७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाजस्तै महामारी फैलाउन सक्ने अर्काे नयाँ भाइरस भेटियो

सचेत रहन वैज्ञानिककाे आग्रह

सुँगुर

कोरोना संक्रमणले विश्व नै तहसनहस भइरहेका बेला त्यस्तै महामारी  फैलाउन सक्ने अर्काे नयाँ भाइरस फेला परेको वैज्ञानिकले बताएका छन् ।  

अनुसन्धानकर्ताका अनुसार यो नयाँ खालको भाइरस कोरोनाकाे उद्गम मानिने चीनमै देखापरेको हो ।  याे भाइरस सुँगुरमा देखिएको अनुसन्धानकर्ताले जानकारी दिएका छन् ।  

ती अनुसन्धानकर्ताले प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेखेका छन्,  ‘तत्काल सुँगुरमा यो भाइरसको नियन्त्रण तथा सुँगुर पालनमा संलग्न श्रमिकको निगरानी गर्न जरुरी छ।’

उक्त भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ने सक्ने भएकाले सुँगुरबाट यो मानिसमा सरेमा महामारी फैलिन सक्ने प्रबल सम्भावना रहेको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।  

उनीहरूले भनेका छन्, ‘तत्कालै त यो कुनै समस्या होइन, तर यस भाइरसमा मानिसलाई संक्रमण गर्न सक्ने सबै गुण भएकाले सचेत रहन जरुरी छ ।’

बिबिसीका अनुसार यो भाइरस नयाँ भएकाले मानिसमा यसको प्रतिरोध गर्ने क्षमता अत्यन्त न्यून वा हुँदै नहुने वैज्ञानिकले बताएका छन् ।  यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ । तर केही भिन्नता पनि छन् ।

यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन-चाउ चाङ र उनका सहकर्मीका अनुसार यो नयाँ भाइरस अहिले नै फैलिसकेको त छैन तर यसलाई बेवास्ता गर्न मिल्दैन । अनुसन्धानकर्ताले यो भाइरसलाई जिफोर इए एच–वान एन–वान नाम दिएका छन् । जुन भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ ।

उनीहरूले वधशाला र सुँगुरपालनमा संलग्न मानिसमा त्यो भाइरसले संक्रमण गरेको प्रमाण फेला परेको अनुसन्धानकर्ताले बताएका छन् । जुन भाइरसविरुद्ध विश्वमा अहिले उपलब्ध खोपले काम गर्ने छैनन् ।  

प्रकाशित: १६ असार २०७७ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App