२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना अस्पताल अस्तव्यस्तः १ सय १६ संक्रमित, २ चिकित्सक र ३ नर्स

मोरङको सुन्दरहरैंचाको गोठगाउँ स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामग्रीको अभाव भएको छ। आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामग्री अभाव भएको देखिएको हो।  

प्रदेश सरकारको बेवास्ताका कारण अस्पतालमा आवश्यकता  अनुसार चिकित्सक तथा स्वास्थ्य सामग्री उपलब्ध नभएको प्रदेश १  लेखा समिति संयोजक शिवनारायणसिंह गनगाईले बताए। उनका अनुसार लेखा समितिसँग गोठगाउँस्थित अस्पतालमा कार्यरत  चिकित्सकले सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई  उपलब्ध गराएको सेवासुविधा नपाएको गुनासोसमेत गरेका छन्। संयोजक गनगाईले अस्पतालमा मापदण्ड अनुसार आइसोलेसन नरहेकाले तत्कालै सुधार गर्नुपर्ने अवस्था रहेको पनि बताए। उनले मापदण्ड अनुसार अस्पताल सञ्चालनमा ल्याउन, प्रदेश सरकार  र विश्वविद्यालयबीच भएका सम्झौता पालना गर्न लेखा समितिले निर्देशन दिने जानकारी दिए।  

समितिका सदस्य सांसद लोकप्रसाद संग्रौलाले कोरोना अस्पताललाई संक्रमित थुपार्ने डम्पिङसाइट बनाउन नहुने बताए। उनले अस्पताललाई व्यवस्थित पार्न प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालय दुवै गम्भीर बन्नुपर्ने बताए। उनले संक्रमित बढेको अवस्थामा अस्पतालको पूर्वाधारमा सुधार गरी भेन्टिलेटरलगायतको व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै भने, ‘अस्पताललाई व्यवस्थित पार्न तत्कालै काम थाल्नुपर्छ।’  

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक मेडिकल कलेजमा सञ्चालित कोरोना अस्पताल लेभल १ को भएकाले आइसियू सञ्चालन गर्न नसकिने कलेजका डिन शैलेशमणि पोखरेलले बताए। उनले आइसियूमा राख्नुपर्ने बिरामीलाई विराटनगरस्थित कोभिड अस्पताल नै लैजानुपर्ने स्पष्ट पारे। उनका अनुसार संक्रमित तर लक्षण नदेखिएकालाई मात्रै उक्त अस्पतालमा भर्ना  गरिएको छ। लेभल १ अस्पतालमा उपचार सम्भव नहुने भएकाले लेभल २ मा स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए। जसका लागि चिकित्सकलगायत दक्ष जनशक्ति, प्राविधिक उपकरण उपलब्ध गराउनुर्ने उनको भनाइ छ। उनले भने, ‘दक्ष जनशक्ति र मेडिकल सामग्री अभावले उपचारमा समस्या भएकाले तत्काल जनशक्ति र मेडिकल सामग्री उपलब्ध गराउनुपर्छ।’ हाल अस्पतालमा २ जना डाक्टर र ३ जना स्टाफ नर्स मात्रै रहेको डिन पोखरेलले बताए। उनका अनुसार थप ३ जना डाक्टर र २ जना नर्स उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको छ। अस्पतालमा १ सय २५ जना संक्रमित भर्ना गर्न सकिने पोखरेलले बताए। हाल अस्पतालमा १ सय १६ जना संक्रमित छन्। डिन पोखरेलले नेपाल सरकारको मार्गदर्शन अनुसार नै अस्पताल सञ्चालन गरिरहेको लेखा समितिलाई जानकारी दिए।  

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलका  कोरोना फोकल पर्सन धरणी निरौलाले पूर्वाञ्चल विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौता अनुसार अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले  भने, ‘सम्झौतामा  उल्लेख भए अनुसार अस्पताललाई क्रमिक रुपमा अघि बढाउँदै लगिएको छ।’ निरौलाका अनुसार अस्पतालमा भर्ना भएका संक्रमितको व्यक्तिगत प्रयोजनका लागि  खाना, औषधिलगायत प्रदेश सरकारले उपलब्ध गराइरहेको छ। संक्रमितका लागि  इन्टरनेट सेवा, अस्पताल सञ्चालनका लागि आवश्यक खर्च प्रदेश सरकारले  बेहोर्ने भने पनि अहिलेसम्म खर्च आइसकेको छैन। अस्पतालले बिल पेस नगरेका कारण खर्च उपलब्ध नभएको निरौलाले बताए। अस्पतालका लागि आवश्यक थप ३ डाक्टर र २ जना स्टाफ नर्स विराटनगरबाट आवासीय रुपमा सोमबारदेखि ल्याउने तयारी गरिएको छ। स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता प्रदेश सरकारले चाँडै उपलब्ध गराउने निरौलाले बताए।

प्रकाशित: १ असार २०७७ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App