१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा कोरोना उपचार अस्पताल

भक्तपुर अस्पतालभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । यसका लागि आवश्यक भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवनको एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग तथा अन्तर्राष्टिय विकास विभाग (डिएफआइडी) नेपालका पदाधिकारीहरूको अनलाइन एव प्रत्यक्ष उपस्थितिमा भक्तपुर अस्पताल परिसरभित्र निर्मित कोभिड १९ उपचार भवनको निर्माण सम्पन्न भई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

जम्मा चार सय ८४ वर्ग मिटर जमिन ओगटेको भवनमा ६ बेडको आइ.सि.यू., ६ बेडको एन.आइ.सि.यू., २० बेडको वार्ड बेडहरू, दुई वटा आइसोलेसन बेडहरू, मेडिकल स्टोर, चेञ्ज रूम, यू.पि.एस. रूम, सुचर प्रोस्युजर रूम, स्टाफ रूम लगायत आवश्यक संख्यामा शौचालयहरू रहेका छन् । भवनबाट स्वास्थ्य सेवा सञ्चालन गर्न फर्निचर तथा मेडिकल उपकरणहरूको ब्यवस्था गरी कोभिड उपचार केन्द्रको सेवा सञ्चालन गरिने जनाइएको छ । साथै अस्पताल भवनहरूको रेट्रोफिटिङ्ग योजनाको पनि टेण्डर आब्हान भइसकेको र केहीं दिनमै उक्त कार्य सञ्चालन सुरू हुने पनि जानकारी गराइएको छ ।  

योजनामा भूकम्पीय प्रवलीकरणलगायत स्वास्थ्योपचारको लागि उपयोगी हुने गरी स्तरोन्नती र खानेपानी, ढल, फोहर, भित्री हावाको गुणस्तर ब्यवस्थापन आदिको कार्यसमेत समावेश गरिएको जनाइएको छ । रेट्रोफिटिङ्ग कार्यपश्चात् विद्यमान संरचनाहरू आगामी विनाशकारी भूकम्पहरूबाट सुरक्षित हुनेछ भने अस्पतालका भौतिक संरचनाहरू हालको मापदण्डको स्तरमा आई अस्पतालका सेवाहरू सहज र प्रभावकारी हुनेछ ।  

यसबाहेक अस्पतालको मौजुदा सेवा तथा सेवाका लागि आवश्यक भौतिक पूर्वाधारको अध्ययन गर्दा अस्पतालको महत्वपूर्ण सेवाहरू जस्तै प्रसुति सेवा, शल्यक्रिया, सघन उपचार ईकाइको सेवाका लागि पर्याप्त र उपयुक्त भवन संरचनाहरू नभएकाले यी महत्वपूर्ण सेवाहरूका लागि एक छुट्टै नयाँ भवन निर्माण गर्ने योजना पनि यसमा समावेश छ । यसबाहेक अस्पताललाई अत्यावश्यक देखिएका पोष्टमार्टम घर, सार्वजनिक शौचालय, अस्पताल भान्छा घर पनि नयाँ भवनका रूपमा निर्माण गरिने छ । यसमा जम्मा १६ करोड-१९ लाख ,३८ हजार रकम वरावरको नयाँ निर्माण हुनेछ । १२ करोड चार लाख ६१ हजार  रकम वरावरको मौजुदा भवनहरूको रेट्रोफिटिङ्गका काम हुनेछ ।  

नयाँ भवनमा लिफ्ट जडान गरी मौजुदा भवनहरूमा समेत आवागमनमा सहजता ल्याउने किसिमले डिजाइन गरिएको छ । यस बाहेक सबै शौचालयहरूलाई भत्काई अपांग मैत्री वनाइने छ । यसका लगायत अस्पतालको मूल सेवा वाहेक सेवाग्राहिहरूलाई आवश्यक सुविधाहरू, फोहर ब्यवस्थापन, पानी तथा पानी प्रसोधनको ब्यवस्था, ढल निकास तथा ढल प्रसोधनको ब्यवस्था, विजुली, बाहिरी जमिनको सुढृढीकरण पनि यस योजना अन्तर्गत समावेश गरिएको छ । यस आयोजना सम्पन्न भएपछि यस अस्पताल भूकम्प प्रतिरोधी हुने र हालको मापदण्डानुसार स्तरोन्नती समेत हुने हुँदा यस अस्पतालले स्वास्थ्य सेवा प्रवाहमा अझ बढी प्रभावकारीता आउने अपेक्षा लिइएको छ ।  

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालका अनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत डिएफआईडीको सहयोगमा सञ्चालन भइरहेको नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (तेस्रो) अन्तर्गत भक्तपुर अस्पतालभित्रका भवन संरचनाहरू रेट्रोफिटिङ्ग कार्य गर्ने आयोजना सञ्चालन भइरहेका छन् । उक्त आयोजना अन्तर्गत रेट्रोफिटिङ्ग गर्न मौजुदा भवनहरू खाली गर्न ती भवनका उपकरण, फर्निचर, विरामी तथा स्वास्थ्य सेवा अन्यत्र सार्नुपर्ने भएकोले त्यसै अस्पताल परिसरभित्र एक अस्थायी (डिक्यान्टिङ्ग) संरचनाको निर्माण कार्य सुरू गरिएको थियो । 

निर्माणको बीचमा कोभिड -१९ को विश्वब्यापी प्रकोपको आकस्मिक अवस्था उत्पन्न भएको र भक्तपुर अस्पताललाई कोभिड उपचार केन्द्र घोषित भए लगत्तै तुरून्तै यस डिक्यान्टिङ्ग भवनलाई कोभिड उपचार भवनका रूपमा प्रयोग गर्ने निर्णय भए अनुसार लकडाउनका वावजुद पनि विशेष प्राथमिकताका साथ निर्माण कार्य अघि बढाई यो संरचना निर्माणको कार्य सम्पन्न भएको छ ।

यस भवन निर्माणका लागि डिएफआईडीबाट आर्थिक तथा प्रविधिक सहयोग भएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अख्तियारी प्राप्त गरी शहरी तथा भवन निर्माण विभागबाट यसको निर्माणको लागि टेण्डर प्रक्रिया गरी ज्ञानज्योति विल्डर्स प्रा.लि. काभ्रेमार्फत निर्माण गराएको हो । भवनको निर्माण लागत एक करोड ८९ लाख १२ हजार तीन सय १०। (भ्याटसहित) रहेको छ । 

भवन निर्माणमा संलग्न सरकारी निकाय, दातृ निकायका पदाधिकारीहरू एवं प्राविधिक तथा निर्माण ब्यवसायी सम्पूर्णको सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।  

 

 

 

 

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App