coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

‘कोरोनाविरुद्धको गम्भीर हुन आग्रह'

डा. रमेश आचार्य।

काठमाडौं – नेपालमा जुनसुकै बेला पनि कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै १२ बुँदे सम्झौता कार्यान्वयनमा ल्याउन डा. रमेश आचार्यले आग्रह गरेका छन्। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध लड्न र सावधानी अपनाउन सोमबार संवाद डबलीमा आयोजित पत्रकार संम्मेलनमा उनले आग्रह गरेका हुन्।

डा. आचार्यले केही दिनपहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई १२ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएका थिए। साथै उनले ‘कोभिड–१९ कोरोना भाइरसविरुद्ध जनताको संघर्ष’ नारासहित आन्तरिक तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए। कोरोना भाइरसबारे समयमै पूर्वतयारी अपनाउन नसके जुनसुकै बेला संक्रमण हुनसक्ने आचार्यले बताए। कोरोना प्रभावित चीनको वुहानबाट फर्किएका डा. आचार्यले हल्ला बढी भए पनि नेपालमा पर्याप्त मात्रामा पूर्वतयारी नभएको र १२ बँुदे सम्झौता भए पनि कार्यान्वयनमा ढिलाइ भएको जानकारी दिए।

‘युरोपले पूर्वतयारीमा लापर्बाही गर्नाले अहिले महामारीको सामना गर्नुपरेको छ, त्यो अवस्था नेपालमा पनि नआउला भन्न सकिँदैन,’ उनले भने, ‘चीनले कोरोना भाइरससँग लडिरहेको बेला केही युरोपका देश पूर्वतयारीमा लाग्न छोडेर मिडियाले फैलाएको हल्लामा लागेका थिए। त्यसैको परिणाम अहिले भोग्नुपरेको छ। हामीले पनि अहिलेबाटै तयारीमा लागेनौं भने कुनै बेला पनि कोरोना भाइरस संक्रमण हुनसक्छ।’

सातवटै प्रदेश राजधानीमा आइसोलेसन वार्ड र कोरोना भाइरस पिसिआर टेस्टको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने डा. आचार्यले बताए। कोरोना भाइरस बढ्दै गएको भन्दै भारतसँग जोडिएका सबै नाका बन्द गर्नुपर्ने कुरामा जोड दिए। त्यसैगरी कम्तीमा ३० दिनका लागि अन्तर्राष्ट्रिय विमानस्थल, मन्दिर, गुम्बा, चर्च, विद्यालय, पार्कका साथै संसद् पनि बन्द गर्नुपर्ने सुझाव सरकारलाई दिएको जानकारी दिए। मन्त्री, सांसद र उच्चकर्मचारी तथा सुरक्षाकर्मीका साथै उद्धारमा खट्ने सबैलाई अनिवार्य मास्क लगाउँदा संक्रमणबाट जोगिने उनको भनाइ छ। घरबाट निस्केपछि नफर्किंदासम्म मास्क लगाउनुपर्छ।

सरकारलाई दिएको सुझावपत्रमा डा. आचार्यले विदेशबाट आएका विदेशी र नेपाली नागरिकलाई सेल्फ आइसोलेसनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिनुपर्ने मागसमेत गरेका छन्।

इटलीका प्रधानमन्त्रीको हेलचेक्र्याइँले आफैं क्वारेनटाइनमा बस्नुपरेको छ। जतिसक्दो चाँडो १२ बुँदे सम्झौता कार्यान्वयनमा ल्याई सुरक्षा अवलम्बन गर्न डा. आचार्यले नेपाल सरकारसँग आग्रह गरेका छन्। कोरोना नियन्त्रण गर्न टेकु प्रयोगशालामा एक दिनमा कम्तीमा पनि २ हजार पाँचजनाको स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्न पनि आचार्यले माग गरेका छन्। त्यस्तै कम्तीमा पनि ५ सय शड्ढयाको आइसियू र ५ हजार शड्ढयाको अस्थायी आइसोलेसन वार्डको व्यवस्था गर्नुपर्ने सुझाव दिए।

सर्वसाधारणलाई जोगिन आग्रह
‘एक व्यक्ति एक साबुन’, एक परिवार एक थर्मोमिटर, खोक्दा हाच्छ्यूँ गर्दा रुमाल वा टिस्युपेपरको अनिवार्य प्रयोग गर्ने, रुघाखोकी लागेको व्यक्तिबाट टाढै रहने, दिनमा १० पटकसम्म हातधुनु पर्नेजस्ता अभियान सुरु गर्नुपर्ने सुझाएका छन्। एकैपटक १०२ डिग्रीभन्दा माथि ज्वरो आएमा, तीनभन्दा बढी श्वासप्रश्वासमा समस्या देखिएमा कोरोनाको संक्रमण हुनसक्ने भन्दै डा. आचार्यले समयमै जँचाउन सुझाव दिए। त्यसैगरी एक परिवारमा एक थर्मोमिटर राख्ने र नियमित ज्वरो जाँच गर्न आचार्यले सुझाव दिए। कोरोना संक्रमणका कारण विश्वको अर्थतन्त्रमा १३ प्रतिशत गिरावट ल्याएको छ। डा. आचार्यले भने, ‘कोरोना भाइरसको संक्रमितबाट मृत्युु हालसम्म ३ दशमलव ७ प्रतिशत रहेका छन्।

कार्यक्रममा पूर्वसचिव कृष्णराज बिसीले कोरोना भाइरसको पूर्व तयारीमा लाग्न सरकारले लाग्नुपर्ने सुझाव दिए। ‘कोरोना भाइरसको मामलामा नेपाल अनविज्ञ छ, यसमा पूर्वतयारी हुनुपर्छ,’ उनले भने, ‘विश्वका धनी देशले कोरोनाको संक्रमण खेपिरहनु परेको छ। नेपालमा पनि त्रास छ। यसमा नेपाल सरकार पूर्वतयारी अवस्थामा रहेन भने थेग्न सक्दैन। कोरोनाले समय पर्खंदैन, यसमा सरकारको गम्भीर निगरानी हुनुपर्छ।

हालको अवस्था
विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ। अहिलेसम्म विश्वका १ सय ४२ देशमा संक्रमण फैलिसकेको छ। ६ हजार ४ सय जनाको मृत्यु भइसकेको छ भने १ लाख ६९ हजार संक्रमित भएका छन्। डब्लु एचओले नेपाललाई ११औं उच्च जोखिमको मुलुक भनेर सावधानी अपनाउन आग्रह गरेको छ। भारतमा समेत कोभिड १९ भाइरसका संक्रमणका कारण दुईजनाको मृत्यु भइसकेको छ। नेपालमा पनि कोभिड १९ भाइरसबाट एकजना संक्रमित बिरामी भेटिएको र पूर्ण रूपमा निको भइसकेको छ।

प्रकाशित: ४ चैत्र २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App