झै–झगडा र काटमारकाक्रममा घाइते भएका व्यक्तिले भने सो सुविधा पाउने छैनन् । काम गर्नेक्रममा दुर्घटनामा परेका गाउँपालिकाभित्रका स्थानीयलाई मात्र सो सेवा उपलव्ध गराइने गाउँपालिका अध्यक्ष निरौलाले बताए । ‘जो गरिब छ, दुःखी छ उसैको हात खुट्टा भाँचिन्छ । स्टीज गर्ने, प्लाष्टर गर्ने र व्यान्डेज गर्नेक्रममा एकै जनाले चार÷पाँच हजार खर्च गर्नु परेको गुनासो सुनियो । सर्वसाधारणको दर्दनाक अवस्था देखेर सामग्री खरिद गरेर सेवा सुविधा थप गरिएको हो,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘पहिला कर्मचारीले के गरे थाहा भएन । तर अहिले आएको नयाँ डाक्टर सावले औषधि खरिद गर्दा बोनस आउँछ के गरौं भन्नु भएपछि सुचर र प्लाष्टर सेवा निःशुल्क गरिएको हो । यो सेवा झै–झगडा र काटाकाट गरेर आएकालाई भने दिइने छैन ।’ 

प्रकाशित: २७ असार २०७७ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App