२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसन कक्ष अभाव हुने देखियो

कोरोना संक्रमित बढ्दा आइसोलेसन कक्ष भरिन थालेका छन् । बिस्तारै देखिन थालेका संक्रमित ह्वात्तै बढ्न थालेसँगै केही दिनमै आइसोलेसन कक्षको चरम अभाव हुने देखिएको छ । शुक्रबार मात्र १८ संक्रमित थपिएका छन् । ‘संक्रमणले आकार बढाउँदै लगेको छ । अब आइसोलेसन कक्षकै चरम अभाव हुने देखियो,’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकसँग भने । जिल्ला कोभिड–१९ बिपद् व्यवस्थापन केन्द्र डिसिसिएमसी) का अध्यक्षसमेत रहेका उनले भारत र तेस्रो मुलुकबाट स्थानीय फर्किँन थालेसँगै संक्रमित बढिरहेका बताए ।  

जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा ३८ शैया क्षमताको आइसोलेसन कक्ष उपलब्ध छ । यसअघि आइसोलेसनमा ६ उपचाररत छन् । चार संक्रमित हुन् । थ्रोट स्वाब नमूना संकलन गरिएका १५ को रिपोर्ट आउन बाँकी छ । क्वारेन्टिनमा रहेका ५० को स्वाब संकलन नै हुन सकेको छैन । ‘पछिल्ला रिपोर्टको प्रवृत्ति हेर्दा अब उपलब्ध आइसोलेसनले पुग्ने देखिँदैन । ठूलो संख्यामा आइसोलेसन शैया बढाउनु पर्ने देखियो,’ प्रजिअ ढकालले भने ।  

उनका अनुसार भारत र तेस्रो मुलुकबाट फर्कँनेको लहर चलिरहेको छ । कति संख्यामा आइसोलेसन चाहिने भन्ने विदेशबाट फर्कँनेहरुको संख्यामा निर्भर हुने उनी बताउँछन् । नौ दिनअघि कुबेतबाट उद्धार गरी स्वदेश फर्काइएका नौ महिलासहित एकै दिन १८ जना कोरोना संक्रमित थपिएका हुन् । बाहुनेपाटी क्वारेन्टिनमा बस्दै आएका १३ र मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा रहेका पाँच जनामा कोरोना संक्रमण भेटिएको हो ।  

मेलम्ची क्षेत्रमा ठूलो संख्यामा संक्रमित भेटिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने विषय डिसिसिएमसीलाई दिनभर टाउको दुखाई बन्यो । मेलम्चीमा सात शैया क्षमताको मात्र आइसोलेसन उपलब्ध छ । त्यहाँ तीन संक्रमित उपचाररत छन् । डिसिसिएमसीको आकस्मिक बैठकले मेलम्चीको रिभर साइड होटलमा सञ्चालित क्षेत्रीय क्वारेन्टिनलाई नै आइसोलेसनमा बदल्ने निर्णय गरेको छ ।  

उनीहरुलाई तत्कालका लागि अन्यत्रका आइसोलेसनमा राख्न सकिने भए पनि छरिएर काम गर्दा स्वास्थ्यकर्मी, औषधी र स्रोत साधन अभाव हुने देखेपछि यो निर्णयमा पुगेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँ बताउँछन् । थपिएका संक्रमित १८–४१ वर्ष उमेर समूहका छन् । संक्रमित नौ भने पुरुष हुन् । संक्रमितमध्ये पाँचपोखरी थाङपाल गाउँपालिकाका ११, मेलम्ची नगरपालिकाका चार र हेलम्बु गाउँपालिकाका तीन जना रहेका छन् ।

संक्रमितमध्ये नौ महिलालाई जेठ २९ गते कुबेतबाट उद्धार गरी स्वदेश फर्काइएको थियो । उक्त खेपमा जिल्लाका मात्र २३ महिला फर्किएका थिए । १४ महिलाको अझै रिपोर्ट आएको छैन । संक्रमित पाँच जना दोलखा र चार भोजपुर जिल्लाबाट आएका हुन् । यसअघि दोलखाबाट आएका दुई जनामा संक्रमण भेटिएको थियो । उनीहरु सबै दोलखामा निर्माणाधीन खानीखोला जलविद्युत आयोजनाका मजदुर हुन् ।  

ट्रक चढेर आयोजनामा काम गर्ने जिल्लाका १० जनासँगै फर्किएका थिए । तीमध्ये सात जनामा संक्रमण भेटिएको हो । तीनको रिपोर्ट आउन बाँकी छ । पहिलो पटक जेठ २९ गते मजदुरमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा उक्त आयोजनाका कार्यरत अरु ४४ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । तर उनीहरु कसरी संक्रमित भए भन्ने अहिलेसम्म पत्तो छैन । तराईँमा चल्ने उक्त ट्रकबाट उनीहरुमा कोरोना सरेको अनुमान गरिए पनि दोलखामा जनस्तरमा कोरोना पिसिआर परीक्षण हुन सकेको छैन ।  

जिल्लाका विभिन्न क्वारेन्टिनमा अझै एक सय २१ छन् । ४७ जना भारतबाट फर्केका हुन् ।  यसअघि भारतबाट फर्केका तीन जनामा कोरोना भेटिइसकेको छ । भारतबाट फर्केका धेरैको नमूना संकलन नै हुन सकेको छैन । बिहीबार मात्र कम्बोडियाबाट नौ र भारतबाट एक जना जिल्ला फर्किएका छन् । भारतबाहेक तेस्रो मुलुकमा मात्रै २०–२२ हजार जिल्लावासी रहेको डिसिसिएमसीको तथ्यांक छ । उसले तीममध्ये धेरै स्वदेश फर्किँन सक्ने अनुमान गरेको छ ।  

तत्काल आइसोलेसन कक्ष बढाउनु पर्ने देखेपछि डिसिसिएमसीले तीन स्थानमा सञ्चालित क्षेत्रीय क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गर्ने तयारी गरेको छ । ‘आवश्यक संख्यामा क्वारेन्टिन भने स्थानीय तहलाई नै बनाउँन आग्रह गरेका छौँ,’ प्रजिअ ढकालले भने । हाल जिल्लामा पाँच सय ७३ शैया क्षमताका क्वारेन्टिन छन् । जिल्लामा कोरोनाबाट एक महिलाको मृत्यु भइसकेको छ । मुलुकमा कोरोनाबाट ज्यान गुमाउने ती महिला पहिलो थिइन् । एक पुरुष भने उपचारपछि निको भएर घर फर्किएका छन् ।  

प्रकाशित: ५ असार २०७७ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App