१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जाजरकोटमा तीन सय १० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

भेरी नगरपालिकामा भारतबाट आएकाको आरडीटी प्रविधिबाट कोरोनाको संक्रमण परीक्षण गरिदै ।

जाजरकोट- कोरोना संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा अहिले सम्म भारत लगाएतका तेस्रो मुलुकबाट जाजरकोट भित्रिएका कोहि व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको पाइएको छ ।

सरकारले गत वर्षको चैत ११ गतेदेखि जारी गरेको लकडाउनको समयमा भारत तथा अन्य तेस्रो मुलुकबाट जिल्ला प्रवेश गरेका ३ सय १० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका  निमित्त व्यवस्थापक टीकाराम जैसीले बताए । उनले लकडाउन अवधिमा जिल्ला भित्रिएका सवैलाई स्थानीय तह, कर्णाली प्रदेश सरकार र आफ्नो कार्यलयको सहयकार्यमा आरडीटी प्रविधिबाट २ सय ९६ जनाको र १४ जनाको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण गरिएको बताए ।

उनका अनुसार कोरोनाको संक्रमण परीक्षण गरिएका ३ सय १० जनामध्य भेरी नगरपालिकामा ७० जनाको आरडीटी र १४ जनाको पिसीआर जाँच गरिएको र अन्य सवै स्थानीय तहमा आरडीटी प्रविधिबाट कोरोना संक्रमणको परीक्षण गरिएको छ । निमित्तव्यवस्थापक जैसीका अनुसार वारेकोट गाउँपालिकामा ५५ जना, कुशे गाउँपालिकामा २२ जना, जुनीचाँदे गाउँपालिकामा ६१ जना, नलगाड नगरपालिकामा  ४३ जना, शिवालय गाउँपालिकामा २४ जना र छेडागाड नगरपालिकामा २१ जनाको आरडीटी प्रविधिबाट कोरोनाको परीक्षण गरिएको थियो ।

परीक्षणबाट सवैमा कोरोनाको संक्रमण नभएको पाइएको छ । जाजरकोट अस्पतालमा कार्यरत डाक्टरहरुले सातै स्थानीय तहमा देश बाहिरबाट भित्रिएकाहरुको कोरोना संक्रमणको जाँच गरेका थिए । यस्तै अहिले भारत लगाएतका तेस्रो मुलकबाट आएका मध्य वारेकोटमा १४ जना र नलगाडमा ११ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्तव्यवस्थापक जैसीले जानकारी दिए ।

अहिले सम्म जिल्लाको अवस्था सामान्य रहेको भएपनि एक दुई दिनदेखि जिल्लामा हजार, वाह्र सय मानिसहरु एकै साथ भित्रिएकोले यसले चुनौति बढाएको निमित्त व्यवस्थापक जैसीले बताए । उनले को कताबाट कसको सम्पर्कमा रहेर आएका हुन उनीहरु जिल्लामा भित्रिएर समाजमा मिसिएमा संक्रमणको जोखिम धेरै रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ठूलो संख्यामा मानिसहरु एकै पटक जिल्लामा भित्रिनु लकडाउनको नियम विपरीत भएपनि जिल्लाको सिमानामा अलपत्र परेकाहरुलाई घर पुर्‍याउनै पर्ने वाध्यता रहेको बताए । उनले साँसदहरुको आग्रह र सर्वसाधारणको वाध्यतालाई मध्य नजर गरेर जिल्ला भित्रिन पाएका सर्वसाधारणहरुलाई स्थानीय सरकारहरुले उचित निगरानी र व्यवस्थापन गर्नु पर्ने बताए । सवैले आफू बच्ने र अरुलाई बचाउने उद्देश्य राखेर काम गर्नुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।
 

प्रकाशित: १० वैशाख २०७७ १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App