१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा दोश्रो चरणको आरडिटी सुरु, २३ जनाको रिपोर्ट ‘नेगेटिभ’

खोटाङ– खोटाङमा दोश्रो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) सुरु गरिएको छ । पहिलो चरणमा विभिन्न देशबाट चैत यता घर फर्किएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका सर्वसाधारणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएकामा बुधबारदेखि स्वदेशभित्रकै विभिन्न स्थानबाट घर आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्ति वा संक्रमितको सम्पर्कमा रहेर आएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।

प्रदेश सरकारबाट ३ सय ६० थान परीक्षण किट आएपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाबाट दोश्रो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

वडा कार्यालय जालपाको क्वारेन्टाइनमा राखिएका सबै २३ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्टको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अन्य स्थानीय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राखिएका स्थानीयको क्रमशः र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिने जिल्ला अस्पतालले जनाएको छ । जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ, साकेला र रावाबेँसी गाउँपालिकामा जिल्ला अस्पतालबाटै स्वास्थ्यकर्मी पठाएर र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिने छन् भने अन्य स्थानीय तहमा ल्यावमा काम गर्ने स्वास्थ्यकर्मी भएकाले किट पठाएर तिनै स्वास्थ्यकर्मीमार्फत र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । ‘प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी भएका स्थानीय तहले किट लगेर परीक्षण गराउँछन्,’ डा. श्रेष्ठले भने, ‘ल्यावमा काम गर्ने स्वास्थ्यकर्मी नभएका स्थानीय तहमा अस्पतालबाटै जनशक्ती पठाएर आरडिटीको काम गर्नेछौँ ।’

जिल्लामा पहिलो चरणमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा १४१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । पहिलो चरणमा रावाबेँसी गाउँपालिकाका ३ जना, साकेला गाउँपालिकाका १५ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५ जना, हलेसी तुवाचुङ नगरपालिकाका २४ जना, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २८ जना, बराहपोखरी गाउँपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका २७ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ‘नेगेटिभ’ आएको प्रजिअ पौडेलले बताए ।

रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टीन वा होम क्वारेन्टीनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि जन्तेढुंगा गाउँपालिकाबाट बैसाख ३ गतेदेखि पहिलो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको थियो ।

यस्तै, पहिलो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्टका क्रममा जिल्लाबाट पठाइएका १७ जनाको नमूना (स्वाव)को पिसिआर रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो । पिसिआरका लागि खोटेहाङ गाउँपालिकाबाट ५ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ६ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ५ जना र जन्तेढुंगा गाउँपालिकाबाट १ जनाको नमूना पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । आरडिटीको सबै रिपोर्ट ‘नेगेटिभ’ देखिए पनि १० प्रतिशतको नमूना संकलन गरेर पिसिआरका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

यसभित्र फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीसँगै कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का एक युवा तथा उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुर ठानागाउँका एक पुरुषको पिसिआर रिपोर्ट पनि समावेस छन् ।

प्रकाशित: २४ वैशाख २०७७ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App