४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खोटाङका सबैको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङ– विदेशबाट फर्किएका खोटाङका सबै व्यक्तिको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

गत चैत यता विभिन्न देशबाट घर फर्किएका १० स्थानीय तहका ११५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । जन्तेढुंगा गाउँपालिकाबाट बैसाख ३ गतेदेखि सुरु गरिएको पहिलो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट बिहीबार रावाबेँसी गाउँपालिका पुगेर टुंग्याइएको हो ।

प्रजिअ पौडेलका अनुसार रावाबेँसी गाउँपालिकाका ३ जना, साकेला गाउँपालिकाका १५ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ९ जना, हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २६ जना, बराहपोखरी गाउँपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका २० जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ‘नेगेटिभ’ आएको हो । रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टीन वा होम क्वारेन्टीनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए÷नभएको थाहा पाउनका लागि जिल्लामा सम्बन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको थियो ।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए÷नभएको परीक्षण गर्ने १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको थियो । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तिको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन् ।

पिसिआर रिपोर्ट पनि ‘नेगेटिभ’
र्‍यापिड डाइग्नोस्टिक टेष्टका क्रममा खोटाङबाट पिसिआर टेष्टका लागि पठाइएका नमूनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । १६ वटा नमूना संकलन गरेर पठाइएकामा १५ जनाको नमूना (स्वाब)को पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

एक वटाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । आरडिटिको ‘नेगेटिभ’ रिपोर्ट देखिए पनि १० प्रतिशतको नमूना संकलन गरेर परीक्षणका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । खोटेहाङ गाउँपालिकाबाट ५ जना, हलेसी तुवाचुङ नगरपालिकाबाट ६ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ४ जना र जन्तेढुंगा गाउँपालिकाबाट १ जनाको पिसिआर टेष्टका लागि नमूना पठाइएको थियो ।

यसभित्र फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीसँगै कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का एक युवा तथा उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुर ठानागाउँका एक पुरुषको पिसिआर रिपोर्ट पनि समावेश छन् ।

प्रकाशित: १२ वैशाख २०७७ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App