स्वास्थ्य विज्ञान प्रतिष्ठान नियुक्ति प्रक्रिया डेढ महिनादेखि प्रारम्भिक छनौट समितिभित्रै अल्झिएको छ । गत वैशाखयता क्रमश खालि भएका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पद खालि भएपछि उपकुलपति नियुक्ति प्रक्रिया सुरु भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान चार महिनादेखि उपकुलपतिविहीन छन् ।
रिक्त पदपुर्ति गर्ने उद्देश्यले सरकारले स्वास्थ्यमन्त्रीको संयोजत्वमा असार ४ गते नै सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य छन ।
प्रक्रिया अनुसार यो समितिले कम्तीमा एउटा प्रतिष्ठानको लागि ६ नाम सिफारिस गर्नुपर्छ । यो प्रक्रिया पूरा भएपछि मात्र उपकुलपति तथा प्रधानमन्त्रीले अन्तिम निर्णय गर्नुपर्छ ।
तर प्रारिम्भक सिफारिसमै भागबण्डा नमिल्ने गरी समितिले नाम सिफारिस गरेपछि नियुक्तिमा ढिलाइ भएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार कमिटीले चिकित्सा शिक्षामा गुणस्तर कायम गर्न सक्ने प्राज्ञिक भन्दा पनि आर्थिकलाभ दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिंदा ढिलाइ भएको हो । पहिला नाम सिफारिस मै ढिला भएको त्यसपछि एमाले र कांग्रेसबिच भागबण्डा नमिलेर ढिलाइ भएको देखिन्छ । स्रोतका अनुसार पहिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कांग्रेसको भागमा तथा पोखरा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेको भागमा परेको थियो । पछि स्वास्थ्य मन्त्रीले पोखरा स्वास्थ्य विज्ञान छोडन् नमानेपछि थप ढिलाइ भएको हो ।
ढिला गरी मंगलबार मात्र उपकुलपति छनौटका लागि नामवली तयार गरेको छ । यो विषयमा सर्च कमिटीका सदस्य डा। विकास देवकोटाले केही दिनमै निर्णय हुने बताए । ‘अब दुइ/चार दिनमै यो उपकुलपतिको निर्णय अघि बढ्छ,’ उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने विदेश भ्रमणमा गएका प्रधानमन्त्री स्वेश फर्केलगत्तै निर्णय हुने बताए । उनले भने, ‘दुइ चार दिनमा यसको टुङ्गो लाग्छ ।’
सर्च कमिटीका सदस्य तथा राष्ट्रिय योजना आयोगका स्वास्थ्य सदस्य डा. आरपि बिच्छाले भने यस बारेमा आफु जानकार नभएको बताए ।
यसैबीच, विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २४ जना प्राज्ञिक चिकित्सकको नाम सिफारिस भएको छ ।
जसमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा.डा. विद्याननिधधि पौडेल, प्रा।डा। अर्जुन आचार्य, प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. नारायणसिंह गुरुङ, प्रा.डा. भरत बहादुर खत्री र प्रा.डा. माया लामाको नाम सिफारिस गरिएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दीपक थापा मगर, प्रा.डा. पवन कुमार शर्मा, प्रा.डा. बिष्णु प्रसाद आचार्य, प्रा.डा. बुद्धि प्रसाद पौडेल, प्रा।डा। श्रीजना श्रेष्ठ छन ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानका लागि कृष्ण कुमार राई, प्रा.डा. पशुपति चौधरी, प्रा।डा। प्रल्हाद कार्की, प्रा।डा। विक्रम प्रसाद श्रेष्ठ, प्रा.डा. रामेशराज कोइराला, प्रा.डा. रोहित प्रसाद यादव छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्रा.डा. एलिजा श्रेष्ठ, सह प्रा.डा. डबल बहादुर धामी, डा. पवनजंग रायमाझी, सहप्रा।डा। पवन कुमार रोकाया, प्रा।डा।श्रीकृष्ण गिरी, प्रा।डा। सूर्यमान मेन्याङबो छन् ।
सूचीमा रहेका चिकित्सकहरुलाई साउन २२ गते बिहीबार अन्तवार्ता र कार्ययोजना पेश गर्न भनिएको छ ।
प्रकाशित: २० श्रावण २०८२ १९:१७ मंगलबार





