१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

राहत वितरणमा नदेखिएको सामाजिक दुरी (भिडियो)

काठमाडौं- कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा वितरण भएको राहत व्यवस्थित नहुँदा जोखिम बढेको छ। बुधबार कालिमाटी प्रहरी कार्यालयसँगै दिउँसो साढे दुई बजेको समयमा कालिमाटीका स्थानीय खाद्यन्न ब्यपारीहरुले आपसी सहकार्यमा प्रहरीको समन्वयमा गरिब तथा निम्न आय भएका नागरिकलाई राहत वितरण गर्न तयारीमा जुटेका के थिए त्यहाँ सयौंको हुल जम्मा भयो। एक छिन त के भएको हो भनेर राहत वितरणकर्ताहरु नै अलमलमा परे। उता प्रहरीहरुले राहत लिन आउनेहरुलाई समाजिक दुरी कायम गर्न सचेत गराउन माइकिङ गर्दा समेत तिनिहरुले कुनै सुनुवाइनै गरेनन्। अनियन्त्रीत हुल प्रहरीलाईनै सम्हाल्न हम्मेहम्मे परेको थियो।

 यति सम्मकि राहत लिनकै लागि एक अर्काको शरीरमाथि समेत धक्का दिएर लड्दै पढ्दै तछाडमछाड गरिरहेका थिए। त्यहाँ जम्मा भएकाहरुलाई कोरोना संक्रमणको कुनै त्रास थिएन। उनीहरुको लक्ष्य भनेकै जसरी पनि राहतको झोला हात पार्नेनै थियो। त्यही भएर प्रहरीको लठीले पनि उनीहरुलाई केहि असर समेत गरीरहेको थिएन। बुधबारको दृश्य हेरेर जोकोहि पनि त्रासित बनेको थियो। त्यस्ता राहत लिन आउनेहरुमा साइकलमा तरकारी बेच्ने समूह, फुटपाथमा तरकारी वेच्ने समूह, कालिमाटी तरकारी बजारमा तरकारि बोक्ने भरिया तथा मजदुरहरु, भारतका विहार युपि तर्फका र निम्न आय भएका बासिन्दाहरु बढी छन्। उनीहरु कालिमाटी, बल्खु, कलंकी , थापाथली लगाएतका खोला छेउमा बस्दै आएका निम्न आय स्तरका ब्यक्तिहरु हुन्।

राहत लिन पुगेकी दाङकी विमला थापामगरले आफ्ना एक छोरा एक छोरी र श्रीमान समेत लिएर पुगेगि थिइन्। श्रीमान तरकारी बजारमा भरिया काम गर्ने र आफु घर घरमा भाडा माझेर जिविका चलाउँदै आएको भए पनि लकडाउनले गर्दा श्रीमान वेरोजगार भएकोले छाक टार्न समस्या परेको बताइन्। ‘तरकारी बजारमा श्रीमानले दैनिक ज्याला मजदुरी गरेर ल्याएको कमाइले हाम्रो चार जनाको परिवार चलेको थियो। अब उनको काम छैन। मलाई पनि घरमा काममा नआउ भनेका छन् ,’ बिमलाले राहत लिएपछि युद्ध जिते झै मानेर भनिन् ‘ अब यो ५ किलो चामल, २ किलो दाल, एक प्याकेट तेल र एक प्याकेट नुन हामी चार जनालेनै एक एक झोला संघर्ष गरेका पाएका छौं। अब कम्तीमा केहि दिनसम्म भोकै बस्नु पर्दैन। ’ उनलाइ नागरिककर्मीले यत्रो हुल गरेर सबैसँग टासेर भिडमा राहत लिनु भनेको कोरोना संक्रमणको जोखिम बढाउनु हो तपाईले थाह छैन भन्ने प्रश्नमा उनले थपिन् ‘ कोरोनाको त्रासबाट बच्ने कि भोकै मर्ने ? हामीलाई कोरोनासोरोनाको केहि चिन्ता छेन। राहत नलिए हाम्रा बच्चा भोकै मर्छन्।’ उनले आफुहरु घर जान चाहे पनि लकडाउनका कारण घर जान नसकेको बताउँछिन्। उनी मात्र होइन सबै परिवार राहत लिन आउने भारत मोतिहारीका लक्ष्मण कुर्मीले आफु साइकलमा तरकारी बेच्ने गरेको तर लकडाउनमा ब्यापार गर्न नसकेको बताउँदै उनी  परिवारसहित राहत लिन संघर्षरत देखिए।

‘मेरो श्रीमति बच्चासहित हामी घर जान खोजेका थियौ तर लक डाउनका कारण यतै अड्क्यौं,’ राहत लिन आएका दुइ छोरासहित राहत लिन आएको लक्ष्मणले नागरिकसँगको भेटमा दुखेसो गरे ‘ मलाई त कोरोनाको संक्रमणबारे खासै केहि थाहनै छैन। किन लकडाउन भएको त्यो पनि थाह छैन। उनले लकडाउनलाई देश बन्द भएको सम्बोधन गरिरहेका थिए।’

राहतको दूरुपयोग

यति मात्र होइन नागरिकले भेटेको त्यो हुलमध्ये काठमाडौंमा एउटा समूह छ। जसले राहत वितरणको विवरणनै राख्ने गरेको छ। जहाँ राहत बाडेको थाह भयो तिनीहरु त्यहाँ  पुग्दा रहेछन्। कालिमाटीमा राहत लिन आएका ति समूहका एक ब्यक्तिले भने ‘हामीले त ठाउँ ठाउँमा गएर राहत जम्मा गरेर ६ महिनालाई पुग्ने खाद्यन्न जम्मा गरेका छौं। ’राहत जम्मा गर्न सकेकोमा उनले खुशि समेत ब्यक्त गरे। अनि भने  ‘हामी त यस्तै भिडबाटै राहत लिन्छौ खै हामीलाई कोरोना लाग्दैन।  जहाँ राहत लिन गए  पनि भिडनै हुन्छ।’

एकातिर राहत लिनेहरु भिडमा तछाडमछाड गरिरहेका थिए भने अर्को तर्फ बुधबारको यस्तो लकडाउनको उल्ङघन भएको देख्दा स्थानीय बासिहरु त्रसित बनेका थिए। कालिमाटी निवासी रमिला महर्जनले सरकारले राहत वितरणलाई ब्यवस्थित बनाएर अघि बढ्नु पर्ने बताइन्। उनले हुलहाल गरेर वितरण गर्ने राहत होइन कोरोनाको संक्रमणलाई थप बढाउने खतरा थपेकोमा चिन्ता ब्यक्त गरिन्। उनले प्रत्येक स्थानीय सरकारले घर धनी मार्फत वडाबासीहरुको विवरण संकलन गरि ब्यवस्थित तरिकाले राहत वितरण गर्न नसकेकोले थप जोखिमको खतरा बढेको बताइन्। ‘पीडित ब्यक्तिहरुको पहिचान गरी बडा मार्फत राहत वितरण गर्न सरकारले अब ढिलो गर्नु हुदैन,’ महर्जनले नागरिकसँग भनिन्‘समाजिक दुरी समेत कायम नगरि वितरण गरेको राहत त राहत होइन यो त संक्रमण बढाउने खुड्किलो हो।’ उनले थपिन् ‘अब्यवस्थित राहत वितरणले पीडितले पाएका छैनन बरु एउटै समूहले बदमासी गरेर राहत जम्मा गरिरहेका छन् यो दूरुपयोग हो।’

कालिमाटी प्रहरी चौकिका डिएसपी रुगमबहादुर कुँवर पनि त्यो भिड ब्यवस्थापन गर्न आफै उपस्थित थिए। उनले धेरै प्रयास गरिरहेका थिए। समाजिक दुरी कायम गर्न पटकपटक माइकिङ र गर्दा समेत राहत लिनआउनेहरुले कुनै सुनुवाइनै नगरी उल्टै प्रहरीलाईनै घचेढेर अघि बढ्न खोजेका थिए। डिएसपी कुँवरले एकै पटक हजारौंको सँख्यामा भिड एकत्रित हुँदा अनियन्त्रीत भिडलाई सम्हाल्न मुस्किल परेपको बताए। उनले यी निम्म आयस्तर भएका ब्यक्तिहरुमा कोरोनाबारे जनजेतनाको कमी भएकै कारण जति समझाए पनि लठी हाने पनि नमान्ने गरेको जिकिर गरे। उनले आफ्नो अनुभव सुनाउँदै भने ‘ यो भिड त केहि होइन हामी दैनिक राति १२ बजेदेखि विहान १० बजेसम्म कालिमाटी तरकारी बजार, कुलेश्वर फलफुलमण्डीमा एक लाख भन्दा बढी मान्छेहरुको आवगजावगत हुन्छ कसकसलाई सम्झाउने। कोहि हाम्रो भनेको कुरा मान्दैनन। कति लठी हान्नु। फेरि आइपुगिहाल्छन् , ’डिएसपी कुँवरले नागरिकसँग भने ‘कालिमाटी खाद्यन्न ब्यपारीले हामीसँग सहकार्य गरेरै राहत बाड्न आएका हुन्। तर भिड अनियन्त्रित भएकोले समस्या भयो।’

 

 

प्रकाशित: ४ वैशाख २०७७ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App