१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ : कोरोना त्रास, नमुना परीक्षण सुस्त

विराटनगर- प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा १९ जनाको नमुना परीक्षण भएको छ। यो प्रदेशमा पैचालीस लाखभन्दा बढी जनसंख्या छ।

प्रदेश सरकारका अनुसार शंकास्पद १९ जनाको नमुना परीक्षण भएको छ। मुख्यमन्त्री शेरधन राईले बुधबार जारी गरेको भिडियो सन्देशमा १९ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको उल्लेख गरेका थिए। तर, बिहीबार सामाजिक विकास मन्त्रालयले भने भिन्न तथ्यांक दिएको छ। ‘१९ जनाको नमुना परीक्षण गर्न पठाएकोमा १० को रिपोर्ट आएको छ, अरुको बाँकी छ’, सामाजिक विकास मन्त्रालयले उल्लेख गरेको छ, ‘अहिलेसम्म प्रदेशबाट पठाइएको नमुना परीक्षणको रिपोर्ट नतिजामा पोजिटिभ देखिएको छैन।’

जनस्वास्थ्य विज्ञ, दलका नेतालगायत सबैले नमुना परीक्षण दर बढाउनुपर्ने माग गरिरहेका छन्। हालसम्म काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै नमुना परीक्षण भइरहेको छ। परीक्षणको एकदमै कमजोर प्रबन्धका कारण त्रास झनै बढेको स्वास्थ्यकर्मी बताउँछन्। ‘अहिलेसम्म प्रदेश १ बाट १९ जनाको परीक्षण हुनु केही पनि होइन,’ विराटनगरस्थित कोसी अस्पतालका एक चिकित्सकले भने, ‘यस्तो पाराले प्रदेशमा संक्रमण छैन भन्दै बस्नु आत्मरति मात्रै हुन्छ।’

सरकारले प्रदेश १ को धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला सेवा सुरु गर्ने निर्णय गरेको समाचार आएको साता बितेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोनाविरुद्धको उच्चस्तरीय समन्वय समितिले धरानसहित प्रादेशिक तहमा कोरोना परीक्षण ‘तत्काल थाल्ने’ निर्णय गरेको साता बित्दा पनि  सुरु हुने छाँट अझै छैन। तर, सरकारी अधिकारी भने ‘तयारी भइरहेको’ रेडिमेड जबाफ दिन्छन्। 

प्रदेश तहमा घातक रोगको नमुना परीक्षण संरचना नभएकै कारण त्रासको आयतन पनि फराकिलो बन्दैछ। प्रदेश १ जनस्वास्थ्य महाशाखा प्रमुृख डा. सुरेश मेहताले प्रतिष्ठानमा ‘तत्कालै नमुना परीक्षण सेवा सुरु गर्ने’ तयारी भइरहेको  बताए। तर, प्रतिष्ठानमा यसबारे अन्योल कायमै छ। प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहले ‘तयारी अन्तिम चरणमा पुगेको’ जानकारी दिए पनि कहिलेदेखि परीक्षण सेवा सुरु हुन्छ भन्ने यकिन नभएको बताए। ‘सायद यो साताभित्र सुरु होला’, उनले भने, ‘संरचना तयार हुँदैछ।’

सीमानाका, बजार तथा भीड हुने सबै स्थल लकडाउनले निष्क्रिय रहेका बेला परीक्षणको दायरा बढाउन चौतर्फी दबाब बढिरहेको छ। तर, प्रदेश तहमा अहिलेसम्म परीक्षण प्रयोगशालाको प्रबन्ध नहुँदा त्रास बढिरहेको छ। हवाईसेवा ठप्प भएका कारण प्रदेश १ मा संकलित स्वाबलगायत नमुना गाडीमार्फत काठमाडौं पठाउने काम भइरहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सरकारी केन्द्र र घरैमा क्वारेन्टाइनमा  बसेको ठूलो संख्याले पनि प्रदेशमा धेरैभन्दा धेरै परीक्षण हुनुपर्ने आवश्यकता औंल्याइरहेको छ। तर अवस्था यसको ठीकविपरित छ। आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता कमल थापाले प्रयोगशाला परीक्षण सुरु हुन केही दिन लाग्ने बताएका छन्। उनका अनुसार अहिले मोरङ, झापा, इलाम, उदयपुरलगायत जिल्लाका सरकारी क्वारेन्टाइनस्थलमा २७ महिला र दुई सय पुरुष छन्। घरमै क्वारेन्टाइनमा पनि २ सयजनाभन्दा बढी छन्। नौजना कोसी अस्पताल र बिपी प्रतिष्ठानको आइसोलेसन  कक्षमा छन्। प्रदेश १ मा क्वारेन्टाइनमा बसेका मध्ये धेरैजसो भारत र तेस्रो देशबाट आएका व्यक्ति र उनीहरू परिवार छन्। परिवारका सदस्य घरमै क्वारेन्टाइनमा छन्। तर नमुना परीक्षण दर भने ज्यादै सुस्त हुनुलाई चिकित्सकले चिन्ताको विषय भनेका छन्।

 

प्रकाशित: १४ चैत्र २०७६ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App