२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटकीय सिजनमै पोखराका होटलमा ३० प्रतिशत छुट

पाहुना भएनन्, त्यसैले छुट दिएर आकर्षण गर्न चाहेका हौः व्यावसायी

पोखराका होटलमा दिइने छुट घोषणा गर्दै पर्यटन व्यावसायी। तस्बिरः सन्तोष/नागरिक

पर्यटन क्षेत्रमा मुख्य सिजन चलिरहँदा पोखराका होटल व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलमा ३० प्रतिशत छुटको घोषणा गरेका छन्। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले बताएको छ। अहिलेको छुट तिहारसम्म लागु हुने संघले बताएको छ।  

सेप्टेम्बर–नोभेम्बर पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ। व्यावसायीले मुख्य सिजनमा होटलमा यो आकारको छुट दिएको पहिलो पटक हो। अरुबेला विशेष मेला महोत्सवको अवसरमा छुट दिएपनि मुख्य सिजनमा पाहुना पर्याप्त हुने भएकोले अघिल्ला वर्ष छुट दिने गरेका थिएनन्। तर यो सिजनमा निकै नै कम पाहुना भएपछि छुट दिएर भएपनि पाहुना आकर्षित गर्न खोजेको उनीहरुको भनाई छ। अहिलेको छुट होटलको आवासमा मात्र हुने पनि व्यावसायीको भनाई छ।

यो बेला मुख्य सिजन भएपनि पर्यटक नआएको व्यावसायीको भनाई छ। आन्तरिक र बाह्य सबैखाले पर्यटक अभाव भएको व्यावसायीको भनाई छ। पछिल्लो समयको बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा अप्ठेरो परेको र त्यसले गर्दा पाहुना आउन नसक्दा होटलका कोठा खालि भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 

‘यो बेला जुन आकारमा पाहुना हुनुपर्ने हो, त्यो भएनन । होटलका कोठा खालि रहे। आन्तरिक तथा बाह्य पाहुना आउने अवस्था पनि रहेन,’ छुट घोषणा गर्न मंगलबार आयोजित पत्रकार भेटघाटमा सुवेदीले भने, ‘पाहुना अभाव भएपछि छुट दिएर भएपनि आकर्षण बढाउन खोजिएको हो।’

उनका अनुसार होटलले प्रकाशित गरेको मुल्यमा छुट भएपनि दोहोरिएर आएका पाहुनाले अघिल्लो पटक तिरेको भन्दा ३० प्रतिशत सस्तोमा आवास पाउनेछन। ‘अघिल्लो पटक कसैले ५ हजार रुपैयाँ तिरेको रहेछ भने अहिले ३० प्रतिशत घटाएर ३५ सय रुपैयाँमा बस्न पाउनेछन,’ उनले भने, ‘होटलले तोकेको शुल्क जे जति परेपनि पाहुनाले छुटको अनुभव पक्कै गर्नेछन। होटलले प्रकाशित गरेको छुट भनिएपनि पाहुनाले पहिलेको भन्दा महंगो तिर्नुपर्दैन।’

व्यावसायीले छुट सहितको प्याकेज समेत बनाएको पनि अध्यक्ष सुवेदीले बताए। ‘होटलले आफ्नै छुट सहितको प्याकेज पनि बनाएका छन। संघमा आवद्ध होटलले ३० प्रतिशत छुट दिनैपर्छ। त्यसबाहेक व्यावसायीले थप छुट दिन चाहेमा कसैले रोक्दैन,’ उनले भने, ‘व्यक्तिगत रुपमा दिने छुट दिन सक्छन।’ होटल संघ पोखरामा ४ सय २५ वटा सदस्य होटल रहेका छन। ती सबै होटलमा यो छुट अनिवार्य गर्ने भनेर परिपत्र समेत गरेको उनले बताए।  

व्यावसायीका अनुसार यो बेला पोखराका होटलका अकुपेन्सी कम्तिमा ९० प्रतिशत हुनुपर्ने हो। तर, अहिले त्यो आकार आधा भन्दा पनि कम रहेको उनीहरुले बताए। ‘मुस्किलले ४० प्रतिशत अकुपेन्सी रहेको हाम्रो अनुमान छ। त्यसले त होटलको संचालन खर्च पनि धान्दैन,’ उनले भने, ‘यस्तो कठिन अवस्था आयो की मुख्य सिजन चलिरहँदा भारी छुट दिन बाध्य भएका छौ।’  

यो बेलाको होटलको अकुपेन्सी निकै नै कम रहेको उनले बताए। ६०–७० प्रतिशत अकुपेन्सी भएको भए हामी आत्तिनै थिएनौ। तर, अहिले त पाहुना आगमनको आकार निकै नै कमजोर रहेको छ,’ उनले भने। उनका अनुसार अहिले आन्तरिक पाहुना पनि निकै नै कम छन्। आन्तरिक पाहुना पनि अहिले घुमघाममा निस्कने अवस्था सहज नहुँदा त्यसले दसैंको बिदामा पोखरा आउने आन्तरिक पाहुनाको आकार घट्ने अनुमान व्यावसायीको छ।  पर्यटकीय सिजन चलिरहँदा विदेशी पाहुना आउन नसक्ने गरि नेपालमा विपद्का घटना दोहोरिएको व्यावसायीको भनाई छ।

‘नेपालमा विपदले क्षतविक्षत पारेको छ। पाहुना हिडडुल गर्ने अवस्था नै रहेन। यो बेला आउन चाहेका विदेशीले पनि अहिलेको यात्रा क्यान्सिल गरेका छन,’ उनले भने, ‘आन्तरिक पर्यटक पनि निर्धक्कका साथ घुमफिरमा निस्कने अवस्था रहेन। कहाँ कतिखेर कस्ता घटना हुन्छन भन्ने यकिन नभएकोले पनि समस्या परेको छ।’

अध्यक्ष सुवेदीले केही आन्तरिक पाहुनालाई पोखरा भित्र्याउन सकिन्छ की भनेर यो छुट दिएको बताए। दसैं लगत्तै सीमावर्ति भारतीय सहर र स्वदेशभित्रकै ठूला सहरमा जाँउ है पोखरा अभियान चलाएर आन्तरिक पाहुनलाई पोखरा घुम्न बोलाउने गरि प्रवद्र्धनात्मक गतिविधि चलाउने तयारी रहेको पनि उनले सुनाए। पदयात्रा क्षेत्रमा केही विदेशी रहेपनि पोखरामा आउने पाहुना नरहेको उनले बताए। ‘विपद् हुनुअघि नै नेपाल भित्रिएर पदयात्रामा रहेका पाहुना अझै केही छन्। पदयात्रामा अहिले पनि पाहुनाको आकार राम्रो छ। तर, पोखरा क्षेत्रमा पाहुना निकै नै कम छन्,’ उनले भने।  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माले पनि पाहुना आगमन निकै नै कमजोर रहेको बताए। ‘मुख्य सिजनका बेला छुट दिन हामी बाध्य छौ। मुस्किलले ४० प्रतिशत पाहुना रहेको अनुमान छ। नत्र कोभिड संक्रमणका बेला बाहेक अरुबेला कहिल्यै यस्तो संकट खेप्नुपरेको थिएन,’ शर्माले भने, ‘विपद्ले क्षति गरेको भएपनि गण्डकी प्रदेशमा त्यसको असर केही छैन। प्रदेश सुरक्षित रहँदारहँदै पनि पाहुना भित्रिने मुख्य नाकामा असर परेकोले आगमन कमजोर भएको हो।’  

संघका महासचिव राजेन्द्र ढकालले पनि अहिलेको अवस्थामा पाहुनाको आगमन निकै नै कमजोर रहेको बताए। ‘अघिल्ला वर्ष दसैं आसपासमा आन्तरिक पाहुना त हुन्थे। अहिले त आन्तरिक पनि आएका छैनन। विदेशी त झनै परेको कुरा भयो,’ ढकालले भने, ‘पर्यटन क्षेत्र निकै नै संकटमा परेको हामीले महसुस गरेका छौ।’ पर्यटन क्षेत्रका अनुसार पोखराको पर्यटन क्षेत्रम ामात्र करिब ६ खर्ब रुपैयाँ लगानी छ। त्यसमध्ये करिब ५ खर्ब होटल क्षेत्रमा मात्रै छ। पोखराका होटलमा करिब १५ हजार मजदुर कार्यरत छन् भने करिब ४० हजार पाहुनालाई एकरातमा राख्न सक्ने क्षमता पोखरासँग रहेको व्यावसायीले बताएका छन्।  

प्रकाशित: २२ आश्विन २०८१ १७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App