कोरोना संक्रमणको सुरुवातसँंगै अरुण सैजूसहितको उद्धारकर्मीको टोलीलाई लागेको थियो, कोरोनाबाट कसैको मृत्यु भए त्यस्तो शव कुन एम्बुन्लेन्सले बोक्ला ? त्यस्ता शव बोक्न चैत दोश्रो सातामै उनको टोलीले विशेष एम्बुलेन्स बनाएर भक्तपुर अस्पतालमा राखेको थियो ।
शनिबार धुलिखेलमा कोरोनाबाट मृत्यु भएकी महिलाको शवलाई त्यही एम्बुलेन्सबाट काठमाडौंको पशुपति आर्यघाटमा पुर्याइएर विद्युतीय शब दाह गृहबाट दाहसंस्कार गरियो ।
सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया सुत्केरीको उद्धारकर्मी सैंजूसहित अर्काे उद्धारकर्मी राजेश गाइजूसहित महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधान, नेपाली सेना वीरदल गणका कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली शनिबार राति साढे सात बजे भक्तपुरबाट धुलिखेल पुगेको थियो ।
अस्पतालमा आठ बजे पुगेको टोलीले १५ मिनेटभित्र शवलाई एम्बुलेन्समा राखेको थियो ।
‘सम्भावित विरामीलाई बोक्न आनाकानी बढेपछि भक्तपुरमा ‘कोरोना विशेष एम्बुलेन्स’ तयार पारी सञ्चालन थालेका थियौं, सैंजूंले नागरिकसँंग भने, ‘खासमा हामीले कोरोनाबाट मृत्यु भएका मृतक बोक्ने मुख्य प्रायोजनले नै एम्बुलेन्स तयार पारेका थियौं, आज आएर काम लाग्यो ।’
निजी गाडी सहयोगबाट लिइएको एम्बुलेन्सलाई नेपाली सेना, नेपाल प्रहरीलगायतको संयुक्त पहलमा अत्याधुनिक बनाइएको थियो । कोरोना संक्रमण पुष्टि भएको व्यक्ति राखे पनि चालक लगायत अरुलाई संक्रमण नसर्ने गरी एम्बुलेन्सलाई अत्याधुनिक बनाइएको थियो ।
एम्बुलेन्स अरुभन्दा अलि होचो छ । यसमा विरामी एक जना मात्रै सुतेर बस्न मिल्ने गरी बनाइएको छ । विरामीको साथमा अरु कोही बस्न नमिल्ने भएकाले विरामी एक जना मात्रै सुतेर बस्न मिल्ने गरी बनाइएको छ ।
एम्बुलेन्समा अन्य सामान्य एम्बुलेन्समा जस्तै अक्सिजनलगायतका आधारभूत सामाग्री पनि राखिएको छ । साथै विरामीको बेड वरिपरि सबैतिर बन्द रुपमा ढाक्ने गरी प्लास्टिकको कवच पनि राखिएको छ, जसले अन्यलाई नसर्ने जनाइएको छ ।
विशेष एम्बुलेन्स एक जना दाताबाट निःशुल्क सवारी भाडामा लिई सञ्चालन गरेका थिए । कोरोनाको संक्रमणको त्रास हटेपछि यो गाडी पुनः मालिकलाई नै फिर्ता दिइनेछ ।
विशेष रुपमा यो एम्बुलेन्स कोरोना संक्रमितलाई भन्दा पनि कोरोनाबाट मृत्यु भए उनीहरुलाई राख्न शव बाहन एम्वुलेन्सका रुपमा प्रयोग गरिनेछ । ‘यो एम्बुुलेन्स ८० प्रतिशत कोरोनाबाट मृत्यु भएकाहरु बोक्ने शव एम्बुुलेन्सको रुपमा प्रयोग गर्न हो, उनले जनाए, २० प्रतिशत प्रयोगचाहिँ कोरोना विरामी बोक्न हो ।’
यो एम्बुलेन्सले उपत्यकाभर सेवा प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ । अहिले पनि यो विशेष एम्वुलेन्स भक्तपुर अस्पताल परिसरमा राखिएको छ ।
प्रकाशित: ४ जेष्ठ २०७७ ०८:१९ आइतबार