१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सीमानाबाट नेपालीको प्रश्न : भारतले क्वारेन्टाइनमा नराख्ने, नेपालले फर्काइरहने हामी कहाँ जाउँ ?

बुटवल- रुपन्देहीको  कोटहीमाइ गाँउपालिका १  रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन्। बम्बैको कपडा उद्योगमा ६ महिना काम गर्न नपाउँदै कारोनाको त्रास फैलीयो। उद्योग बन्द भयो। लकडाउनले काम खोसीएपछि बेखर्ची भएका उनीहरुले कयौ रात सडकमै बिताए। भोकभोकै बसे। सडकबाट पनि प्रहरीले लखेटे पछि घर फर्कनुको बिकल्प भएन। सत्र दिन अघि बम्बैबाट हिडेका उनीहरु मालबाहक ट्रक र पैदलै गरेर शनिबार सीमावर्ती बजार नौतनवा आइपुगेका थिए।

नौतनवा त्यही ठाँउ हो जहाँ नेपाल फर्कन खोज्ने नेपालीहरुलाई राख्न भनेर क्वारेन्टाइन बनाइएको छ। अहिले पनि सो क्वारेन्टाइनमा केही नेपाली छन्। तर लोध दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले बम्बैबाट फर्केको भनेपछि क्वारेन्टाइनमा राख्न मानेन। बरु मर्चवार पारिपट्टीको ठोठरी बजार पुर्याइदिए। भारतीय सुरक्षाकर्मीले रातीको समयमा ठोठरी–मुडिला नाकाबाटै नेपाल पस्न दवाव दिए। तर सशस्त्रले दशगजामै रोकीदियो। नेपालका सुरक्षाकर्मीले उनीहरुलाई नौतनवाको क्वारेन्टाइनमा राखिदिनु भनेर भारतीय सुरक्षाकर्मीकै जिम्मा लगाइदिए। तर भारतीयले उनीहरुलाई क्वारेन्टाइन लैजानुको साटो मर्चवारी गाँउपालिका १ स्थित कुरहवा नाका तर्फ खेदाए। त्यही नाकाबाट आइतबार बिहान ३ बजेतिर लोध दाजुभाई सहित अरु सात जना नेपाल पस्दै गर्दा सशस्त्रले फेरी नियन्त्रणमा लिएर एसएसविलाई नै बुझाइदियो। ‘हामीले उनीहरुलाई नौतनवाको क्वारेनटाइनमा राखिदिनु भनेर एसएसवीको जिम्मा लगाएका छौं’ कुरहवामा खटिएका सशस्त्रका एकजना जवानले भने।

नेपालका सुरक्षाकर्मीहरुले नौतनवा क्वारेन्टाइन पठाएका भनिएका ती दाजुभाइ सहितको १७ जनाको टोलीलाई एसएसवीले क्वारेन्टाइनमा हैन ठोठरीमै चौरमा राखेको छ। आइतबारै राती मुडिला नाकाबाटै नेपाल छिराउने योजना सहित उनीहरुलाई ठोठरीमा राखिएको हो। ‘राती ९ बजेपछि तिमीहरुलाई नेपाल पठाइदिन्छौ। आज नभए भोली त जसरीपनि घर जान पाउँछौ भनेर एसएसवीका जवानले भनेका छन’ नागरिकसंगको टेलिफोनमा कुराकानीमा लोधले भने।

आइतबार बिहान पनि मुडिला र करौता नाकाबाट १६ जना नेपाल पसेका थिए। दिल्ली र बम्बैबाट फर्केका उनीहरुलाई चार दिनदेखि नेपालका सुरक्षाकर्मीहरुले दशगजामा रोक्दै फर्काइदिदै गरेका थिए। सशस्त्रले त्यसरी आउनेलाई नौतनवाको क्वरेन्टाइनमा राखिदिनु भनेर एसएसवीको  जिम्मा लगाइदिन्छ। तर भारतीय पक्षले भने कारोना संक्रमण फैलीरहेका शहरबाट आएकालाइ क्वारेन्टाइनमा नराख्ने भन्दै पुन अर्को नाकामा लगेर छोडीदिन्छ।

शनिबार पनि मुडिला,तरइनी,करौता,कक्रहवा नाकाबाट ३८ जना नेपाल पसेका थिए। उनीहरु भारतको दिल्ली,बम्बै र गुजरातबाट फर्केका हुन। भारतीय पक्षले आफुहरुलाइ क्वारेन्टाइनमा राख्न नमानेपछि लुकेरै भएपनि नेपाल पस्न बाध्य भएको मुडिलाबाट पसेकाले बताएका छन। शनिबार मुडिलाबाट नेपाल छिरेका सम्मरीमाइका सलाउद्धिन मुसमानले कारोना फैलिएका शहरबाट आएकालाइ नराख्ने भन्दै आफुहरुलाई नौतनवा क्वारेन्टाइनको गेटबाटै फर्काइएको बताए। हामी आफै नौतनवाको क्वारेन्टाइनमा बसेर घर जाने योजनामा थियौं। तर क्वारेन्टाइनका सुरक्षाकर्मीले दिल्ली,बम्बैबाट आएकालाइ ठाँउ छैन भन्दै हप्काए’ सलाउद्धिनले भने। चार दिन सम्म सिमा नाकामा भोकभोकै भौतारिएपछि शनिबार बल्ल सुरक्षाकर्मीको आँखा झलेर गाँउ पस्न सफल भएको मुवारक अलिले बताए।

कारोना त्रासका कारण सिमा नाका बन्द गर्दा भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारतीय पक्षले र नेपालमा अलपत्र पर्ने भारतीयलाई नेपालले व्यवस्थापन गर्ने भनिएको थियो। लकडाउनले काम बिहिन भएर घर जान निस्केका नागरिकलाई जुन देशमा छन् त्यही देशको क्वारेन्टाइनमा राख्ने भनिएको थियो। तर अहिले भारतीय पक्षले सो सहमती पालना गरेको छैन।

काम बिहिन भएर सडकमा निस्कन बाध्य नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्नुको साटो नेपाल पस्न दवाव दिइरहेका छन्। जसका कारण अहिले नेपाल भारत सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र छन। जो खुल्ला आकाश मुनी  भोकैप्यासै बसेका छन। लामखुट्टे किराकिरीको टोकाइको जोखीमा छन्।

त्यसरी अलपत्र पर्नेहरु मध्ये केहीलाई वारीका जनप्रतिनिधिले नै लुकाएर नेपाल ल्याएका छन्। केही रातीको समयमा नेपाल पसिरहेका छन्। त्यसरी आउनेहरु अधिकाँस गुपचुपै आफनो घर पुगेका छन्। स्थानीयको नजरमा परेका केहीलाई क्वारेन्टाइनमा पठाइएपनि तीनको परीक्षण हुन सकेको छैन। जसले कारोनाको जोखीम बढाइरहेको छ। सीमामा खटिएका एकजना सुरक्षाकर्मीका अनुसार भारतको बम्बै,दिल्ली,पन्जाव,गुजरात जस्ता कारोना फैलिएका शहरबाट फर्कीएका नेपालीहरुलाई अहिले भारतीय पक्षले क्वारेन्टाइनमा राख्न मानेको छैन। उनीहरुलाई सिधै नेपाल जाउ भनेर दवाव दिइन्छ। रातीमा लुकेर नेपाल पस्न खोज्नेलाइ हामीले पारी नै फर्काइदिन्छौं र पारीको सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राखिदिन अनुरोध पनि गर्छौ। तर भारतीय सुरक्षाबल एसएसवीले नेपालीलाई क्वारेन्टाइनमा नलगी  दशगजामै छोडिदिन्छ’ ति सुरक्षाकर्मीले भने।

भारतमा काम बिहिन भएर लखेटिएका आफना नागरिकको सुरक्षित उद्यार तथा व्यवस्थापनका सम्बन्धमा नेपाल सरकारले पनी ठोस कदम चाल्न सकेको छैन। जसका कारण सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा चुनौती थपिएको जानकारहरु बताउँछन्।

अधिकार कर्मी तथा अधिवक्ता शिव गौडेलले दश गजामा अलपत्र परेका नेपालीहरुको उद्यारका लागि सरकारले तत्काल उचित कदम चाल्नु पर्ने बताए। ‘भारत तथा अन्य मुलुकमा पसीना बगाएका नागरिकले पठाएकै रेमिट्यान्सले देश चलाउने सरकारले विपतका बेला तीनै नागरिकलाइ अनागरिक जस्तो व्यवहार गरिनु दुर्भाग्य हो’ अधिवक्ता गौडेलले भने।भारतबाट फकर्नेहरुको संख्या अझ बढने भन्दै उनले समयमै उचित निकास निकाल्नु पर्नेमा जोड दिए।

सीमामा खटिएका सुरक्षा अधिकारीहरु पनि नाकामा कडाइ गर्ने आदेशले मात्रै यो समस्या समाधान नहुने बताउँन। भारतमा लकडाउन खुकुलो भएसगै ठुलो सख्यामा नेपालीहरु घर फर्कीरहेको खबर आफुहरुले पाएको भन्दै ति सुरक्षा अधिकारीले समयमै यसको उचित निकाश ननिकाले स्थिती अप्रिय हुन सक्ने बताए।

रुपन्देहीको मर्चवार र लुम्बिनी क्षेत्रका  नाकाहरुमा मात्रै ५/६ सयको हाराहारीमा नेपालीहरु रहेको र ती रातीको समयमा लुकेर पस्न खोजीरहेको स्थानीय बताउँछन। रुपन्देहीकै बेलहिया नाका पारी सुनौलीमा पनि करिब एक हजार नेपालीहरु घर फर्कने बाटो कुरेर बसेका छन। सीमामा अलपत्र पर्नेहरुमा क्वारेन्टाइनमा बसेका, नबसेका तथा कारोना जोखीमयुक्त क्षेत्रबाट फर्केकाहरु एकै ठाँउमा मिसिदा त्यसले जोखीम झन बढाइरहेको स्वयम सुरक्षाकर्मीहरु नै बताउँछन।

 

प्रकाशित: २८ वैशाख २०७७ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App