१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रुपन्देही, नवलपरासी र कपिलबस्तुका सीमानाकामा करिव तीन हजार नेपाली अलपत्र

फाइल तस्बिर

बुटवल- रुपन्देहीको बेलहिया नाका पारी भारतीय बजार सुनौलीका सडक पेटीहरु केही दिन यता नेपालीहरुले भरीभराउ देखिन्छन्। त्यो हुलमा महिला बालबालिका र बृद्ध पनि छन। ती मध्ये केही भारत स्थित नौतनवाको क्वरेन्टाइनमा १४ दिन बसेर फर्केका हुन। केही भने दिल्ली,बम्बै,पञ्जाव,बैङलोर,लखनउ जस्ता शहरबाट सिधै आएका हुन्।

भारतीय क्वरेन्टाइनमा १४ दिन बिताएका र क्वारेन्टाइनमै नबसी सिधै आएकाहरु अहिले एकै ठाँउमा मिसीएका छन। दशगजा क्षेत्रमा भेटिएकाहरुले दिनभर घर फर्कन दिन नेपालका सुरक्षाकर्मीहरुसँग हारगुहार गर्छन्। साँझ परेपछि छेउकुनाबाट लुकेर पस्न पाइन्छ की भनेर तितरबितर हुन्छन्। सीमावर्ती गाँउका स्थानीय एकान्त, झाडी तथा खेत हुदै गाँउ पस्छन्। नसक्ने फेरी सुनौलीकै सडक पेटिमा फर्कन्छन्। ‘नजिकै घर हुनेहरु त धेरै लुकेर गइसके हामी जस्ता टाढाकालाई अलि समस्या भइरहेको छ’  ओमसतिया घर बताउने एक जना युवकले भने। उनी पाँचदिन अघि मालसामान बोक्ने ट्रकमा चढेर सुनौली आएका थिए। सामानसंगै सिधै नेपाल छिराउने भन्दै ट्रक चालकले  भाडा बाहेकको १५ सय भारु लिए पनि दशगजामै प्रहरीले झारीदियो। त्यसरी आउनेलाई नेपाल प्रहरीले भारततिरै फर्काएपछि केही दिन उनी नौतनवाको क्वरेन्टाइनमा  बसे। तर घर फकर्नेहरुको संख्या बढदै गएपछि भारतीय पक्षले नेपालीहरुलाई क्वारेन्टाइनमा नराखी नेपाल फर्कन दवाव दिइरहेका छन्। ‘दुइ दिन क्वारेन्टाइनमा बसीयो। तेश्रो दिन हामीसंग अन्नपानी सकियो आफ्नै देश जाउ भन्न थाले अनि फेरी सडकमै आयौं’ ती  युवकले भने। सडक पेटीमै बस्दा पनि भारतीय सुरक्षाकर्मीले आफ्नै देश जाउ भनेर दवाव दिइरहेको उनको भनाइ छ।

नौतनवाको क्वारेन्टाइनमा राखीएका ३ सय नेपालीलाई तीन साता अघि नेपाल ल्याइएको थियो। त्यसयता अहिले फेरी बेलहिया नाकापारी २ हजारको हाराहारीमा नेपाली घर फकर्ने दिन कुरेर बसेका छन्। भारतीय पक्षले ती सबै क्वारेन्टाइनमा १४ दिन बसेको दावी गरीरहेको छ। तर त्यो हुलमा नौतनवाको क्वरेन्टाइनमा दुइ/चार दिन राखेर खेदाइएका धेरै छन। दिल्ली बम्बै जस्ता कारोना फैलिरहेका  शहरबाट सिधै आएका,दुइ/चार दिन क्वरेन्टाइनमा राखीएका र क्वरेन्टाइनमा १४ दिन बिताइसकेका समेत एकै ठाँउमा घुलमिल भएकाले बेलहिया नाकामा अलपत्र परेका सबै कारोनाको उच्च जोखीममा रहेको सीमामा खटिएका सुरक्षाकर्मी बताउँछन्।

सीमामा खटिएका एकजना सुरक्षाकर्मीका अनुसार भारतको बम्बै,दिल्ली,पन्जाव,लखनउ जस्ता कारोना फैलिएका शहरबाट फर्कीएका नेपालीहरुलाई अहिले भारतीय पक्षले क्वारेन्टाइनमा राख्न मानेको छैन। उनीहरुलाइ सिधै नेपाल जाउ भनेर दवाव दिइन्छ। रातीमा लुकेर नेपाल पस्न खोज्नेलाइ हामीले पारी नै फर्काइदिन्छौं र पारीको सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राखीदिन अनुरोध पनि गर्छौ। तर भारतीय सुरक्षाबल एसएसवीले नेपालीलाई क्वारेन्टाइनमा नलगि  दशगजामै छोडिदिन्छ’ ति सुरक्षाकर्मीले भने। गत बुधबार  कपिलबस्तुको मर्यादपुर नाकाबाट नेपाल पसेका ८८ जनाको टोलीलाई नेपालका सुरक्षाकर्मीहरुले भारतीय पक्षलाइ जिम्मा लगाएर क्वारेन्टाइनमा राख्न अनुरोध गरेका थिए। तर भारतीय सुरक्षाबल एसएसवीले ती नेपालीहरुलाई दशगजा क्षेत्रमै छोडिदिए। अहिले पनि उनीहरु दशगजा क्षेत्रमा खुला आकास मुनी बसीरहेका छन्। भारतीय पक्षले उनीहरुलाई अहिले पनि नेपाल पस्न दवाव दिइरहहेको सीमाका स्थानीय बताउँछन। जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका अनुसार जिल्लाका बिभिन्न नाकाहरुमा अहिले ९ सयको हाराहारीमा नेपालीहरु अलपत्र परेका छन्। त्यस्तै नवलपरासीको झुलनीपुर लगायतका अन्य नाकामा पनि करिब २/३ सयको हाराहारीमा नेपालीहरु लुकेरै भएपनि नेपाल पस्ने आसमा सीमा पारी लुकेर बसेको सीमा क्षेत्रका स्थानीय बताउँछन। शुक्रबार साँझ मात्रै लुकेर नेपाल पस्न खोजेका १६/१७ जनालाई प्रहरीले सीमाबाट फर्काइदिएको थियो।

कारोना त्रासका कारण सीमा नाका बन्द गर्दा भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारतीय पक्षले र नेपालमा अलपत्र पर्ने भारतीयलाइ नेपालले व्यवस्थापन गर्ने दुइ देशबीच सहमती भएको थियो। तर सो सहमती भारतीय पक्षले पालना गरेको छैन। जसका कारण अहिले नेपाल भारत सीमा नाकाको दशगजा क्षेत्रमै सयौ नेपालीहरु  अलपत्र परेका छन्। रुपन्देही र कपिलबस्तु र नवलपरासीको सिमानाकाहरुमा साढे दुइ हजार भन्दा धेरै नेपाली दशगजा क्षेत्रमा अलपत्र छन। भारतका बिभिन्न शहरबाट घर फर्केका ती नेपालीहरुलाइ भारतीय पक्षले क्वारेन्टाइनमा राख्नुको साटो नेपाल पस्न दवाव दिइरहेको छ।

भारतमा काम बिहिन भएर लखेटिएका आफना नागरिकको सुरक्षित उद्यारका सम्बन्धमा नेपाल सरकारले पनी ठोस कदम चाल्न सकेको छैन। दशगजामा अलपत्र परेका नेपालीहरुको उद्यारका लागि सरकारले तत्काल उचित कदम चाल्नु पर्ने बताउँछन अधिवक्ता शिव गौडेल। ‘सरकारले कि त आफना नागरिकलाई सुरक्षित रुपमा उद्यार गरी क्वारेन्टाइनमा राख्नु पर्यो हैन भने दुइदेशबीचको सहमती अनुरुपको व्यवस्थापनकालागि भारतीय पक्षलाइ दवाव दिन सक्नु पर्छ’ अधिवक्ता गौडेलले भने। सीमा क्षेत्रमा अलपत्र पर्नेहरुको सहि व्यवस्थापन नहुँदा पछिल्लो समय लुकेर नेपाल पस्ने क्रम पनि बढेको छ। लुकिछिपि आउनेहरु अधिकाँस गुपचुपै आफनो घर पुगेका छन। स्थानीयको नजरमा परेका केहीलाइ क्वारेन्टाइनमा पठाइएपनि तीनको समेत परीक्षण हुन सकेको छैन। जसकाले कारोनाको जोखीम बढाइरहेको छ। कारोना संक्रमण भएका रुपन्देहीका युवापनि एक साता अघि दिल्लीबाट  आएर लुकेरै नेपाल पसेका थिए। कपिलबस्तुका दुइ संक्रमित युवापनि बम्बैबाट आएर दशगजा क्षेत्रमा केहीदिन बसेपछि  लुकेरै नेपाल पस्न सफल भएका थिए।

 

प्रकाशित: २७ वैशाख २०७७ ०५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App