१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ज्वरो र उदयपुरेदेखि अस्पताल त्राहिमाम

मोरङ, - नेपालमा सबैभन्दा बढी संक्रमित भेटिएको जिल्ला प्रदेश १ को उदयपुर हो । प्रदेश राजधानी विराटनगर भएकाले त्यहाँ नाम चलेका थुप्रै अस्पताल छन् । यही प्रदेशमा धरान पनि उपचारका लागि कहलिएको भएको सहर हो। तर विडम्बना विराटनगर र धरानका सबै अस्पतालका डाक्टर उदयपुरे भन्नासाथ डराउन थालेका छन् । त्यसकारण पछिल्लो समय बिरामी उदयपुरबाट आएको बिरामी भन्नेबित्तिकै भर्ना लिन छाडेका छन् । कोरोनाका लागि उदयपुरको भुल्के केन्द्रबिन्दु बनेसँगै उदयपुरवासीलाई उपचार गर्न सकस हुन थालेको हो । 

विराटनगरका अस्पतालमा ज्वरो आएर जचाउन जाने र उदयपुरबाट विभिन्न समस्या परेका आएका बिरामीलाई कोरोनाको आशंका गरी डाक्टरले नहेरिदिँदा बिरामीको मृत्युसमेत हुने गरेको छ । 

गत बिहीबार साँझ धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सुनसरी देवानगन्ज–१ का २७ वर्षीय रवीन्द्र यादवको उपचार हुन नसक्दा मृत्यु भयो । वैशाख १४ गते विष सेवन गरेका उनलाई विराटनगरस्थित कोसी अस्पतालमा लगियो । आइसियुसहित भेन्टिलेटरमा राख्नुपर्ने भएपछि बुधबार साँझ उनलाई रेफर गरियो । एक सय डिग्री ज्वरो आएकैले गर्दा नोवल टिचिङ अस्पतालले उनलाई भर्ना लिएन । पुनः कोसी अस्पताल लग्दा पनि भर्ना लिन इन्कार गरिएपछि घर लगियो । रवीन्द्रका बुवा जोगीलाल यादवले पुनः बिहीबार विराटनगरका ग्रिनक्रस अस्पताल, न्युरो अस्पताल, लाइफगार्ड र गोल्डेन अस्पतालले पनि सय डिग्रीमाथि ज्वरो रहेको भन्दै भर्ना नलिएको बताए । अन्ततः धरान बिपीमा लाँदा सुरुमा भर्ना लिन नमाने पनि अन्तिम अवस्था भर्ना लिएको तर समयमा उपचार हुन नसक्दा मृत्यु भएको यादवको भनाइ छ ।

उदयपुर बेलका नगरपालिका–४ की ५२ वर्षीया रत्नमाया तिम्सिना वैशाख १४ गते पेट दुखेर विराटनगरस्थित विराटनगर अस्पताल प्रालि (विराट नर्सिङ होम) उपचार गर्न आइन् । तर आकस्मिक कक्षका चिकित्सले भना नलिई गेटबाटै उनलाई फर्काइयो । ‘उदयपुरबाट ल्याएको भनेपछि करिब एक घन्टा बाहिरी गेटमा रोक्यो,’ छोरा उमेशले भने, ‘त्यसपछि बल्ल आकस्मिक कक्षको गेटमा पुग्यौं, त्यहाँका चिकित्सकले पहिला कोसी अस्पतालबाट कोरोना भए÷नभएको रिपोर्ट लिएर ल्याउने अनि मात्रै भर्ना गर्ने भन्दै फर्काइदिए ।’ उनीहरूले त्यसपछि कोसी अस्पताल लगेर उपचार गराए । 

उदयपुरको बेलका नगरपालिका–५ की १६ वर्षीया समीक्षा मगर पनि यस्तै नियतिको सिकार हुँदा दृष्टि गुमाएकी छिन् । वैशाख १२ गते खेतमा सिमल तरुल खन्ने क्रममा उनको दाहिने आँखामा चोट लाग्यो । भोलिपल्ट समस्या भएपछि बुबा दलबहादुरले उनलाई नजिकै रामपुर ठोक्सिला स्वास्थ्य चौकीमा लगे । त्यहाँ चिकित्सकले आँखाको नानीमा चोट भएकाले धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान भने । आँखामा दुखाइ बढ्दै जाँदा शरीरमा तापक्रम बढ्यो । आँखाको उपचार गर्न बिपी पुगेको बिरामीलाई चिकित्सकहरूले कोरोनाको आशंकामा तीन दिन आइसोलेसनमा राख्यो । 
आइसोलेसनमा बस्दा सीमित औषधि प्रयोग गर्दा आँखाको राम्रो र समयमा उपचार हुन सकेन । तीन दिन आइसोलेसनमा बसेपछि समीक्षाको कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यसपछि बिपीले आँखाको नानीमा समस्या जनाउँदै विराटनगरस्थित आँखा अस्पताल लैजान भन्यो । बिपीले १८ गते डिस्चार्ज दियो । थप उपचारका लागि विराटनगर आए पनि आँखामा गहिरो चोट लागेका कारण दृष्टि गुमिसकेको अस्पतालले जनाएको छ । 

त्यस्तै विराटनगरको नोबेल टिचिङ अस्पतालले पनि बुधबार प्रसूतिका लागि शल्यक्रिया गर्न तयारी गर्दै गर्दा चिकित्सकले उदयपुरको ठेगाना देख्नासाथ उपचार नगरी रेफर गरे । अस्पतालले बिरामीको पुर्जीमा ‘रेफर टु कोसी जोन हस्पिटल बिकाउज पेसेन्ट फ्रम उदयपुर’ लेखेर कोसी अस्पताल पठायो । मंगलबार प्रसूतिका लागि अस्पतालमा भर्ना भएकी उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटकी २९ वर्षीया सरस्वती रौनियार (गुप्ता) लाई शल्यक्रियाका क्रममा थिएटरबाट निकालिएको पीडितका भाइ मनोहरप्रसाद रौनियारले बताए । उनले भने, ‘नोबेलले उदयपुरबाट आएकै कारण अन्तिम समयमा उपचारै नगरी फर्काइदियो ।’ नोबेलमा उपचार गर्न नमानेपछि उनलाई कोसी अस्पतालमा लगियो र त्यहाँ उनले दोस्रो सन्तानका रूपमा छोरोलाई जन्माइन् । मनोहरले भने, ‘यसरी हामीलाई अप्रेसन कक्षबाट निकालिएको विषयमा मानव अधिकार आयोग र मोरङका सिडिओलाई भनेका छौं ।’ नोबेल अस्पतालले मातृ शिशु कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । यसरी अहिले निजी अस्पतालले बहाना देखाउँदै बिरामीलाई उपचारबाट वञ्चित गरेको देखिन थालेको छ । 

प्रकाशित: २२ वैशाख २०७७ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App