२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

खाडी मुलुकहरुमा कोरोना भाईरसको प्रभाव बढ्दो

युएई- नेपाली कामदारहरुको बाक्लो उपस्थिति रहेका खाडी मुलुकहरुमा कोरोना भाईरसको प्रभाव तिव्र बन्दै गएको छ। नेपाली श्रम बजारको राम्रो गन्तव्य मानिने साउदी अरेबिया , युएई , बहराईन , कुवेत , कतार र ओमनमा बुधबार साँझसम्म १८ हजार ९ सय २४ जना कोरोना भाईरसबाट संक्रमित बनेका छन्।

झण्डै ४ लाख नेपाली कार्यरत साउदी अरेबियामा फाल्गुन १९ गते ईरानबाट बहराईन हुँदै साउदी पुगेका एक व्यक्तिमा पहिलोपटक कोरोना भाईरसको संक्रमण पाईएको थियो। बुधबार साँझसम्म त्यहाँ  ५ हजार ८ सय ६२ जनामा कोरोना भाईरसको संक्रमण पाईएको छ। यसैगरी ९ सय ३१ जनाले स्वास्थलाभ गरेका छन् भने ७९ जनाको मृत्यु भएको साउदी अरेबियाको स्वास्थ मन्त्रालयले  जनाएको छ।

नेपाली श्रमिकहरुको रोजाईमा पर्ने संयुक्त अरब ईमिरेट्स (युएई) मा बुधबारसम्म ७ लाख ६७ हजार जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये ५ हजार ३ सय ६५ जनामा कोरोनाको संक्रमण पाईएको बताईएको छ। युएईको स्वास्थ मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको तथ्यांक  अनुसार अहिलेसम्म त्यहाँ १ हजार ३४ जनाले स्वास्थलाभ गरेका छन्। त्यसैगरी बुधबार ५ जनाको मृत्यु भएको बताईएको छ। यो संगै युएईमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

बहराईनमा सेवा , सुरक्षा र निर्माणका क्षेत्रमा गरि करिब ४० हजार नेपाली कार्यरत छन्। त्यहाँको स्वास्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १ हजार ६ सय ७१ जना कोरोनाबाट संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ। यसैगरी ६ सय ६३ जना संक्रमण मुक्त बनेको बताईएको छ। बहराईनमा फागुन ९ गते ईरानबाट फर्किएकी ४५ वर्षिय महिलामा पहिलोपटक कोरोना भाईरस पाईएको थियो।

ओमनमा पनि कोरोना भाईरसको प्रभाव बढ्दै गएको छ। अघिल्लो महिना १ सय ९२ जना संक्रमित रहेको ओमनमा पछिल्लो समय संक्रमण हुनेहरुको संख्या ह्वात्तै बढेको छ। पछिल्लो दुई सातामा मात्रै त्यहाँ ७ सय १८ जना थपिएका छन्। बुधबारसम्म ओमनमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ९ सय १० पुगेको छ भने १ सय ३१ जना रोग मुक्त बनेका छन्। त्यहाँ अहिलेसम्म कोरोनाबाट ४ जनाको ज्यान गएको छ।

कुवेतको राष्ट्रिय समाचार एजेन्सी (केयुएनए) का अनुसार बुधबार साँझसम्म त्यहाँ १ हजार ४ सय ५ जनामा कोरोना भाईरस पाईएको छ। कोरोनाकै कारण कुवेतमा मंगलबार ७९ वर्षिय एक वृद्धको मृत्यु भएको बताईएको छ। यो संगै कुवेतमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ३ पुगेको केयुएनएले जनाएको छ।

नेपालीहरुको रोजाईको अर्को श्रम गन्तव्य कतारमा पनि कोरोनाको प्रभाव बढ्दै गएको छ।  निर्माण तथा सेवाको क्षेत्रमा गरि करिब ३ लाख ७५ हजार नेपाली कार्यरत रहेको कतारमा बुधबारसम्म ५४ हजार ५ सय ५० जनाको कोरोना परीक्षण गरिएको र ३ हजार ७ सय ११ जनामा कोरोनाको संक्रमण पाईएको बताईएको छ। कोरोनाका कारण कतारमा अहिलेसम्म ७ जनाको ज्यान गईसकेको छ।

 

प्रकाशित: ४ वैशाख २०७७ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App