१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘लक्षण नभए पनि कोरोना हुन सक्छ’

‘तपाइँ लकडाउन खुकुलो भयो भनेर आफ्ना साथीहरूसँग बसेर खाना खान सुरु गर्नुभएको छ,’ साथीमा कोरोना संक्रमण छैन भनेर ढुक्क हुनुहुन्छ ? त्यसो हो भने ढुक्क नहुनुहोस् आफ्नै हितैषी साथीलाई लक्षण नभए पनि कोरोना संक्रमण भएको हुन सक्छ। सतर्क हुनुहोस् !’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम रहेकाले सर्तक हुन आग्रह गरेको छ। धेरैजसो संक्रमितमा लक्षण नभएको र उनीहरूबाटै सर्ने भएकोले सबैलाई कोरोना नियन्त्रण नहुन्जेल चियापान तथा भेटघाटमा सहभागी नहुन मन्त्रालयले आग्रह गरेको छ। यो अवधिमा भोज, जात्रा तथा जमघट नगर्न मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गरे। ‘चिया पसलमा हुने भीडभाडलाई सामान्य रूपमा नलिन हार्दिक अपिल गर्छौं,’ उनले भने, ‘चाडपर्व, मेला र जात्रा गर्ने अवसर बाँचे फेरि आउँनेछ, अहिलेलाई यस्ता गतिविधि रोकेर आफू र परिवारलाई बचाउने सुवर्ण अवसर फेरि नआउन सक्छ।’ यो अवधिमा सकेसम्म घरबाहिर ननिस्कने, घरबाहिर निस्कनै परे मास्कको प्रयोग गर्ने, हातको सफाइ पटक–पटक गर्ने, कसैलाई भेटिहाल्नु परेमा दुई मिटर टाढैबाट भेट्ने जस्ता कोभिडबाट बच्ने उपाय जारी राख्न प्रवक्ता गौतमले सुझाए।  

थप २५५ मा संक्रमण  

नेपालमा गत चौबिस घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार सबैभन्दा बढी कैलालीमा ३६, रौतहटमा ३२, अछाममा २२ र काठमाडौं उपत्यकामा २३ जना छन्। तीमध्येमा काठमाडौंमा १६ जना र ललितपुरमा १० जना छन्। नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। तीमध्ये ७ हजार ७ सय ५२ जना बुधबारसम्ममा निको भएका छन्। ती मध्येमा ३५ जनाको मृत्यु भएको छ। पछिल्लो चौबिस घण्टामा २ सय ५३ जना विभिन्न आइसोलेसन सेन्टरबाट निको भएका छन्।  

हाल देशभरिमा ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् भने क्वारेन्टिनमा २५ हजार ४० जना छन्। गत चौबिस घण्टामा ४ हजार ५ सय ९६ जनाको पिसिआर विधिवाट नमुना परीक्षण भएको थियो। हालसम्म यो संख्या २ लाख ६६ हजार ५ सय ५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दैनिक पे्रस ब्रिफिङका क्रममा दक्षिण एसियाली चार राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका र भारतमाभन्दा बढी अनुपातमा परीक्षण भएको जनाएको छ। प्रति १० लाखमा भारतले ७ हजार ५ सय ८८ जनामा, अफागानिस्तानले १९९ सय ९० जनामा, बंगलादेशले ५ हजार ४ सय १६, श्रीलंकाले ५ हजार ३ सय ५९ ,पाकिस्तानले ६ हजार ६ सय ४० जनाको दरले परीक्षण गरेका छन् भने नेपालले ९ हजार १ सय ४६ जनाको दरले परीक्षण गरेको छ। त्यसैगरी, कोरोनाबाट मृत्यु हुने दरमा पनि दक्षिण एसियाली चार राष्ट्र अफगानिस्तान, बंगलादेश, पाकिस्तान र भारतभन्दा नेपालमा कम रहेको तथ्यांक प्रस्तुत गरेको छ।

प्रकाशित: २५ असार २०७७ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App