इलाम – कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ वर्षीया युवतीसँग जहाजमा आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा इलाम नगरपालिका–४ का २८ वर्षे रमेश दुलालको कोरोना भाइरस (कोभिड–१९) नदेखिएको रिपोर्ट आएको हो।
इलाम अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै दुलालको रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको हो। अस्पतालले शनिबार दुलालको स्वाब नमुना संकलन गरी पठाएको थियो । दुलाल चैत ४ गते कतार एयरवेजको ‘क्युआर ६५२’ विमानमा आएका थिए । उनीसँगै आएकी युवतीमा कोरोना देखिएपछि सरकारले त्यस विमानमा आएका सबैको नामथर सार्वजनिक गरी खोजी गरेको थियो। दुलाललाई सुरुदेखि नै होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
इलाम अस्पतालले दुलालसँगै इलाम नपा–८ का अर्का युवकको स्वाबको नमुना पनि धरान पठाएको थियो। अमेरिकाबाट आएका उनको चाहिँ रिपोर्ट आउन बाँकी रहेको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले बताए। इलाम अस्पतालले अहिलेसम्म यी दुईजनाको मात्रै स्वाब नमुना लिएर पठाएको छ।
प्रकाशित: २४ चैत्र २०७६ ०९:२५ सोमबार