१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाइनमा बसे संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मी

मोरङ- कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रका स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेका छन् । केन्द्रमा खटिएका चिकित्सक, नर्ससहितकोे टोली क्वारेन्टाइनमा बसेका छन् ।

विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन् । चैत २१ गतेबाट उपचार केन्द्र सञ्चालन भए पनि वैशाख ५ गते कोरोना भाइरस संक्रमित भेटिएसँगै अस्पतालमा भर्ना सुरू भएको हो । कोभिड-१९ उपचार केन्द्रमा आइतबारसम्म ३१ जना संक्रमतिको उपचार भइरहेको छ ।

उपचार केन्द्रमा रहेका संक्रमितको नियमित जाँच तथा रेखदेखमा रहेका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा रहेको अस्पतालकी निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् । वैशाख ५ गते मध्यरातमा पहिलो पटक उदयपुरबाट १२ जना संक्रमित ल्याएदेखि स्वास्थ्यकर्मीको विशेष टोली खटिएका छन् । हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रूपमा संक्रमतिको उपचारमा संलग्न रहँदै आएको छन् ।

संक्रमित भर्नासँगै पहिलो साता खटिएका चिकिस्तकको सुरुआती एक साताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रो साताबाट मात्र उनीहरूको क्वारेन्टाइन समय जोडिने डाक्टर मिश्राले बताइन् । उपचारमा अग्रपंक्तिमा खटिएका २८ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन् भने अवस्था सामान्य रहेको छ । उनीहरूको शुक्रबार स्वाब नमुना परीक्षणमा नेगेटिभ रिर्पोट आएको छ । उदयपुरबाट पहिलो चरणमा ल्याइएका १३ जना संक्रमितको शुक्रबार साँझमा  स्वाब संकलन गरिएको छ ।  

आफू सुरक्षित रूपमा आफ्नै घरमा क्वारेन्टाइनको समय बिताउँदै दैनिक अन्य कामकाजमा ब्यस्त रहेकी छिन्, डाक्ट मिश्रा । उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आए पनि सबै जना १५ दिनदेखि होटलको कोठाभित्र क्वारेन्टाइनमा छन् । ‘हाम्रो अवस्था सामान्य छ, सुरक्षाका दृष्टिले घर पनि नगई होटलमै बसेका छौं,’ डाक्टर दीपक सिग्देलले भने, ‘२४ घण्टाको एक सिफ्टमा ४ जना चिकित्सक रहने र दुई जना सिनियर चिकिस्तक २४ सै घण्टा नै हुन्छन् ।’

‘पहिलो टोलीसँगै उपचारमा खटिएको ६ दिनपछि, दोस्रो २५ जनाको टोली केन्द्रमा खटिएका र सो टोलीसमेत क्वारेन्टाइनमा रहेका छन्,’ डाक्टर मिश्राले भनिन्, ‘हालसम्म ५० जना होटलमा र तेस्रो चरणका २५ जना स्वास्थ्यकर्मी भने होटलको बसाइँसँगै संक्रमितको उपचारमा खटिनु भएको छ भने तेस्रो चरणको टोलीको शनिबारबाट केन्द्रमा नियमित काममा रहँदै आएका छन् ।’ सबै स्वास्थ्यकर्मीको क्वारेन्टाइन बसाइँको समय पूरा भइनसकेको र क्वारेन्टाइनको प्रक्रिया पुर्‍याएपछि सबै जना अस्पतालको नियमित कार्यमा फर्कने मिश्राले बताइन् ।

कोभिड-१९ उपचार केन्द्रमा उदयपुरका २८ जना, झापाका २ र भोजपुरका १ जना संक्रमितको उपचार भइरहेको छ । सबै संक्रमितको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
महानगरपालिकाको सहयोग

कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा विराटनगर महानगरपालिकाले १० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्वाब परीक्षणका लागि सुरक्षित तरिकाले नमुना संकलन गर्न उपचार केन्द्रलाई दुई वटा स्वाब बुथ हस्तान्तरण गर्दै अस्पतालको पीसीआर ल्याबको स्तरोन्नतिका लागि १० लाख रुपैयाँ उपलब्ध गराइने बताए ।

‘अस्पतालमा रहेको पीसीआर मेसिनका लागि आवश्यक पर्ने सामग्री तथा किटको अभाव देखिएपछि महानगरले रकम प्रदान गर्न लागेको, हो,’ प्रमुख पराजुलीले भने, ‘स्वास्थ्यकर्मीको उच्च मनोबल कायम राख्नका लागि महानगर जुटिरहेको र अस्पतालको ल्याबसँगै यसअघि जेनेटेर खरिदका लागि २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भइसकेको छ ।’

प्रकाशित: २१ वैशाख २०७७ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App