विराटनगर- उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको कोरोनाविरुद्धको उच्चस्तरीय समन्वय समितिले धरानसहित प्रादेशिक तहमा कोरोना परीक्षण ‘तत्काल थाल्ने’ निर्णय गरेको साता बित्न लाग्दा पनि सुरु हुने छाँट भने अझै छैन ।
प्रदेश तहमा परीक्षण संरचना नभएकै कारण त्रासको आयतन पनि फराकिलो हुँदै गएको छ । प्रदेश १ का जनस्वास्थ्य महाशाखा प्रमुृख डा. सुरेश मेहताले ‘तत्कालै सुरु गरिने’ तयारी भइरहेको नागरिकन्यूजलाई बताए । तर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसबारेको अन्योल कायमै छ। प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहले ‘तयारी अन्तिम चरणमा पुगेको’ जानकारी दिए पनि कहिलेदेखि परीक्षण सेवा सुरु हुन्छ भन्ने यकिन नभएको बताए ।
‘सायद यो साताभित्र सुरु होला’, उनले भने ‘संरचनाहरु तयार हुँदैछ ।’ सीमा नाका, बजार तथा भीड हुने सबै स्थल लकडाउनले निष्क्रिय रहेका बेला परीक्षणको दायरा बढाउन चौतर्फी दबाब बढिरहेको छ । तर, प्रदेश तहमै पनि अहिलेसम्म परीक्षण प्रबन्ध नहुँदा त्रास बढिरहेको छ ।
हवाई सेवा ठप्प भएका कारण प्रदेश १ मा संकलित स्वाब गाडीमार्फत काठमाडौं पठाउने काम भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित: १२ चैत्र २०७६ ०८:१३ बुधबार