३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

घरबेटीको दबाबले घटेन पिसिआर माग गर्नेको भिड

आवश्यक नदेखिएका तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको मापदण्डभित्र नपर्ने व्यक्तिलाई कोरोना परीक्षण नगराउन भन्दै सरकारले सूचना जारी गरेको भए पनि यसका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्नेकाे भिड घटेको छैन ।  

घरबेटीको दबाबका कारण आवश्यक बाहेकका व्यक्ति पनि कोरोना परीक्षणका लागि अस्पताल पुग्ने गरेका हुन् । 

सरकारले लकडाउन खुकुलो पारेयता पिसिआर परीक्षण माग गर्दै अस्पताल जानेकाे भिड बढेको हो । आइतबार मात्र यस्ताे परीक्षण माग गरेर ८ सय ८५ जना आइपुगेको अस्पतालले जनाएको छ ।  

चिकित्सकका अनुसार पिसिआर परीक्षण माग गर्नेमा पत्रकार, प्रहरी, बैंकका कर्मचारी, सांसद तथा डेरामा बस्ने सर्वसाधारण छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ परीक्षण निर्देशिकाविपरीत दैनिक सयौंको संख्यामा पिसिआर जाँचको माग गर्न आएपछि १ साताअघि अस्पतालले मन्त्रालयसित गुनासोसमेत गरेको थियो ।  

त्यसपछि स्वास्थ्य र गृृह मन्त्रालयले घरबेटीले दबाब दिन नपाइने र चिकित्सकको निर्र्देशनअनुसार मात्र पिसिआर परीक्षण गर्न पाइने भन्दै  निर्देशन जारी गरेका थिए ।  

तर पनि पिसिआर परीक्षणको माग गर्न आउनेको संख्या नघटेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।  

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार जोखिम जिल्लाबाट आएका र लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण गर्ने गरिएको र अन्यलाई घरमा वा सरकारले व्यवस्था गरेको क्वारेटिनमा १४ दिन अनिवार्य बस्न सुझाव दिएर पठाउने गरिएको छ ।

सरकारले जारी गरेको सूचना नागरिकले राम्रोसित नसुन्नु वा नबुझ्नाका कारण आवश्यक नदेखिएका व्यक्तिसमेत पिसिआर परीक्षणका लागि आउने गरेको देखिएको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए । ‘सरकारले घरबेटीलाई पिसिआर परीक्षण गर्न दबाब नदिनु भनी सूचना जारी गरे पनि अटेर गरेको देखिन्छ,’ उनले भने ।  

प्रकाशित: १७ असार २०७७ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App