१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेशबासीलाई मुख्यमन्त्रीको ढाडसः ढुक्क हुनुस् हामी साथमा छौं

विराटनगर- एकैपटक १३ जनामा संक्रमण देखा परेपछि त्रास बढेको प्रदेश १ मा सरकारले नागरिकको सुरक्षाका खातिर कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै आश्वस्त पार्न खोजेको छ।

मुख्यमन्त्री शेरधन राईले आइतबार साँझ प्रदेशबासीलाई सम्बोधन गर्दै जारी गरेको सन्देशमा कोरोना संक्रमितको उपचार र रोकथामका लागि सरकार अहोरात्र लागेको बताउँदै नआत्तिन अपिल गरेका हुन्।   कोरोना संक्रमणको ‘नयाँ इपिसेन्टर’ झैं बनेको प्रदेश १ मा आइतबारदेखि परीक्षण दर बढाइएको छ। मुख्यमन्त्री राईले उपचार, रोकथाम र अन्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता जनाउँदै धैर्य गर्न आग्रह गरेका छन्।
 
‘अहिले हाम्रो प्रदेशबाटै दुवै विधिबाट कोरोना परीक्षण भइरहेको छ। उपलब्ध अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पठाइएको छ। यसरी हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं ’, मुख्यमन्त्रीले भनेका छन् ‘ तपाईहरुको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु।’

प्रदेशमा हालसम्म ५३ स्थानमा ४ सय ४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ। २ सय ५३ ठाउँमा  ४ हजार ४ सय ४९ वटा क्यारेन्टाईन बेड बनेका छन्। यी बनेका क्वारेन्टाईनमा ६ सय ७६ जनालाई राखिएको छ। ११ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण देखा परेको छ।

‘अहिले हामी कन्ट्याक ट्रेसिङ्ग गरिरहेका छौं। यो क्षेत्रमा हिजोमात्र प्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ’ मुख्यमन्त्रीको सन्देशमा भनिएको छ ‘यसका अतिरिक्त सिसिएमसी मार्फत नेपाली सेनाको हेलिलकप्टर प्रयोग गरेर आज थप नमूना संकलन गरिएको छ। त्यसैले तपाईहरु त्रसित नहुन मेरो हार्दिक अपील छ।’
 
 उच्च सर्तकता अपनाइरहेको अवस्थामा प्रदेशमा यसरी कोरोना संक्रमितहरु देखा परेसँगै  थप सजगता र सावधानी अपाउनुपर्ने उल्लेख गर्दै उनले  लकडाउनको पूर्ण पालना गर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउन पनि उनले आग्रह गरेका छन्।

प्रकाशित: ७ वैशाख २०७७ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App