१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

लकडाउनमा आएका ८ हजारलाई क्वारेन्टाइनमा नराख्दा जोखिम

धनगढी- लकडाउनकै बीच बैशाख महिना हुलका हुल मान्छे बिभिन्न ठाउँबाट सुदूरपश्चिम प्रवेश गरे । औपचारिक रुपमा सवारी साधन चल्न दिने घोषणा नगरे पनि जनप्रतिनिधि, राजनीतिक दलका नेता र कार्यकर्ता पहलमा काठमाडौ, बुटवल, बिराटनगर, नेपालवगंज सबैतिर छरिएर रहेका विद्यार्थी, मजदुर, सर्वसधारण बसमा भित्रिएका हुन । चिसापानीबाट सुदूरपश्चिममा एकै दिन २५, ३० बसमा सयौ व्यक्ति भित्रिए ।

लकडाउनका बीच देशका बिभिन्न ठाउँबाट कैलालीमा प्रवेश गरेको संख्या ८ हजार ६ सय ७९ रहेको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षबहादुर बस्नेतले बताए । यि प्रवेश गर्नेमा देशका ६ वटै प्रदेशवाट आउनेहरु रहेको उनी बताउँछन् । लकडाउनका बीच भ्यिाइएका यि साढे ८ हजार भन्दा बढी जनालाई क्वारेन्टाइनमा नराखी घर पठाइएको छ । यसअघि संक्रमण नदेखिएको रुपन्देही र नेपालगंजमा संक्रमण देखिएपछि बिभिन्न ठाउँबाट आएका हजारौ जनालाई जाँच समेत नगरी क्वारेन्टाइनमा नराखेर घर पठाउदाँ कोरोना संक्रमण फैलिने जोखिम रहेको विज्ञहरुले बताएका छन् ।

संक्रमितमा लक्षण नदेखिने गरेको र कुन कुन ठाउँमा संक्रमित छन् भनेर एकिन समेत नभएकाले संक्रमण नदेखिएको ठाउँबाट आएको भन्दै घरघर पठाउनु उपयुक्त नहुने वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ बताउँछन् । ‘यसअघि प्रदेश ५ मा एकजना पनि संक्रमण देखिएको थिएन, त्यहाँबाट आएकालाई पनि हटस्पट नभएको ठाउँवाट भनेर घर पठाइएको छ’उनी भन्छन्,‘अहिले त्यहाँ संक्रमण फैलिएको भेट्टियो, परीक्षण नै हुन बाँकी रहेकाले कुनै ठाउँमा संक्रमण नदेखिएको भन्दै त्यहाबाट आएकोलाई सुरक्षित मान्न सकिदैन ।’

देशमा लकडाउन घोषणा गरेर सबै नाका, यतायात, ओहोरदोहोर बन्द गरेर सबैलाई घरभित्र बसेको लकडाउनका बेला नै कैलालीको चिसापानीबाट ८ हजार  बढी जना भित्रिएका हुन । उनीहरु सबैलाई जाँच नगरी घर जान दिएको हो । चैत २७ गते यता उनीहरु भित्रिएका हुन । अहिले भने आउन बन्द भएको उनले बताए । बसमा हुलका हुल र कोचाकोच गरेर आएकाले आउनेहरु पनि सबै असुरक्षित देखिन्छन् ।

‘बसमा दुरी र सावधानी नअपनाई कोचाकोच गरेर आएकाले उनीहरु सुरक्षित नरहेको बिज्ञहरुको भनाई छ । ‘कुनै सेफजोनबाट आएकालाई क्वारेन्टाइनमा नराखी घर पठाउन सकिने हो । यस अघि सेफजोन मानिएको प्रदेश ५ मा संक्रमण देखिएपछि सोचानिय विषय बनेको छ’ सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट गणेशबहादुर सिंह भन्छन्,‘सेफजोनबाट आएको भनेर क्वारेन्टाइनमा नराखी घर पठाइएकोबाट जोखिम हुने खतरा बढ्यो ।’

पर्याप्त परीक्षण भैनसकेको र संक्रमितहरुको पनि पुरै कन्ट्याक्ट ट्रेसिङ हुन वाँकी रहेको अवस्थामा संक्रमण नदेखिएकै आधारमा सेफजोन भनेर हुलका हुल मान्छे भित्र्याएर घर घर पठाउने काम उचित नभएको बिज्ञहरुको भनाई छ । ‘बसमा आएका समूहमा कुनै एकजनालाई संक्रमण छ भने त्यहाँ त विष्फोट हुने खतरा हुन्छ’ सिंहले भने ।

देशभरीमा अहिले सम्म कुन ठाउँमा कति संक्रमित छन् भनेर एकिन भैनसकेकाले कुनै पनि जोनलाई सेफ मान्न नसकिने अवस्था भएकाले समूहमा बाहिरबाट आएकालाई दुई तीन साता क्वारेन्टाइनमा नराखिए संक्रमण फैलिने जोखिम रहेको कोरोना संक्रमणको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले बताए । काठमाडौबाट हुलका हुल मान्छेहरु पठाउन थालेपछि क्वारेन्टाइनमा राखेर खाने बस्ने व्यवस्थापन गर्न स्थानीय तहलाई सकस परेकोले घर पठाइएको उनीहरु बताउँछन् । हुलका हुल मान्छेलाई क्वारेन्टाइनमा राख्न संभव नभएकाले घर पठाइएको उनीहरुले बताएका छन् ।

हुलका हुल मान्छेहरु भित्रिनाले लकडाउनको औचित्य पनि नरहेको र स्थानीय तहलाई व्यवस्थापन गर्न समस्या भएको स्थानिय तहका जनप्रतिनिधीले बताएका छन् ।‘लकडाउन र क्वारेन्टाइन को परिभाषामा नै मिलेन’टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भने,‘लकडाउन भनेको छ, गाडीमा हुलकाहुल मान्छे पठाइयो, अनि ती सवै मान्छेलाई स्थानिय तहले क्वारेन्टाइनमा राख्नुपर्नेे वाध्यता कसरी हुन्छ ? ।’ पछिल्लो समयमा हुलका हुल मान्छे गाडीमा पठाएपछि स्थानीय तहले क्वारेन्टाईनमा नराखी घर पठाउनु परेको जनप्रतिनिधिले बताएका छन् ।

यसरी क्वारेन्टाइनमा नराखी घर पठाउदा समुदायमा संक्रमण फैलिन सक्ने कुराले स्थानीय त्रसित बनेका छन् । ‘देशका बिभिन्न ठाउँ र भारतवाट समेत दैनिक सयौ व्यक्ति आईरहेकोमा तीनीहरुलाई क्वारेन्टाइनमा नराखी, जाँच नगरि घर पठाउदा महामारी फैलिने खतरा बढेको छ’राष्ट्रिय जनमोर्चाका तिलक परियारले भने,‘जाँच नगरि घर पठाइएकाले समुदायमा त्रास उत्पन्न भएको छ ।’ बिभिन्न ठाउँवाट र भारतवाट आईरहेकालाई १४ दिन अनिवार्य कोरेन्टाइनमा राखेर जाँच गरेर मात्र घर पठाउनु पर्नेमा लापरवाही भएको उनको भनाई छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले निर्देशिका परिपत्र गरेकाले हटस्पट नभएका ठाउँवाट आएकालाई क्वारेन्टाईनमा नराखी घर पठाइको जनप्रनिनिधिले बताएका छन । ‘प्रदेश स्वास्थ्य निर्देशनालयले पठाएको निर्देशिका अनुृसार सबैलाई घर पठाएका छौं’टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भने । ज्वरो नापेर सबै जनालाई होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाइएको उनको भनाई छ । हट स्पट नभएका जिल्लाबाट आएकालाई जाँच नगरि होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाउने स्वास्थ्य निर्देशनालयले पठाएको निर्देशिकामा उल्लेख भएको उनले बताए ।

यसैगरि जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले निर्देशिका पठाएपछि हटस्पष्ट नभएका जिल्लाबाट आएकालाई घर पठाएको बताए । सुदूरपश्चिममा अहिले सम्म ५ जना संक्रमित भएका छन् भने ४ जना उपचारपछि घर फर्केका छन् भने धनगढी उपमहानगरपालिकाका ३४ वर्षिय एक महिलाको अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित: २२ वैशाख २०७७ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App