३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आरडिटी किट र भिटिएम अभावले परीक्षण प्रभावित

बारा - संक्रमितको सम्पर्कमा आएका वा बाहिरबाट आएर जिल्लाको विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरूमा कोरोना परीक्षण गर्न आवश्यक पर्ने आरडिटी किट र भिटीएम अभाव भएको छ। एक सातापहिला जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर र १९ इनर्वामा बस्दै आएका दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। भारतको दिल्लीमा भएको तबलिगी जमातको धार्मिक भेलामा सहभागी भएर दुवैजनाले ४९ दिन पहिला फर्केर जितपुरका स्थानीय आफ्नो घरमा बस्दै आएका थिए भने अर्का इनर्वास्थित मदरसामा बसेर त्यही पढाउँदै आएका थिए।

जिल्लामा दुईजनामा एकैपटक कोरोना संक्रमन देखा परे पनि परीक्षणको दायरा बढाउनुपर्ने बेला परीक्षण गर्न आवश्यक किट अभावले जोखिम बढाएको छ। अहिले १६ वटा स्थानीय तहका क्वारेन्टाइनमा राखिएका लगभग दुई सयजनाको परीक्षण गर्नुपर्ने र जितपुर सिमरामा भेटिएका दुई संक्रमितको सम्पर्कमा आएकाको समेत पहिचान गरी परीक्षण गर्नुपर्ने अवस्थामा किट अभाव भएको बताइएको छ।आरडिटी किट र भिटिएम अभावले क्वारेन्टाइनमा १४ भन्दा बढी दिनदेखि क्वारेन्टाइनमा राखिएका र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कोरोना परिक्षण गर्नमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

स्वास्थ्य कार्यालय बाराका महामारी रोग नियन्त्रण शाखाका प्रमुख शंकर गुप्ताले १० दिनदेखि आरडिटी किट सकिएकाले कोरोना संक्रमितको सम्पर्कमा आएका र क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण गर्नमा समस्या भएको बताए। आरडिटी किटबाट शंकास्पद व्यक्तिको परीक्षण गर्दा १५ मिनेटमै कोरोना संक्रमण छ/छैन थाहा पाउन सकिने भए पनि अहिले किट अभावमा पिसिआर विधिबाट परीक्षण सुरु गरिएको गुप्ताले बताए। पिसिआर विधिबाट परीक्षणका लािग थ्रोट स्वाब संकलन गर्दा आवश्यक पर्ने भिटिएमको समेत अभाव भएकाले परीक्षणको दायरा बढाउन नसकिएको गुप्ताले बताए। माथिल्लो निकायबाट आरडिटी सकिएको र थप किट माग गरिए पनि उपल्बध नगराइएको गुप्ताको गुनासो छ। आरडिटी नहुँदा पिसिआर गर्न आवश्यक पर्ने भिटिएम सकिएको अवस्थामा धेरै पहल गर्दा प्रदेश सरकारले ५० वटा मात्रै भिटिएम दिएको र त्यो पनि सकिइहाल्ने अवस्था रहेको गुप्ताले बताए।

प्रदेश सरकारबाट प्राप्त भएको ५० वटा भिटिएममध्ये सोमबार १४ दिनभन्दा बढी समय क्वारेन्टाइनमा बसेर घर पठाउन लागिएका प्रसौनी गाउँपालिकाका तीन, फेटा गाउँपालिकामा १० र करैयामाई गाउँपालिकाका ६ गरी १९ जनाको पिसिआर गर्न थ्रोट स्वाब संकलन गरी परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको गुप्ताले बताए। त्यसैगरी मंगलबार निजगढ नगरपालिकाका १६, महागढीमाई नगरपालिकाको एक र सुवर्ण गाउँपालिकाका ६ जनाको पिसिआर गर्न स्वाब संकलन गर्न कार्यमा जनशक्ति खटिएको गुप्ताले बताए। २३ जनाको स्वाब संकलन गर्न २३ वटा भिटिएम खर्च हुँदा सातवटा मात्रै भिटिएम बाँकी रहने अवस्था देखिएको गुप्ताले बताए।

प्रकाशित: २४ वैशाख २०७७ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App