१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कर्णाली प्रदेशमा लकडाउन थप कडाई गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकमा उपस्थित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत ।

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न सुरक्षा अंगका प्रमुखहरुलाई निर्देशन दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश राजधानी वीरेन्द्रनगरसहित गाउँगाउँमा नागरिकहरुले लकडाउन उल्लंघन गरेमा आवश्यक बल प्रयोग गरेर भएपनि कारवाही गर्नु पर्ने निर्देशन दिए। 

‘दिनभर घरभित्र बस्ने र बेलुका चोक–चौतारामा जम्मा हुनेहरुलाई बल प्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी बनाउनु आवश्यक छ’, मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेशका नागरिकको सुरक्षाको जिम्मेवारीप्रति सुरक्षा अंग संवेदनशिल हुन जरुरी छ।’ मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था गरिरहेको बताउँदै अपुग सामग्रीहरु आपूर्तिको तयारीमा रहेको बताए। 
मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको दोश्रो चरणको तयारीलाई तिव्रता दिन निर्देशन दिए।

‘अब वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत टीम तयार गरि रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाइनुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यसका लागि विषयगत समितिहरुले आ–आफ्नो जिम्मेवारी तिब्रताका साथ पूरा गर्नुपर्छ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच तथा आवागमनलाई कडाई गरिएका कारण अहिलेसम्म कर्णाली प्रदेशमना कोरोना भाईरसको संक्रमण नदेखिएको बताए। लकडाउनपछि लुकीछिपी विदेशवाट गाउँमा पुगेका नागरिकबाट संक्रमणको जोखिम रहेको बताउँदै मुख्यमन्त्री शाहीले बढी संक्रमण भएका मुलुकबाट गाउँमा पुगेका नागरिकको स्वाब संकलन गरेर परीक्षण कार्यलाई तिव्रता दिन पनि निर्देशन दिए। 

मुख्यमन्त्री शाहीले प्रदेश, जिल्ला, पालिका र टोलस्तरमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि एकीकृत टोली निर्माण गर्ने र वडास्तरका टोलीहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए। वडास्तरका एकीकृत टोलीले सेल्फ क्वारेन्टाईनमा रहे÷नरहेको अनुगमण गर्ने, एक घरबाट अर्को घरमा हुने आवत–जावतलाई कडाई गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा खाद्यान्नको आपूर्ति व्यवस्था मिलाउने, संकास्पद विरामीको स्वाव संकलनमा सहयोग गर्नेलगायतका काम गर्नुपर्ने मुख्यमन्त्रीको भनाई छ । 

विदेशवाट आएका नागरिक, गर्भवती, बालबालिका र ६० वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राख्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले संक्रमण शुरु भैहालेमा मृत्युदरलाई सकेसम्म कम गर्नेतर्फ पनि ध्यान दिन जरुरी रहेको बताए।

 

प्रकाशित: २३ चैत्र २०७६ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App