४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

'लगाउने मास्क छैन, ज्वरो नाप्ने मेसिन छैन'

स्थानीयस्तरमै सिलाइएका स्वास्थ्यकर्मीले लगाएको पीपीई । तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत- सुर्खेतको लेकवेशी नगरपालिकाको चौरासे स्वास्थ्य चौकीमा सात जना स्वास्थ्यकर्मी कार्यरत छन्। कोरोना संक्रमणका कारण भइरहेको लकडाउनमा पनि दैनिक ३०–३५ को हाराहारीमा विरामीहरु चेकजाँचका लागि आउँछन्। यी मध्ये अधिकांश छिमेकी मुलुक भारतबाट फर्केकाहरु आउँछन्। विरामी चेकजाँच गर्दा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), मास्क, पञ्जा र स्यानिटाइज प्रयोग गर्न सरकारले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ तर, यहाँका स्वास्थ्यकर्मीसँग मुखमा लगाउने मास्कसमेत छैन।

सरकारले कोरोना संक्रमण नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुलाई बीमा, भत्तालगायतको व्यवस्था गरेको छ। स्वास्थ्यकर्मीहरु भने आफूहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेका छन्। ‘सरकारले राहत, सेवा–सुविधा भन्दापनि हाम्रो सुरक्षाको पाटोलाई हेरिदिएको भए राम्रो हुन्थ्यो,’ चौरासे स्वास्थ्य चौकीका अहेव रणबहादुर हिस्कीले प्रश्न गरे, ‘ज्यान जोखिममा राखेर कहिलेसम्म सेवा गर्न सक्छौं?’ लेकबेसीकै लेकफर्सा स्वास्थ्य चौकीको अवस्था पनि उस्तै छ।

स्वास्थ्य चौकीमा कार्यरत १० जना स्वास्थ्यकर्मीका लागि न्युनतम आधारभुत स्वास्थ्य सामग्री छैन। वीरेन्द्रनगरमै तयार गरिएको एक थान पीपीई छ। तर मुखमा लगाउनका लागि मास्क र हातमा लगाउने पञ्जा छैन। सुरक्षित रहने आधारभूत सामग्रीहरु नहुँदा यहाँ स्वास्थ्यकर्मीले खुल्ला ठाउँमै एक–एक गरेर विरामी जाँच्ने गरेका छन्।

‘कोठाभित्र झन् असुरक्षित हुने अवस्था देखियो,’ स्वास्थ्य चौकीका इन्चार्ज खगेन्द्र विर्कट्टाले भने, ‘गेट बन्द गरेका छौं, एक–एक जना विरामीलाई प्रवेश दिएर खुल्ला ठाउँमा चेकजाँच गछौं।’ उनले भारतबाट आएका नागरिकहरुका कारण आफूहरु बढी असुरक्षित रहेको बताए। ‘भारतबाट आएर होम क्वारेन्टाइनमा रहेकाहरुको दैनिक स्वास्थ्य परीक्षण गर्नुपर्छ, ज्वरो नाप्नका लागि पनि आधुनिक मेसिन छैन,’ उनले भने, ‘अहिलेकै अवस्थामा कर्णालीमा कोरोना संक्रमण देखिए स्वास्थ्यकर्मीहरुले काम गर्न सक्ने अवस्था छैन।’

पूर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाका स्वास्थ्य संस्थाहरुको बिहीबार पूर्वमन्त्री एवम् प्रदेशसभा सांसद खड्क खत्रीले अनुगमन गरे। उनले कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुनै जोखिममा रहेको पाइएको बताए। ‘स्थानीय, प्रदेश र संघीय सरकारले स्वास्थ्यकर्मीहरुका लागि न्यूनतम सुरक्षाका सामग्रीहरु समेत उपलब्ध नगराएको पाइयो,’ सांसद खत्रीले भने, ‘गाउँ–घरमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सरकार गम्भीर हुनुपर्छ।’

उनले तीन वटा पालिकाका १२ वटा स्वास्थ्य चौकीको अनुगमन गर्दा कुनै पनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुका लागि न्यूनगत सुरक्षा सामग्रीहरु नपाइएको बताए। ‘मुखमा लगाउने मास्क छैन, हातमा लगाउने पञ्जा छैन, ज्वरो नाप्न मेसिन छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरुको मनोवल बढाउनुका साथै स्वास्थ्यकर्मीहरुका लागि न्यूनतम आवश्यक स्वास्थ्य सामग्रीहरु राज्यले उपलब्ध गराउनुपर्छ।’

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्यकर्मीको सुरक्षा सरकारको पहिलो दायित्व भएको बताए। उनले संघीय सरकारबाट स्वास्थ्यकर्मीहरुका लागि आवश्यक पर्ने पीपीई, मास्क, स्यानिटाइज, पञ्जालगायतका स्वास्थ्य उपकरणहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएकाले प्रदेशमार्फत सम्बन्धीत स्थानीय तहमा ति सामग्रीहरु पुर्‍याइने बताए।

 

प्रकाशित: २७ चैत्र २०७६ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App