२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

कोरोना संक्रमणबाट मृत्यु भएका दैलेखका ४५ वर्षीय पुरुषलाई वीरेन्द्रनगर–२ को जंगलमा गाड्दै नेपाली सेनाको टोली। तस्बिर सौजन्य: सुशील खड्का

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कर्णाली प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  

दुई महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका उनी असार १ गते उपचारका लागि कर्णाली प्रदेश अस्पताल आएका थिए। प्रदेश अस्पतालका कोभिड–१९ फोकलपर्सन डाक्टर केएन पौडेलका अनुसार अस्पताल भर्ना भएपछि उनको कोरोना परीक्षण गरिएको थियो। असार ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएका बिरामी मध्ये मृतकसहित तीन जनामा असार ४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालनै सिल गरिएको थियो। कोरोना संक्रमण पुष्टि भएकाहरूको उपचारमा संलग्न चिकित्सकदेखि सहयोगीसम्मको पीसीआर परीक्षण गरिएको थियो। सोक्रममा अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

‘अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरूको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो,’ प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘उनीहरूमध्ये पाँच जनालाई कोरोना संक्रमण देखिएको हो।’ संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुषका श्रीमती पनिसँगै अस्पताल आएकी थिइन्। पत्नीलाई भने कोरोना नेगेटिभ देखिएको डाक्टर पौडेलले बताए। ‘हामीले तीन पटक पिसीआर गरिसक्यौं’, उनले भने, ‘महिलामा नेगेटिभ छ।’ पतीको दाहसंस्कारपछि पत्नीलाई घर पठाएर उतै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइने छ। कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि दैलेख र डोल्पामा एक–एक जना र सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

प्रकाशित: १० असार २०७७ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App