१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

लकडाउन छिचोल्दै भित्री बाटो नेपाल प्रवेश गर्नेको लर्को

झापाको गौरीगन्जबाट नेपाल आउँदै गरेका यात्रु

विराटनगर- जसरी पनि घर आइपुग्ने हुटहुटीले ‘लकडाउन’ छिचोलेर भारतबाट  नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। लुकेर नेपाल भित्रने अनि क्वारेन्टाइन छल्नेहरुका कारण प्रदेश १ को सीमा क्षेत्र जोखिम बढाउने  अड्डा बनेको छ।

कामको सिलसिलामा भारत गएका, उपचार, पढाई, भ्रमण लगायतका कारणले भारतीय भूमिमा रहेकाहरु धमाधम नेपाल भित्रिरहेका हुन्। सातायता नेपाल र भारत दुवैतिर लकडाउन छ। तर, दुवैतर्फको लकडाउन मुख्य नाकाहरुमा मात्रै केन्द्रीत बनेको छ। लामो र खुला साँधका जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रिनेहरुका कारण संक्रमणको जोखिम उच्च भएको हो। लकडाउन छिचोलेर नेपाल आएपछि पारिवारिक सहमतिमा झुट बोल्दै धेरै अघि आएको बयान दिनेहरुले जोखिम बढाइरहेका छन्। ‘रानी नाकाबाट आउने रोकिएको छ’, विराटनगर–१५ का स्थानीयबासी मोहम्मद फैयाजले भने ‘तर, अरुतिरबाट आउने क्रम रोकिएको छैन।’ सीमा क्षेत्रका बासिन्दा उनका अनुसार भारततिर भने जाने आँट कसैले गरेका छैनन्।
प्रदेश १ को राजधानी सहर विराटनगरसँग सीमा जोडिएको रानी नाकाबाट आवतजावत ठप्प छ। तर, अन्यत्रबाट नेपाल भित्रनेको भने लर्को नै छ। ‘हो, खेतैखेत, खोलानाला अनि दशगजा क्षेत्र पार गरेर नेपाल भित्रनेको लर्को अझै जारी छ’, विराटनगर महानगरका प्रमुख भीम पराजुलीले नागरिकसँग भने ‘ यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय भएको छ।’ उनका अनुसार घर आइपुग्नका लागि भारतबाट नेपालतिर हिँडेकालाई भारतीय सुरक्षाकर्मीले कुनै रोकतोक गर्दैनन्।
‘दुई दिनभित्र विराटनगरका विभिन्न स्थानबाट धेरै नेपाली यता छिरेको थाहा पाएर हामीले गाडीको व्यवस्था गरेर घरतर्फ पठाएका छौं’, प्रमुख पराजुलीले भने ‘जनकपुर, सिराहातिरका सर्वसाधारण, विद्यार्थीहरु यताको नाकाबाट नेपाल प्रवेश गरेको पाइएको छ। उनीहरुले नेपाल हिँडेको भनेपछि भारतीय सुरक्षाकर्मीले सजिलै जान दिएको बताएका छन्।’ भारतबाट महानगरका विभिन्न नाका हुँदै नेपाल आएका ४१ जनालाई मोरङ टाँडीको क्वारेन्टाइनमा पठाइएको उनले बताए। मोरङको धनपालथान गाउँपालिका, जहदा, सुनवर्षी क्षेत्रबाट पनि आउने क्रम जारी रहेको स्थानीयबासी बताउँछन्।
प्रदेश १ कै सबैभन्दा लामो सीमा क्षेत्र रहेको झापामा समस्या झन् उच्च छ। भारतका दुई राज्य  पश्चिम बंगाल र बिहारसँगको १४४ दशमलव ०२ किलोमिटर लामो सीमा क्षेत्रबाट पनि नेपाल भित्रने क्रम जारी छ। सर्वसाधारणका अनुसार मेची खोला र दशगजा क्षेत्रबाट नेपाल भित्रने क्रम जारी छ। ‘यहाँ नेपाल भारत दुवैतिर मकैबारी छ, त्यही मकैबारीको आली आली नेपाल भित्रने धेरै छन्’, झापा गौरीगञ्जका आत्माराम राजवंशीले भने ‘कोही साँझमा, कोही बिहानै आउँछन्। उनीहरु क्वारेन्टाइनमा पनि बसेका छैनन्।’ उनका अनुसार खोला क्षेत्रबाट पनि प्रवेश गर्ने क्रम जारी छ। सशस्त्र प्रहरी बल चन्द्रगढीका प्रमुख एसपी रमेशकुमार लिम्बु लकडाउनको प्रारम्भमा यस्तो समस्या धेरै देखिए पनि अहिले रोकिएको बताउँछन्। तर, सवारीसाधन अभावमा सशस्त्रले पनि सीमा क्षेत्रमा कसिलो गस्ती गर्न गाह्रो परेको उनी बताउँछन्।
भारत बिहारसँग जोडिएको ६५ किलोमिटर लामो सुनसरीको सीमा क्षेत्रबाट पनि आउने क्रम जारी रहेको सीमा क्षेत्रका जनप्रतिनिधि नै बताउँछन्। ‘मुख्य नाका छलेर फाटफुट आउने क्रम देखिन्छ’, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले भने ‘आउनेहरु लुकेर पस्ने हुँदा क्वारेन्टाइनमा लैजान पनि सकिएको छैन। यो अज्ञानताका कारणले भएको हो।’
इलामको रोङ गाउँपालिका क्षेत्रका सर्वसाधारणले भने सीमाको मेची खोलामा गस्ती नै गरिरहेका छन्। त्यसैले लकडाउनपछि आउने क्रम बन्द भएको गाउँपालिका अध्यक्ष शमशेर राईले बताए। ‘रोङको सलकपुर क्षेत्रका धेरै नेपाली सीमाको भारतीय बजार लोहागढका आफन्तका घरमा अड्किएका छन्’, उनले भने ‘गाउँलेहरु खोलामा गस्ती गर्दैछन्। त्यसैले कसैलाई छिर्न दिएका छैनन्।’ उनका अनुसार प्रहरी र जनप्रतिनिधिको मात्रै नभई स्थानीयबासी स्वयम् सजग बनेका कारण सीमा क्षेत्रबाट आउने क्रम ठप्प भएको हो।  

प्रकाशित: १७ चैत्र २०७६ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App