१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपीमा सय बेडको कोभिड-१९ अस्पताल

आइतबारदेखि सञ्चालनमा आएको वीपी प्रतिष्ठानस्थित कोभिड-१९ अस्पतालमा मुख्यमन्त्री शेरधन राईलाई अस्पतालबारे जानकारी गराउदै उपकुलपति डा.गिरी । तस्बिर : रोहित राई

धरान- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छुट्टै सय बेडको कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ । प्रतिष्ठानले एक सातामा युद्धस्तरमा काम गरेर कोरोना संक्रमितको लागि आइसियु र अपरेशन थिएटरसहितको कोभिड -१९ अस्पतला तयार गरेको हो ।

प्रतिष्ठानमा द्धन्द्दपीडितहरुको उपचार गर्न स्थापना गरिएको पुर्नस्थापना केन्द्रलाई कोभिड-१९अस्पतालमा परिणत गरिएको हो । पछिल्लो समय यहाँ फिजियोथेपारीको इकाई सञ्चालनमा थियो । सय बेडको यो अस्पतालमा कम्तीमा १० बेड भेन्टिलेटरसहितको आइसियु हुनेछ ।

अस्पतालमा वार्ड, अप्रेशन थिएटर, आइसियु, पेडियाट्रिक आइसियु, गाइनो वार्ड, एचडियुलगायत सेवाहरु छन् । यो अस्पतालमा छुट्टै एक्स रे सेवा, भिडियो एक्स रे, ल्याब सेवा पनि हुने प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र कार्कीले जानकारी दिए । चाडै सिटिस्क्यान सेवा पनि सोही अस्पतालमा सुरु हुने उनले बताए । ‘सरकारले सिटिको लागि पनि सहयोग गर्ने वचत दिइसकेको छ । यो अस्पतालमा आउने कोभिड-१९ का विरामीहरुलाई मुख्य अस्पताल क्षेत्रमा जानै दिनु हुदैन । हामी सबै सेवा यही दिन्छौं,’उपकुलपति डा.कार्कीले भने,‘वीपी कोभिड-१९ को लेभल थ्री हस्पिटल हो, यहाँ गर्भवती महिला संक्रमित भएर आइन् भने उनको शल्यक्रिया पनि गछौं । हरेक उपकरणहरु यहाँ अलग्गछै व्यवस्था गरिएको छ ।’

उपकुलपति डा.गिरीका अनुसार एक सातापछि अस्पतालको छतमा थप सय बेड विस्तार गर्ने कार्य शुरुवात हुनेछ भने एकेडेमिक हलमा ३ सय बेड पनि विस्तार गर्न सकिनेछ । परिस्थिति वमोजिम एकेडेमिक हलमा ३ सय बेड अस्पताल विस्तार गरिने उनको भनाई छ । ‘यही अस्पतालमा माथि सय बेड थप्छौं, एक साताभित्र काम सुरु भइहाल्छ,’उनले भने,‘आवश्यकता अनुसार एकेडेमिक हलमा ३ सय बेड पनि थप्न सक्छौं, र ५ सय बेडेको कोभिड-१९ अस्पताल बनाउछौं ।’

संघीय सरकारले वीपी प्रतिष्ठानलाई कोभिड-१९ उपचारको लागि लेभल थ्री(३) अस्पतालको स्तरमा वर्गीकरण गरेर राखेको छ । लेभल थ्री कोभिड अस्पतालमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज र धरानको वीपी प्रतिष्ठान मात्र हो । लेभल थ्री अस्पतालमा विशिष्टकृत शल्यक्रिया सेवालगवायत बहुबिशेषज्ञ सेवाहरु उपलब्ध हुनेछ । लेभल वान अस्पतालमा सामान्य केस र लेभल टु अस्पतालमा मध्यमस्तर तथा केही कडा समस्या भएका विरामीहरुको उपचार गर्ने व्यवस्था छ ।  

सरकारको तयारी राम्रो छ, आत्तिनु पर्दैन : मुख्यमन्त्री
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोनाको उपचारको लागि सरकारले राम्रो तयारी गरेकोले आत्तिनु पर्ने अवस्था नभएको भन्दै प्रदेशका नागरिकहरुलाई ढुक्क रहन अपिल गरेका छन् । आइतबार वीपी प्रतिष्ठानमा सञ्चालनमा आएको कोभिड-१९ अस्पतालको निरीक्षणको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै मुख्यमन्त्री राईले यस्तो अपिल गरेका हुन् ।

प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुकोरुपमा देखा परेको भएपनि सरकारले राम्रो तयारी गरेको उनको भनाई थियो । ‘प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुकोरुपमा देखा परेको छ । तर प्रदेश सरकारले अत्यन्तै राम्रो तयारी गरेको हुनाले अलिकति पनि आत्तिनु पर्ने, विचलित हुनुपर्नेै अवस्था छैन,’मुख्यमन्त्री राईले भने,‘विराटनगरमा हामीले एक हप्तामा कोभिड-१९ अस्पताल तयार गर्‍यौं, जहाँ संक्रमितहरुलाई राख्ने गरेका छौं । जहाँ जहाँ संक्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीब्र बनाएका छौ, फराकिलो बनाएका छौं ।’

प्रदेश एकमा संक्रमणको संख्या जति सुकै संख्या देखिए पनि त्यसलाई व्यवस्थापन गर्न सक्ने गरी तयारी रहेको पनि मुख्यमन्त्री राईले बताए । प्रदेशमा उपचार गर्नसक्ने क्षमता विस्तार गरेर तयारी अवस्थामा काम गरिएको उनको भनाई थियो । वीपी प्रतिष्ठानमा एक सातामा सय बेडको कोभिड-१९ अस्पताल तयारी भएकोमा खुशी व्यक्त गर्दै उनले थप सय बेड र आवश्यक परे ५ सय बेडसम्म बनाउन सरकारले सहयोग गर्ने पनि बताए ।

‘हामीले अपनाउनुपर्ने सावधानी अपनाएर, लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरु पालना गरेर, संक्रमितहरुलाई उपचारको व्यवस्था गरेर तथा संक्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गछौं,’उनले भने, ‘कोही पनि विचलित नहौ, नआत्तिऔं । सबै प्रकारका विकल्प, उपाय र प्रयासहरुको साथमा कोभिड-१९ लाई पराजित गर्न एक ढिक्का भएर जुटेका छौैं ।’

 

प्रकाशित: १४ वैशाख २०७७ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App