१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एउटै औषधिको मूल्य तीनथरी

चाँदनी हमाल, चितवन,जेठ १२- नवलपरासी चोरमाराका ५० वर्षीय केशवराज आचार्यको तिघ्रामा जमेको रगत हटाउने ईन्जेक्सनकै तिनथरी मूल्य उनकी श्रीमतीले फेला पारिन। घरकै खुडकिलाबाट लडेका आचार्य घुँडाभित्र हड्डी भाँच्चिएकाले पच्चिस दिनअघि उपचार गर्न भरतपुरमा आएका उनी अझै घरफर्केका छैनन्।

नारायणी सामुदायिक अस्पतालमा भाँचिएको खुट्टामा प्लाष्टर चढाएर घरफर्केका उनको घुँडाभन्दामाथी रगत जमेर समस्या देखियो। उनी फेरि सोही अस्पतालमा तीन दिन आइसियुमा दिनको तीनहजार तिरेर उपचार गरे। 'तर तीनदिनपिछि यहाँ सकिन्न मेडीकल कलेज भरतपुर लैजानु भने उनमी श्रीमती विष्णुमाया आचार्यले भनिन्, 'जमेको रगत झार्ने उपचार छैन भनेर पठाए।' मेडीकल कलेजमा १२ दिनसम्म उपचार गर्दापनि उनको श्रीमानको खुट्टा सन्चो भैसकेको छैन्। तिघ्रामा जमेको रगत पातलो पार्ने इन्जेक्सन दिदै उपचार गराईदै छ। तर त्यो इन्जेक्सन किन्न उनलाई सहज भएन्। मेडीकल कलेजको आफ्नै पसलमा एकहजार ३ सय रुपैयाँ भनेपछि उनी बाहिर अरुमेडीकलमा सोध्न पुगिन। त्यहाँ उनले त्यही इन्जेक्सन एकहजार पचास रुपैयाँमा पाईन्। अझै महंगो भएको शंका लागेपछि उनी सरकारी अस्पताल स्थित साझाको औषधी पसलमा ईन्जेक्सन किन्न पुगिन। बल्ल उनले नौसय रुपैयाँमा इन्जेक्सन लिईन्। 'एउटै औषधीको मूल्य तिनथरी, कसरी साध्य उपचार गरेर उनले भनिन् गरिबले त अब बिरामी नभए भो अस्पताल पिच्छेकै औषधीको मूल्य भएपछि।'

घुँडा भाँचिएको सामान्य समस्याबाट बल्भि्कएको उनको श्रीमानको उपचारका लागि एकलाख रुपैयाँ बढीको औषधी उनले खर्चिसकेकी छिन्। रगत पातलो पारेर झार्ने खालको इन्जेक्सन बढीमा ६ सयदखि नौसयमा पाइने चिकित्सकहरु बताउँछन्।
बिरामीलाई निको पार्नेभन्दा पनि उसको खल्तीको पैसा कसरी रित्याउने भन्ने ध्याउन्नमा नै अस्पतालको उपचार पद्धती लाग्ने गरेको आरोप र गुनासो चितवनका सर्वैसाधारणले पटक पटक गर्ने गरेका छन्। 'उपचारभन्दा पनि अस्पतालहरुमा औषधी नै महंगो छ सुत्केरी श्रीमतीको अप्रेसनपछि फर्कदै गरेका एक कुरुवाले भने सुत्केरी सेवा पनि निशुल्क छ भन्नु मात्र हो।' गम्भीर अवस्थाका सुत्केरीलाई दिनुपर्ने औषधीहरु महंगो मूल्यमा बिरामीले नै किनेर खानुपर्ने अवस्था छ।

सुत्केरीका लागि खर्चभनेर सरकारले नै प्रत्येक अस्पताललाई वर्षेनी लाखौ अनुदान दिने गरेको छ। अस्पताल बसुन्जेलको खानपानदेखि भाडाखर्चसमेत दिनेव्यवस्था छ। तर अस्पतालहरुमा यि सबै सुविधा नाममात्रका हुने गरेको बिरामीहरु बताउँछन्। 'पानीजस्तो दाल र फोहर भातले सुत्केरीको सेवा हुन्छ? न त अरु स्याहार नै राम्रो सबैभन्दा बढी सुत्केरी हुने भरतपुर अस्पतालमा रहेकी सुत्केरी निर्मला लामाले भनिन् आफैले किनेर खान नसके अस्पतालबाट उठेर हैन बिरामी भएर घरजान्छन् सुत्केरी।' सरकारी अस्पतालमा मात्र दैनिक ३० जना सुत्केरी हुन्छन्। अन्यत्रसहित दैनिक पचासको हाराहारीमा सुत्केरी हुन अस्पताल आउने गर्छन महिलाहरु। सरकारी अस्पताल क्षेत्रमा साझाको पसल भएपनि अस्वस्थ प्रतिस्पर्धाकै लागि खुलेका मेडीकलहरुमा मनपर्दी मूल्यका औषधी बेचिन्छन्। व्यवसायी वा चिकित्सको सम्पर्कबाट कमिसनका भरमा पसलमा पुगेका ति औषधीहरुले सर्वसाधारणको ढाढ सेक्ने काम गरिरहेको नारायणगढका सुदर्शन पिया बताउछन्। मेडीकल सिटीका रुपमा बिकसित हुँदै गएको चितवनमा एकदर्जन ठूला अस्पताल पुगिसकेका छन्। त्यति नै साना मेडीकल पनि छन्। तर तिनमा निशुल्क पाइने एण्टिबायोटिक, सिटामोल, जीवनजलजस्ता औषधी पनि किन्नुपर्ने बाध्यता सर्वसाधारणको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको पहुँचमा रहेको औषधी गाउँका स्वास्थ्यचौकीमा केही उपलब्ध भएपनि जतिखेर पनि चाहिने अस्पतालका पसलहरुमा भने निशुल्क पाईदैन्। 'हाम्रो आफ्नै औषधी कम्पनीसँग सम्झौता भएको हुन्छ चितवन मेडीकल कलेजका प्रबन्धक डा.हरिशचन्द्र न्यौपानेले भने तिनै औषधी बेच्छौ।' औषधी व्यवस्था विभागले सिफारिस गरेका औषधीभन्दा निजी कम्पनीसँग लिएका महंगा औषधी असरदार हुने उनको दाबी छ। 'केही महंगो होला तर सरकारीले बेच्नेभन्दा राम्रो हुन्छ उनी भन्छन् मेरोमा करिब दिनको एकलाखको औषधी बिक्रि हुन्छ।' उनको जस्तै भरतपुर मेडीकल कलेज पनि महंगो शुल्क र औषधीका लागि नामुद छ। 'पुरानो मेडीकल कलेजमा लामो समय उपचार त हुन्छ तर फर्कदा कसको घरखेत बाँकी छ कि छैन् थाहा हुन्न ,' एक बिरामी कुरुवाले भने।

भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. केशव भुर्तेल भने औषधी साझाकै किन्न सुझाउछन्। साझाले १४ प्रतिशत मात्र नाफा खाएर बेच्छ तर अन्यत्र त्यो भन्दा बढी मुनाफा खाएकाले पनि महंगो हुन्छ। औषधीमा १६ प्रतिशतभन्दा बढी नाफा गरे ठगी गरेको ठहरिने कानुनी मान्यता छ। एन्टिबायोटिक,जिवनजल,सिटामोल जस्ता सामान्य औषधीमै पनि सर्वसाधारणले हजारौ खर्च गर्नुपरेको उनी स्विाकार्छन्। 'निजी कम्पनीका औषधी महंगो नै हुन्छ उनले भने जनस्वास्थ्यले समन्वय गरे अस्पतालहरुले निशुल्क सिफारिस गर्नसक्छ ,'उनले भने। बरामीहरुले टिबी,कुष्टरोग जस्ता औषधी पनि जनस्वास्थ्यमा नगई चिकित्सककै सल्लाहमा उनमै मेडिकलमा किनेर खाइरहेका पाइन्छन्।

बजारमा एण्टिबायोटिकको मूल्य आठ रुपैयाँसम्म ,सिटामोल ५० पैसा प्रतिगोटा र जिवनजलको मूल्य पसल हेरी फरक फरक छ। शहरमा शहरी स्वास्थ्य क्लिनिकहरुमा ३५ थरीका औषधि निशुल्क पाईने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदार बताउछन्। तर सर्वसाधारणलाई भने यस्ता पसलका बारेमा कुनै जानकारी नै छैन्। उनीहरु बिरामी बढी आउने अस्पतालमै यस्ता निशुल्क पाईने औषधी व्यवस्था गर्न माग गर्छन्। बिरामी अस्पतालमा छाडेर कता शहरी क्लिनिक खोज्ने ,उनीहरु भन्छन् औषधीका बारेमा कुनै जानकारी वा सुचनाहरु कतै उल्लेख छैन्। औषधी व्यवस्था विभागले तोकभन्दा बढीमूल्यमा बिक्रि भएको खण्डमा कारबाही हुने व्यवस्था छ। तर आवश्यक अनुगमन नहुदा सर्वसाधारणले मार खेप्नु परेको छ।

प्रकाशित: ११ जेष्ठ २०६९ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App